आइतबार, असार १५, २०८२

स्वास्थ्य बिमा बोर्डले बीमितबाट १० प्रतिशत सेवाशुल्क लिने

बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट १० प्रतिशत शुल्क लिने भएको छ। बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो। त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ। 

बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी तिर्नुपर्ने बताए। 

प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवाबाहेकका अर्को जाँचका लागि सिफारिस गरिएको (रेफरल) अस्पतालमा उपचार गर्दा १० प्रतिशत शुल्क बीमितले बेहोर्नुपर्ने बताइएको छ। ‘बीमितले जथाभावी परीक्षण गर्ने गरेको गुनासो अस्पतालले हामीसँग गरे’, ज्ञवालीले भने, ‘बीमितलाई जथाभावी परीक्षण नगरुन् भनेर १० प्रतिशत शुल्क तोकेका हौं।’

बीमितले जिल्ला तहमा उपचार भए पनि काठमाडौंका अस्पतालमा जाँचका लागि सिफारिस माग्ने गरेको अस्पतालबाट गुनासो आएको उनी बताउँछन्। ‘जिल्ला तहमा उपचारको राम्रो व्यवस्था भए पनि बीमितले काठमाडौंका अस्पतालमा रेफर मागेका गुनासो चिकित्सकबाट आएका छन्’, उनले भने, ‘त्यही भएर हामीले नै १० प्रतिशत रेफर गरिएको अस्पतालमा उपचार गरे शुल्क लाग्ने कार्यविधि बनाउँदै छौं।’

बोर्डले लक्षित वर्गलाई भने शुल्क नतोक्ने भएको छ। लक्षित वर्गमा अतिगरिबी, अति अशक्त अपांगता, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खाले क्षयरोगी भएका परिवार र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक पर्दछन्। बोर्डले अब प्याकेजमा आधारित उपचार गर्ने भएको छ।

कुनै रोगमा कुन–कुन रोग देखिन्छन्, सोही आधारमा प्याकेजमै बीमितको उपचार गरिने भएको हो। क्यान्सर, मिर्गौला, मुटु र गम्भीर प्रकारका रोगको प्याकेजमै उपचारको व्यवस्था गर्न थालिएको बोर्डका प्रवक्ता ज्ञवालीले जानकारी दिए। 

एक पटक रेफर गरेपछि फेरि गर्न नपर्ने गरी कार्यविधि बनाउन थालिएको बताइएको छ। प्रथम सेवा बिन्दुको अस्पतालले रेफर गरे पनि अन्य जुनसुकै अस्पतालमा उपचारका लागि जान पाइने गरी कार्यविधि बनाउन थालिएको उनले बताए।

यसअघि प्रथम सेवा बिन्दुको अस्पतालबाट रेफर कुनै अस्पतालमा गरेपछि त्यहा पनि उपचार नभए पनि फेरि प्रथम सेवाबिन्दुकै अस्पतालमा आएर रेफर लेख्नुपर्ने रहेको थियो। त्यसले बीमितलाई समस्या पर्ने भएकाले एक पटक रेफर गरेपछि पुनःरेफर गर्नु नपर्ने भएको छ। 

२०७२/७३ मा कैलाली, इलाम र बागलुङ गरी तीन जिल्लाबाट सुरु गरिएको बिमा कार्यक्रम अहिले सबै जिल्लामा लागू छ। हालसम्म ४५ लाख ६२ हजार २०७ जना स्वास्थ्य बिमामा आबद्ध छन्। प्रतिपरिवार पाँच जनासम्म वार्षिक ३ हजार ५०० सयको बिमा गरे १ लाखसम्म उपचार सेवा निःशुल्क पाउने गर्छन्। बिमा गरेबापत बीमितले १ हजार १२३ औषधीजन्य सामग्री निःशुल्क पाउँछन्। सरकारले अतिगरिब, अतिअशक्त अपांगता, कुष्ठरोगी, एचआइभी संक्रमित, जटिल खाले क्षयरोगी भएका परिवार र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको भने सरकारले नै बिमा गरिदिने गर्दछ।

प्रकाशित: Dec 09, 2022| 12:25 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्