गुल्मी– एक वर्षदेखि गुल्मी अस्पतालले प्लान्ट स्थापना गरेर अक्सिजन उत्पादन गरिरहेको छ। कोरोना महामारीको समय अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनु परेपछि नेपाल पत्रकार महासंघ गुल्मी, जिल्ला उद्योग वाणिज्य संघ गुल्मी र सरकारसमेतको पहल तथा सक्रियतामा प्लान्ट स्थापना भएको हो।
गुल्मी अस्पतालमा एक वर्षअघिसम्म बुटवलबाट सिलिन्डरमा अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता थियो। गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले पहिला अक्सिजन बाहिरबाट ल्याउँदा ढुवानीको समस्या र धेरै बिरामी भर्ना गर्न नसकिने समस्या हुने गरेको सम्झिए। कोरोना महामारीको समय संघ–संस्था र सरकारको सहयोगबाट जिल्लामै अक्सिजन उत्पादन हुँदा बिरामीलाई राहत भएको छ। २०७८ मंसिरदेखि अक्सिजन उत्पादन हुन थालेको हो।
अस्पतालमा अहिले दैनिक ४० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ। एक सिलिन्डरमा ६ हजार ५ सय लिटर अक्सिजन हुन्छ। अक्सिजन साना, मझौला र ठूला गरी तीन तहका सिलिन्डरमा भरिन्छ। सानो ५००, मझौला १ हजार र ठूलो १ हजार २०० मा बिक्री गरिन्छ। तर अस्पतालले सेवामूलक तरिकाले मात्र अक्सिजन उत्पादन गरिरहेको छ।
खपत कम हुँदै गएपछि अस्पतालले सातामा सोमबार र बिहीबारमात्र उत्पादन गरेको छ। ५० बिरामीलाई अहिले पनि एकैपटक मुटु र फोक्सोको दमसम्बन्धी उपचार गर्न सकिने अस्पतालका डा. पच्याले जानकारी दिए। ‘सेवामूलक रूपमा अक्सिजनको उत्पादन गरेका छौं’, उनी भन्छन्, ‘सामाजिक संघ–संस्थाको अगुवाइबाट निर्माण भएपछि धेरै राहत भएको छ।’ अस्पतालले अब सघन उपचार कक्ष (आईसीयू) सञ्चालन गर्नेछ।
जिल्ला उद्योग वाणिज्य संघले सबै व्यवसायीबाट सहयोग उठाएर अक्सिजन प्लान्टका लागि भवन निर्माण गरिदिएको छ। कुल १४ लाख ४६ हजारमा संघले भवन बनाएको अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए। ‘महामारीको समयमा जनताप्रति उत्तरदायी भएर सहयोग उठाएका हौं’, पौडेलले भने।
अक्सिजन प्लान्ट बन्नुमा सुरुमा नेपाल पत्रकार महासंघको सक्रियतामा सहयोग उठाउनु हो। महासंघले कुल ५० लाख प्लान्ट निर्माणमा मात्र सहयोग गरेको थियो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले महामारी मात्र नभई अन्य समय पनि बिरामीलाई अक्सिजन अभाव नहोस् भनेर अभियान थालिएको बताए।
‘महामारीको समय अक्सिजन अभाव हुँदा गुल्मेली तड्पिनुपरेको थियो’, उनी भन्छन्, ‘अभियानले सार्थकता पाउँदा गुल्मेली पत्रकार खुसी छौं।’ महासंघले अक्सिजन प्लान्ट निर्माण, अन्य स्वास्थ्य सामग्री सहयोग र प्लान्ट बन्नुभन्दा पहिला बुटवलमा सिलिन्डर भर्ने कार्यमा पनि सहयोग गरिएको थियो।
अक्सिजन प्लान्टको मेसिन खरिदमा १ करोड ३१ लाख र भवन निर्माणमा १४ लाख ४६ हजार खर्च भएको छ। यसमा सरकारको १ करोड, पत्रकार महासंघको ५० लाख र वाणिज्य संघको १४ लाख ४६ हजार खर्च भएको हो। केही रकम बचतसमेत भएको छ। अक्सिजन प्लान्ट उद्घाटन तत्कालीन सांसद प्रदीपकुमार ज्ञवालीले गरेका थिए।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सिंगो जिल्लाबासीको प्रयत्नबाट अक्सिजन उत्पादन गर्न सफल भएको बताए। ‘सरकार र नागरिकको सहकार्यको उत्तम नमुना अक्सिजन प्लान्ट हो’, उनी भन्छन्, ‘अक्सिजनमा जिल्ला आत्मनिर्भर बनेजस्तै अन्य उत्पादनमूलक र सेवामूलक क्षेत्रमा पनि सहकार्यबाट अगाडि बढ्नुपर्छ।’–रासस