शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आमासँग छुट्टिएकी पूजालाई पुष्पा र अञ्जलीले आफ्नो ओतमा हुर्काउँदै

आमासँग छुट्टिएकी पूजालाई पुष्पा र अञ्जलीले आफ्नो ओतमा हुर्काउँदै

जंगलमा माउसँग छुटेकी उ अहिले एक्लै भने छैन। उसले आमाजस्तै न्यानो ओत पाएकी छे पुष्पा र अञ्जलीको। पूजा जस्तै आमाबाट छुटेर एनटीएनसीले नै हुर्काइरहेको दुई केटी गैंडा पुष्पा र अञ्जलीलाई पछ्याउँदै हिँड्छे।
 |  मंगलबार, मंसिर २०, २०७९

निशा श्रेष्ठ

निशा श्रेष्ठ

मंगलबार, मंसिर २०, २०७९

सौराहा- गत कात्तिक अन्तिम सातातिर चितवन राष्ट्रिय निकुञ्ज पूर्वीसेक्टरमा नेचर गाइडहरूले एक्लै, निरीह अवस्थामा रहेको गैंडाको बच्चा फेला पारे। आमासँग छुट्टिएर घाइते अवस्थामा रहेको  गैंडाको बच्चाबारे राष्ट्रिय प्रकृति संरक्षण कोष  (एनटीएनसी) सौराहामा खबर पुग्यो। खबर पुगेको भोलिपल्ट पनि त्यो सानो ‘केटी’ गैंडा त्यहीँ क्षेत्रमा उस्तै खराब अवस्थाबाट गुज्रिरहेको देखेपछि निकुञ्ज, सैनिक र एनटीएनसीको टोलीले तत्काल उद्धार गर्‍यो। सो केटी गैंडाको नाम राखियो पूजा।  

जङ्गलमै छाड्दा थप जोखिम हुने भएपछि उद्धार गरेर  राष्ट्रिय प्रकृति कोष सौराहाले ल्याएर रेखदेख गर्दै संरक्षण दिएको छ। एनटीएनसी सौराहाका प्रमुख डा. बाबुराम लामिछाने बच्चा बाघको आक्रमणमा परेपछि आमाले जोगाउन खोज्दा भागदौडको क्रममा माउसँग छुट्टिएको अनुमान गरेका छन्। भर्खर डेढ महिना मात्रैकी पूजालाई ल्याउँदा कलिलो शरीरभरि चोटैचोट थियो।  अहिले उपचारपछि बिस्तारै घाउ निको हुनेक्रममा छ। 

जंगलमा माउसँग छुटेकी उ अहिले एक्लै भने छैन। उसले आमाजस्तै न्यानो ओत पाएकी छे पुष्पा र अञ्जलीको। पूजा जस्तै आमाबाट छुटेर एनटीएनसीले नै हुर्काइरहेको दुई केटी गैंडा पुष्पा र अञ्जलीलाई पछ्याउँदै हिँड्छे। उद्धार गरेर ल्याएपछि पूजालाई दुई हप्ता जति पुष्पा र अञ्जली भन्दा छुट्टै आइसोलेसनमा राखिएको भए पनि अहिले उनीहरूसँगै हुर्किरहेको लामिछाने बताउँछन् ।

‘सानोबच्चा त्यसमाथि गम्भीर घाइते अवस्थामा भएकाले दुई हप्ता जति पूजालाई छुट्टै राख्यौं। रिस्क कम हुँदै गएपछि अहिले उनीहरूसँगै हिँड्छ बस्छ,’ उनले भने, ‘सानो बच्चाले पनि आफ्नो आमा जस्तो ठानेर सँगसँगै हिँड्न खोज्छ। पुष्पा र अञ्जलीले पनि आफ्नै बच्चाजस्तो ठानेर ख्याल राख्ने गर्दछन्।’ उनीहरूको रेखदेखमा खटिएका वन्यजन्तु प्राविधिक लालबाहादुर महतारा पनि पूजालाई पुष्पा र अञ्जलीले देखाएको ममता देखेर दङ्ग छन्।

‘राती पनि आमाको जस्तै दुई जनाको बीचमा उसलाई राखेर संरक्षण दिन्छन्,’ उनले खुसी हुँदै भने। पुष्पा र अञ्जलीलाई आफ्नै कम्मल ओढाएर हुर्काएका लालले अहिले पुष्पा अञ्जलीले पूजालाई माया दिँदा आफूलाई खुसी लागेको बताए। 

‘पुष्पा अञ्जली हुर्काउँदा मैले जति संर्घष गरे अहिले त्यस्तै माया उनीहरूले पूजालाई दिएको जस्तो लाग्छ,’ उनले उनीहरूबीचको ममताबारे सुनाए। पूजाले अहिले दूध खान्छे। अन्य दुईले फलफूल, घाँस र कुँडो खान्छन्। पुष्पा अब आउँदो जनवरीदेखि तीन वर्षमा पुग्दै छ भने अञ्जली दुई वर्षकी भई। केटी गैंडा भएकाले उनीहरू हुर्कँदै जाँदा ‘एग्रेसिभ’ व्यवहार भने नभएको एनटीएनसीका प्रमुख लामिछाने बताउँछन्।

पुसमा जन्मेकी पुष्पालाई चितवन राष्ट्रिय निकुञ्जको तमसपुर पोस्टमा आमाबाट छुटेको र दलदलमा फसेको अवस्थामा तीन  वर्षअघि ५  माघमा उद्धार गरी ल्याइएको थियो।  त्यसको एक वर्षपछि अञ्जलीलाई निकुञ्जभित्र आमा खोज्दै भौँतारिइरहेको अवस्थामा गैँडा गणना गर्न गएको टोलीले देखेपछि उद्धार गरेको थियो। अहिले पुष्पा र अञ्जलीसँगै पूजालाई हुर्काउने जिम्मेवारी पनि एन्टीएन्सीलाई थपिएको छ। 

त्यसको खर्च व्यवस्थापन भने चुनौतीपूर्ण रहेको एनटीएनसी सौराहाका प्रमुख लामिछाने बताउँछन्। ‘राष्ट्रिय प्रकृति संरक्षण कोषले आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गरिराखेका छौं। तर,  उद्धार गरेको वन्यजन्तुको लागि छुट्टै फन्ट नहुँदा भने चुनौती थपिएको छ। यसको लागि छुट्टै कोष नै स्थापना गर्नुपर्ने जरुरी देखिन्छ,’ उनले भने।

प्रकाशित: Dec 06, 2022| 07:59 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।