काठामाडौं- स्वास्थ्य मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरेको छ। स्वास्थ्य सचिवका लागि (स्वास्थ्य समूहको अधिकृत १२औँ तह)मा तीन जनाको नाम सिफारिस भएको हो।
स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका डा. टंक बराकोटीको नाम सिफारिस गरेको हो।
समितिले एक नम्बरमा डा. श्रेष्ठ, दुई नम्बरमा डा. देवकोटा र तीन नम्बरमा डा बराकोटीको नाम सिपारिस गरेको छ। स्वास्थ्यमा अतिरिक्त स्वास्थ्य सचिवमा दुई पद रिक्त भएकाले नाम सिफारिस गरिएको हो।
यसअघि बढुवा समितिले कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्नका लागि योग्यता पुगेका कर्मचारीलाई व्यक्तिगत विवरण पठाउन भनेको थियो। सोही अनुसार २१ जनाले विवरण बुझाएका थिए। अब बस्ने मन्त्रिपरिषदको बैठकले यहि तीन मध्येबाट दुई जनालाई अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ।