आइतबार, असार १५, २०८२

खपत नभएपछि तीन महिनादेखि भित्रिएन कोभिड खोप

अन्तिम पटक १२ सेप्टेम्बरमा फाइजरको खोप ल्याइएको थियो तर त्यसपछि कुनै पनि खोप नल्याइएको व्यवस्थापन शाखाले जनाएको छ। नेपालमा हाल ५० लाख डोज खोप मौज्दात छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

काठमाडौं– नेपालमा ३ महिनादेखि कोरोनाविरुद्धको खोप भित्रिएको छैन। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका कोरोना संक्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको संख्या कम हुनु र नेपालमा ठूलो संख्यामा भ्याक्सिन मौज्दात भएकाले थप खोप नल्याइएको हो। 

अन्तिम पटक १२ सेप्टेम्बरमा फाइजरको खोप ल्याइएको थियो तर त्यसपछि कुनै पनि खोप नल्याइएको व्यवस्थापन शाखाले जनाएको छ। नेपालमा हाल ५० लाख डोज खोप मौज्दात छ। 

शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार नेपालमा ९२ लाख फाइजरको भ्याक्सिन आउने निश्चित भएको थियो। प्रत्येक महिनामा भ्याक्सिन ल्याउने निश्चित भएको थियो तर खोप खपत हुन छोडेपछि निश्चित भएको खोप पनि ल्याइएको छैन। चौरसियाले भने, ‘हामीलाई ९२ लाख फाइजरको खोप अनुदानमा आउने निश्चित भएको थियो तर हालसम्म जम्मा ३७ लाखमात्रै खोप ल्याइएको छ। नेपालमा खोप खपत नभएपछि उक्त अनुदानमा आउने भनिएको खोपलाई केही समयका लागि स्थगित गरिएको हो। खोप ल्याएर भण्डारण गर्दा त्यसको म्याद सकिने भएकाले आवश्यक नभई खोप नल्याइएको हो। आवश्यक परेमा उक्त खोप ल्याइनेछ।’

नेपालमा हाल दैनिक खोप लगाउनेको संख्या न्यून छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल दैनिक ३० हजारको हाराहारीमा मात्रै खोप लगाउनेको संख्या छ। नेपालमा अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार ७१० मात्रा खोप आइसकेको छ। खोप अभियान सुरु भएदेखि नेपालमा ५ करोड ३५ लाख भन्दा धेरै मात्रा खोप लगाइएको छ। कुल लक्षित जनसंख्यामध्ये ९९.५ प्रतिशतमा पहिलो मात्रा र ९५.७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइएको छ। 

कुन खोप कति आयो? 
नेपालमा खोप अभियान सुरु भएदेखि हालसम्म कुल ६ करोड ३२ लाख ७६ हजार ७१० मात्रा खोप आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै भेरोसेल १ करोड ९७ लाख ३६ हजार ४०० मात्रा ल्याइएको छ। त्यस्तै दोस्रोमा कोभिसिल्ड ९४ लाख ८७ हजार, फाइजर पेडियाट्रिक ८३ लाख ९५ हजार २००, मोर्डना ७६ लाख ५२ हजार, एस्ट्राजेनेका ६५ लाख ३० हजार ७२०,  साइनोभ्याक ४० लाख, फाइजर ३७ लाख ६३ हजार ८९० र जेनसेन एण्ड जेनसेन ३७ लाख ११ हजार ५०० मात्रा भित्र्याएको छ। 

नेपालमा आएका खोपमध्ये खरिदभन्दा धेरै अनुदानमा भित्रिएको छ। भित्रिएको ६ करोडमा सरकारले जम्मा १ करोड २० लाख मात्रै खरिद गरेको छ भने अन्य खोप अनुदानमा पाएको छ। सरकारले १ करोड भेरोसेल र २० लाख कोभिसिल्ड खोप मात्रै खरिद गरेको छ।

कति छ स्टक? 
मंसिर २५ गतेसम्मको तथ्यांकअनुसार देशभर ४९ लाख, २१ हजार ६२३ डोज भ्याक्सिन स्टकमा छ। आपूर्ति व्यवस्थापनका अनुसार प्रदेश नं १ मा ५ हजार ३७३, मधेश प्रदेशमा ४७ हजार ८९०, बाग्मती प्रदेशमामा ५ लाख ५४ हजार ९६९, हेटौँडामा १ लाख ३५ हजार ३९८ मात्रा खोप मौज्दात छ । 

त्यस्तै  प्रदेशमा ७ हजार ६९६, लुम्बिनी प्रदेशमा १ लाख ११ हजार ६, कर्णाली प्रदेशमा ५० हजार ५४६ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ७५४ मात्रा खोप मौज्दात छ। त्यस्तै केन्द्रिय स्टोर टेकुमा ४० लाख खोप मौज्दातमा रहेको छ। 

संक्रमण घट्दै जाँदा र मानिसहरु खोप लगाउन नगएका कारण खोपको मौज्दात धेरै भएको शाखाका प्रमुख प्रमुख डा. सुरेन्द्र चौरसियाले बताए। मौज्दात खोपमध्ये सबैभन्दा धेरै बढी भेरोसेल खोप मौज्दात छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ भने फाइजर ६० हजार ७५६ डोज बाँकी छ। त्यस्तै र फाइजर पेडियाट्रिक ४ लाख ९४ हजार ७१० मात्रा मौज्दात छ। 

प्रकाशित: Dec 14, 2022| 20:12 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्