काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ। २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मिति आगामी १४ फागुनमा गर्ने तयारीमा त्रिवि जुटेको हो।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए। ‘सबै निर्वाचन सकिए। अब हामी पनि नियमित हुन नसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौं’, उनले भने, ‘सबै विद्यार्थी संगठनसँग छलफल गरेर फागुनमा निर्वाचन गर्ने तयारीमा जुट्छौं।’
त्रिवि क्याम्पसमा लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन। प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ यता नियमित हुन सकेको छैन। त्रिविले शैक्षिक क्यालेन्डरमै हरेक दुई वर्षमा १४ फागुनमा स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो।
२०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोेकिएको छ। ६ चैत २०६५ मा एकै पटक आठ वर्षमा १५ चैत २०७३ मा स्ववियु निर्वाचन भएको थियो। त्यतिबेला देशभरि त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा ९ वटा आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।
यस्तै, उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। त्रिविमा ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले मुलुकमा नयाँ सरकार गठन लगत्तै सरकारको सहयोगमै स्ववियु निर्वाचन गरिने बताए। ‘स्ववियु निर्वाचन निर्धारित मितिमा हुनुपर्दछ भन्नेमा त्रिवि र सबै विद्यार्थी संगठन रहेका छन्’, उनले भने, ‘निर्वाचन गर्न विद्यार्थी संगठनबीच छलफल जारी राखेका छौं।’
२८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमित स्ववियु निर्वाचन भएको छैन। पछिल्लो पटक उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ मा आंशिक रूपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुन सकेको छैन।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनको तयारीमा आफूहरू रहेको बताए। ‘हामी फागुनमै स्ववियु निर्वाचन गर्न तयारीमा रहेका छौं। हाम्रो संगठन र पार्टीका नेता पनि सकारात्मक हुनुहुन्छ’, उनले भने, ‘सबै संगठनको बैठक राखेर स्ववियु निर्वाचन गर्न त्रिविलाई आग्रह गर्छौं।’ उनले आफ्नो संगठनको बैठक राखेर स्ववियु निर्वाचनमा जाने निर्णय गर्ने बताए।
अध्यक्ष शेर्पाले आफूहरू त्रिविले तोकेको स्ववियु निर्वाचनको मापदण्ड उमेर हद र निर्वाचन प्रणाली मानेर निर्वाचनमा जान तयार रहेको जानकारी दिए। त्रिविले स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेर हद र सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन्। स्ववियु निर्वाचन नहुँदा अहिले त्रिवि सभामा पनि विद्यार्थीको उपस्थिति रहेको छैन।
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले प्रमुख विद्यार्थी संगठनका पदाधिकारीसँग स्ववियु निर्वाचन निर्धारित समयमा गर्न छलफल गरेको बताइन्। ‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको आन्तरिक लोकतन्त्रको अभ्यास गर्न पाएका छैनन्’, उनले भनिन्, ‘मेरो विद्यार्थी संगठनका पदाधिकारीसँग छलफल भएको छ। निर्वाचन गर्न सबै संगठन तयार छन्। यो वर्षमा स्ववियु निर्वाचन गर्न सम्भव हुन्छ।’
उनले अब हारजित हुने डरले भन्दा पनि स्ववियु निर्वाचन मुख्य कुरा भएकाले निर्धारित समयमा नै निर्वाचन गराउन सबै लाग्ने बताइन्। अध्यक्ष सिंहले आफ्नो संगठनको तेस्रो केन्द्रीय समितिको बैठकबाट निर्णय गरी त्रिविलाई निर्धारित समयमा स्ववियु निर्वाचन गर्न ज्ञापनपत्र बुझाइएको जानकारी दिइन्।
अनेरास्ववियु महासचिव समिक बडालले सबै निर्वाचन सकिएको अवस्थामा अब विद्यार्थी संगठन स्ववियु निर्वाचनमा लाग्ने बताए। स्ववियु निर्वाचन नहुँदा त्रिविको शैक्षिक क्यालेन्डर अस्तव्यस्त र विद्यार्थीले आफ्नो हकअधिकार प्रयोग गर्न नपाएको उनको भनाइ छ। उनले चाँडै नै सबै विद्यार्थी संगठनसँग छलफल गरेर निर्धारित समयमै स्ववियु निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गर्ने बताए।
आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति तपेन्द्र शाहीले वैचारिक नेतृत्व उत्पादन गर्ने थलोका रूपमा स्ववियु निर्वाचन नहुँदा राजनीतिक दल र मुलुकलाई नै घाटा भएको बताए। स्ववियु निर्वाचन नहुँदा शैक्षिक आन्दोलनलाई नोक्सान हुनुका साथै विद्यार्थीका हक अधिकार उठाउने ठाउँ नभएको उनको धारणा छ।
निर्धारित मितिमा निर्वाचन हुन्छ : त्रिवि
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले त्रिवि पनि स्ववियु निर्वाचन गर्न आतुर रहेको बताए। ‘विद्यार्थीको आधिकारिक नेतृत्व नहुँदा त्रिवि र क्याम्पसको नीति निर्माण र व्यवस्थापनमा समस्या आइरहेको छ’, उनले भने, ‘त्यसैले हामी निर्धारित मिति १४ फागुनमा निर्वाचन गर्न आतुर छौं।’
निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनका सम्बन्धमा विद्यार्थी संगठनसँग पनि निरन्तर छलफल गरिरहेको बताए। उनका अनुसार २०१९ बाट त्रिविमा विद्यार्थीको प्रतिनिधित्व हुँदै आएको थियो। २०३६ बाट स्ववियु निर्वाचन व्यवस्थित रूपमा प्रत्येक दुई/दुई वर्षमा हुँदै आएको छ।–रासस