काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण कायमै रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले कोरोना संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो।
मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रममा भीडभाड गर्दा कोभिड संक्रमण दर बढ्न सक्ने बताए। देशमा कोभिड संक्रमण दर धेरै नभए पनि संक्रमणको अवस्था भने यथावत् रहेको उनको भनाइ छ।
उनले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोग पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताए। कोभिडविरुद्धको खोप नलगाएका व्यक्तिलाई भीडभाड हुने ठाउँमा नजान मन्त्रालयले सुझाएको छ।
कोभिड मात्रै नभएर भीडभाडमा अरू किसिमका संक्रमण पनि फैलिन सक्ने उनले बताए। ‘रुघाखोकी कसैलाई छ भने थप धेरै मानिसलाई सर्न सक्छ,’ डा. अधिकारीले भने। हात, शरीर तथा लत्ता–कपडा सरसफाइमा विशेष ध्यान दिन सके सबै किसिमका संक्रामक रोग नियन्त्रण गर्न सकिने उनको बुझाइ छ।