काठमाडौं– काठमाडौं उपत्यकामा समाज वा घरपरिवारबाट अपहेलित हुने डरले लुकेका क्षयरोगीलाई खोज्न थालिएको छ। जापान क्षयरोग निवारण संस्था र जापान–नेपाल क्षयरोग अनुसन्धान संस्थाले संयुक्त रुपमा उपत्यकामा क्षयरोगका बिरामीको खोजपडताल थालेका हुन्।
संस्थाले अहिलेसम्म उपत्यकाका १७ स्थानमा क्षयरोग खोज्न ‘सक्रिय क्षयरोग खोजतलास’को कार्यक्रम सुरु गरेको छ। संस्थाका प्रमुख रामशरण गोपालीले खोजतलास गर्दा १.१ प्रतिशतमा क्षयरोगका बिरामी भेटिएको जानकारी दिए।
उनका अनुसार चार हजार २७३ जनामा क्षयरोग परीक्षण गर्दा ४५ जनामा बिरामी भेटिएको छ।
उनले उपत्यकामा रहेका सहरी गरिबी, स्वास्थ्य सेवाको पहुँच नभएका, एउटै कोठामा बस्ने जोखिम समूह, वृद्धाश्रम, होस्टल, कलकारखानामा काम गर्ने मजदुरलाई लक्षित गरी खोजतलास कार्यक्रम सञ्चालन गरिएको बताए। संस्थाले क्षयरोगका लक्षण नभएका व्यक्तिमा क्षयरोगको परीक्षण गरिरहेको छ।
शुक्रबारदेखि काठमाडौं महानगर–८ तिलगंगास्थित शान्ति सेवागृहमा क्षयरोगको परीक्षण गरी सुरु गरिएको उनले बताए। गृहमा बसेका बालबालिका, वृद्धालाई लक्षित गरी परीक्षण सुरु गरिएको हो।
उनका अनुसार २५० जनाको निःशुल्क परीक्षण गरी उपचार गरिनेछ। छातीको एक्सरे गरेपछि क्षयरोगको शंका लागेपछि ‘टीबी ल्याम्प’ र ‘जीन एक्सर्ट’विधिबाट खकार परीक्षण गरिन्छ। क्षयरोगका बिरामी भेटिए स्वास्थ्य संस्थासम्मै पुगेर औषधी सेवन गराउने गरिएको छ।
संस्थाका प्रमुख गोपाली जोखिममा रहेका ठाउँका मानिसमा क्षयरोग पत्ता लागे क्षयरोगलाई नियन्त्रण गर्न सकिने बताउँछन्। नेपालले सन् २०३५ सम्म क्षयरोगलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ। सरकारले क्षयरोगका बिरामीलाई निःशुल्क उपचार गर्दै आइरहेको छ।