आइतबार, असार १५, २०८२

एचआईभी संक्रमित आमाबाट जन्मिए स्वस्थ बच्चा

नियमित औषधी सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआईभी संक्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको हो।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

भरतपुर– चितवनको भरतपुर अस्पतालमा १० महिनामा ६ जना एचआईभी संक्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन्। नियमित औषधी सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआईभी संक्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको हो। नियमित औषधी सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिन सके संक्रमण नहुने चिकित्सकको भनाइ छ। 

भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलले शल्यक्रियामार्फत जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम भएको बताए। औषधी खाइरहेका आमाबाट बच्चामा रोग सर्ने सम्भावना अन्यको तुलनामा ९० प्रतिशत कम हुने उनको दाबी छ। तर लामो व्यथा लागेर जन्मिएका बच्चामा रोग सर्ने सम्भावना बढी हुने उनको अनुभव छ। 

एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेक्ट्रो भाइरल थेरापी (एआटी) सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सेन्टरमा पछिल्लो १० महिनामा १३ हजार ८८ गर्भवतीको एचआईभी परीक्षण गरिएको छ। यीमध्ये दुई जनामा संक्रमण देखिएको थियो। 

सेन्टरमा चितवनसहित ११ जिल्लाका एचआईभी संक्रमित औषधी लिन आउने गरेका छन्। तनहुँ, गोरखा, लमजुङ, धादिङ, मकवानपुर, नवलपुर, नवलपरासी, बारा, पर्सा र धादिङका संक्रमितले चितवनबाट औषधीसहितको उपचार लिँदै आएका छन्। विशिष्ट खालको शल्यक्रिया, सुत्केरी र एमआरआइलगायतका उपचार सेवाका लागि यहाँ आउने गरेका छन्। 

सापकोटाका अनुसार हाल १ हजार १०४ संक्रमितले औषधी सेवन गरिरहेका छन्। यीमध्ये ४५ जना बालबालिका छन्। औषधी खानेमा ४५ दिनको शिशुदेखि ८५ वर्षका वृद्धसमेत छन्। 

नियमित औषधी सेवन गर्नेको स्वास्थ्य राम्रो भएको उनको भनाइ छ। औषधी खाइरहेका संक्रमितमध्ये ९७ दशमलव ६० प्रतिशतको संक्रमण नसर्ने अवस्थामा पुगेको छ। १ हजार कपीभन्दा कम भइरसको संख्या भएका बिरामीबाट एचआईभी एड्स नसर्ने उनले जानकारी दिए। 

सन् २०२२ को जनवरीदेखि हालसम्म जिल्लामा २७ जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। समुदायमा परीक्षण गरिएका १२४ मध्ये २ जना र एआरटी सेन्टरमा परीक्षण गरिएका १११ मध्ये २५ जनामा संक्रमण पुष्टि भएको हो। 

यस वर्ष ११६ जना नयाँ संक्रमितले एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) औषधी सुरु गरेका छन्। संक्रमितले दैनिक एक ट्याबलेट औषधी लिनुपर्ने हुन्छ। सेन्टरले एक पटकमा अवस्था हेरी एक महिनादेखि तीन महिनासम्मका लागि औषधी दिने गरेको छ। 

जिल्लामा रहेका संक्रमित महिलामध्ये ३९ को पाठेघरको क्यान्सर परीक्षण गरिएको छ। संक्रमितमध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराइएको छ। संक्रमितमध्ये सबैभन्दा बढी कामको खोजीमा भारत जाने महिला र पुरुष छन्। यसैगरी यौन व्यवसायी र तिनका ग्राहक, तेस्रोलिंगी, यौनिक अल्पसंख्यक, लागूऔषध प्रयोगकर्तामा पनि संक्रमण देखिने गरेको छ।–रासस

प्रकाशित: Dec 02, 2022| 14:52 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्