आइतबार, असार १५, २०८२

गुल्मीमा स्वास्थ्य बिमा सेवा लिन झन्झट

बिमाका कारण आर्थिक राहत भए पनि सरकारी अस्पतालको उपचारमा ढिलाइ हुने सेवाग्राहीको गुनासो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

गुल्मी– स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ। पालो आएपछि टोकन पाइन्छ। टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ। नाम दर्तापछि टिकट पाइन्छ। टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ। टिकट भित्र दिएपछि बाहिर साँघुरो गल्लीमा घन्टौं कुर्नुपर्छ। अनि बल्ल पालो आउँछ, एउटा बिरामीको स्वास्थ्य जाँच गर्न।

अस्पतालमा हुने यस्तै झन्झटिलो प्रक्रिया झेल्न बाध्य भए, रेसुंगा नगरपालिका–७ का सुलोचन थापा। ‘स्वास्थ्य बिमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो छ’, उनी  भन्छन्, ‘बिरामी भएर अस्पताल आउने हो, छिटो र सहज हुनुप¥यो।’

बिमाका कारण आर्थिक राहत भए पनि सरकारी अस्पतालको उपचारमा ढिलाइ हुने थापाले बताए। स्वास्थ्य बिमा गरेर पनि औषधी बाहिर किन्ने बाध्यतामा छन्, रेसुंगा नगरपालिका–७ का ७३ वर्षीय चुरामणि आचार्य। उनले सुरुआती चरणमा नै स्वास्थ्य बिमा गराएका थिए। 

बिमाका कारण उनी सधंँ उपचारका लागि गुल्मी अस्पतालमै धाउँछन्। ‘अस्पताल आउँछु र बिमाको कार्ड देखाउँछु। ज्येष्ठ नागरिक भनेर छिटो–छरितो गर्छन्। समयमै उपचार पाउँछु’,  उनी भन्छन्, ‘आधाभन्दा बढी औषधी बाहिर किन्नू भन्छन्। यसरी स्वास्थ्य बिमाको के अर्थ भयो?’ स्वास्थ्य बिमा गरेपछि सबै रोगको उपचार र सबै औषधी निःशुल्क पाउनुपर्ने आचार्यको भनाइ छ।

मुसिकोट नगरपालिका–२ देउरालीका इन्द्रबहादुर रायमाझीले पनि स्वास्थ्य बिमा गरे पनि सबै औषधी निःशुल्क नपाएकामा गुनासो गर्छन्। स्वास्थ्योपचार निःशुल्क हुने आशमा बिमा गरेको भन्दै रायमाझीले बिमा गर्नेहरूको उपचार निःशुल्क भए स्वास्थ्य बिमा अझै बढी प्रभावकारी हुने बताए।

रेसुंगा–१४ की एलिसा पाण्डे भने उपचारमा आफू सन्तुष्ट रहेको बताउँछिन्। उपचारमा केही ढिलाइ भए पनि स्वास्थ्य बिमाका कारण आर्थिक हिसाबले कमजोर भएकाहरू पनि उपचारको पहुँचमा पुगेको उनको भनाइ छ।

‘केही कमी–कमजोरी रहे पनि स्वास्थ्य बिमामार्फत हुने उपचारको सेवा राम्रो छ’, उनी भन्छिन्, ‘सबैले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्छ।’ नियमित औषधी प्रयोग गर्ने दीर्घरोगी र आकस्मिक बिरामी हुनेलाई पनि स्वास्थ्य बिमाले धेरै राहत दिने भएकाले स्वास्थ्य बिमाबाट छुट्न नहुने उनको भनाइ छ।

अस्पतालमा आकस्मिकबाहेक अन्य बिरामीका लागि भने स्वास्थ्य बिमा भए पनि वा नभए पनि उपचारको प्रक्रिया एकनासे रहेको छ। 

स्वास्थ्य बिमा बोर्डका अनुसार गुल्मीमा बीमा गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ। आर्थिक वर्ष २०७६/७७ मा ७ हजार ८१७, २०७७/७८ मा ५८ हजार ३९२ र २०७८/७९ मा ९७ हजार २४३ जनाले स्वास्थ्य बिमा गराएको बिमा बोर्डका दर्ता अधिकारी ध्रुवराज बोगटीले जानकारी दिए। ‘तोकिएका रोगको मात्र उपचार हुने र तोकिएका औषधी मात्र निःशुल्क पाउने हो’, उनी  भन्छन्, ‘पोलियोबाट हुने अपांगता, दाँतसम्बन्धी रोग, सेतो छडी र बैसाखीलगायत केहीको शुल्क तिर्नुपर्छ।’ 

स्वास्थ्य बिमा गरेपछि सबै रोगको उपचार र सबै औषधी निःशुल्क पाउन नीति नै परिवर्तन गर्नुपर्ने दर्ता अधिकारी बोगटीले बताए। स्वास्थ्य बिमा गर्न प्रत्येक वडामा रहेका दर्ता अधिकारीसँग सम्पर्क गर्न सकिन्छ। जिल्लाका ९३ वडामा एक–एक जनाका दरले दर्ता अधिकारी छन्।–रासस

प्रकाशित: Dec 07, 2022| 17:20 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्