तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको छ। भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो।
गाउँमै प्राविधिक जनशक्ति उत्पादन गरी कृषकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले प्राविधिक शिक्षामा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। यस्तै, सुत्केरी कार्यक्रमअन्र्तगत १२ लाख ५० हजार प्रदान गरिएको छ। २५० सुत्केरीलाई जनही ५ हजारका दरले रकम दिइएको उनले बताए।
युवा स्वरोजगार कार्यक्रमअन्र्तगत ४५ लाख बजेट विनियोजन गरी तथ्यांक संकलन गर्ने कार्य थालिएको छ। हालसम्म गाउँपालिकामा ४० युवाको तथ्यांक संकलन भइसकेको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए। गाउँपालिकाले दुई चरणमा घुम्ती शिविर सञ्चालनसमेत गरेको छ।–रासस