मंगलबार, जेठ ७, २०८२

नवौं राष्ट्रिय खेलकुदले चिनाएका खेलाडी

नवौं राष्ट्रिय खेल प्रतियोगितामा साफमा स्वर्ण जितेका कतिपय खेलाडी नयाँ खेलाडीसँग पछि परे भने नयाँ खेलाडीले कीतिमानसहित उल्लेख्य स्वर्ण जित्दै घरेलु खेलमा आफ्नो पहिचान बनाए।
 |  बिहीबार, कात्तिक १७, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- केही दिनअघि गण्डकी प्रदेशको पोखरामा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै खेलाडीले पहिलो पटक भाग लिएका थिए। कतिपय अनुभवी खेलाडीले अपेक्षाकृत प्रदर्शन गरे भने कतिले गर्न सकेनन्। पुष्पा भण्डारी म्याराथन दौडिँदादौडिँदै घाइते हुन पुगिन्। गोपीले एकभन्दा धेरै स्वर्णमा पाइला राख्न सकेनन्।

दक्षिण एसियाली खेलमै स्वर्ण जितेका कतिपय खेलाडी नयाँ खेलाडीसँग पछि परेका छन्। सन्तोषी श्रेष्ठ, चन्द्रकला लामगादे, प्रिन्स दहाल, स्यान्टु श्रेष्ठ, तारादेवी पुन, अभिलाष विष्टलगायतले भने अपेक्षित प्रदर्शन गरेका छन्। आ–आफ्ना खेलमा यी खेलाडीले वर्चस्व जमाउँदै आइरहेको समय उनीहरूले आफ्नो लय गुमाएनन्।

खुसीको कुरा के भने प्रतियोगितामा नयाँ खेलाडीले पनि उल्लेख्य स्वर्ण जित्दै घरेलु खेलमा आफ्नो पहिचान बनाए। यसै प्रतियोगितामा धेरैले कीर्तिमान पनि बनाएका छन्।

तिनै नयाँ खेलाडी, जसले राष्ट्रिय खेलकुदमा पहिचान बनाएका छन्, उनीहरूको यहाँ चर्चा गरिएको छः

जयरानी थारु– तीन कीर्तिमान, पाँच स्वर्ण


त्रिभवुन आर्मी क्लबबाट प्रतिस्पर्धा गरेकी २१ वर्षीया जयरानी थारुले प्रतियोगितामा तीन वटा कीर्तिमानै बनाइन्। उनले हरेक दिन ट्राक एन्ड फिल्डमा एक–एक स्वर्ण जित्दै पाँच वटा स्वर्ण पूरा गरिन्। पाँच स्पर्धामा भाग लिएकी उनले सबैमा स्वर्ण जितिन्।

उनले सय मिटर हर्डल्स र लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्। उनले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी थिइन्। 

४०० मिटर हर्डल्समा पनि निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेन्डमा पूरा गरेर स्वर्ण मात्रै आफ्नो पोल्टामा पारिनन्, तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गरिन्। थारुले गत असारमा काठमाडौंमा सम्पन्न ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७.०२ सेकेन्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भएकी थिइन्।

उनको टिमले चार गुणा सय मिटर रिले र चार गुणा ४०० मिटर रिलेमा पनि स्वर्ण जितेको थियो। चार गुणा चार सय मिटरमा एपीएफको टिमले गल्ती गरेपछि जयरानीको टिमले स्वर्ण जितेको थियो।

त्यसो त, जयरानीले यो खेलकुदमा पहिलो पटक प्रतिस्पर्धा गरेकी भने होइनन्। उनले यसअघि दुई पटक राष्ट्रिय खेलकुदमा सहभागिता जनाइसकेकी छन्। तर, स्वर्ण जित्न भने सहज थिएन। उनले नेपालगञ्जमा भएको खेलमा  केशरी चौधरीलाई उछिन्न सकेकी थिइनन्। अहिले भने खेलकै राजा एथ्लेटिक्समा स्वर्ण जितेकी छन्। 

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउनेछ। उनले भनेकी छन्, ‘स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ। अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने लक्ष्य छ।’

जयरानीले २०७२ देखि खेल्न थालेकी हुन्। त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ सिल्डलगायत जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेलिन्। सातौं राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उनले आठौंमा तत्कालीन प्रदेश ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितिन्।

शिवराज पार्की– तीन स्वर्ण


नेपालका चर्चित धावक गोपीचन्द्र पार्कीका भाइ हुन्, शिवराज पार्की। उनले पनि यो राष्ट्रिय खेलकुदबाट नाम कमाएका छन्। लामो दूरीको दौडबाट आफूलाई स्प्रिन्टको प्रतिस्पर्धामा परिवर्तन गरेको केही समयमै भएको राष्ट्रिय खेलकुदमा उनले तीन स्वर्ण जिते।

पोखरा रंगशालामा ३ कात्तिकमा पुरुषतर्फ शिवराजले २०० मिटरमा निर्धारित दूरी २१.९१ सेकेन्डमा पूरा गर्दै तेस्रो स्वर्ण जितेका थिए। सोही दिन गोपीचन्द्रले पनि ५ हजार मिटरमा स्वर्ण जितेका थिए। प्रतियोगिताको अन्तिम दिन दुवैले स्वर्ण जितेपछि फिल्डमा दुवैले खुसी साटासाट गरेका थिए।

३० वर्षीय शिवराजले यो स्वर्णमा तीन इभेन्टमा प्रतिस्पर्धा गरेका थिए। उनले तीन विधामै स्वर्ण जिते। २०० मिटरमा जित्नुअघि उनले १०० मिटरमा स्वर्ण जितिसकेका थिए। २०० को दौडमा आशीष चौधरी उनीसँगै दौडिरहेका थिए। तर अन्तिममा शिवराजले डाइभ हानेर स्वर्ण कब्जा गरे।

तीन स्वर्ण जितिसकेपछि अबको लक्ष्य स्प्रिन्टमा कीर्तिमान बनाउने रहेको शिवराज बताउँछन्। ‘स्प्रिन्टमा कीर्तिमान बनाउने लक्ष्य छ। यस खेलमा इतिहास बनाउन चाहन्छु,’ उनले खेलपछि भनेका थिए।

निशा चौधरी– एक स्वर्ण


निशाले धेरै स्वर्ण जितिनन् तर खेलाडीमा आफ्नो पहिचान छाडेकी छन्। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेकी निशाले पाँचन्दा धेरै प्रतियोगिता खेलिन्। तर सरस्वती चौधरी र जयरानी थारुको छायामा परिरहिन्।

टफ प्रतिस्पर्धाबीच पनि उनले २०० मिटरमा स्वर्ण जित्न सफल भइन्। उनले १०० मिटरको हिट चरणमा नयाँ राष्ट्रिय रेकर्ड बनाएकी  थिइन्। १०० मिटर दौडमै निशाले १२.१५ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्। टोक्यो ओलम्पिक खेलमा समेत सहभागी चौधरीले दुई घन्टामै नयाँ कीर्तिमान बनाइन्।

सरस्वतीले १२.१३ सेकेन्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। दुई सेकेन्डको अन्तरले उनले कीर्तिमान कायम गरेकी हुन्। यद्यपि निशाले प्रतियोगितामा चर्चा भने बटुलिन्।

दुआना लामा– ९ स्वर्ण


गौरिका सिंहको वर्चस्व रहेको नेपाली पौडीमा अहिले नयाँ देखिएकी खेलाडी हुन्, दुआना लामा। प्रतियोगिता सकिँदासम्म ९ स्वर्ण जितेकी दुआना आफ्नो स्वर्ण संख्या देखेर निकै हर्षित र अचम्मितसमेत भइन्। 

उनलाई लागेको थिएन– यति धेरै स्वर्ण जितिएला। तर प्रतियोगिताकै सबैभन्दा धेरै स्वर्ण जित्ने खेलाडी उनै भइन्। पौडीका विभिन्न विधामा स्वर्ण जित्दा गौरिका सिंह र एस्ली सापकोटा डंगोल पछि परेका थिए।

दुआनाले २०० मिटर ब्रिस्टस्ट्रोक, सोही विधाको १०० मिटर, ८०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रिस्टरोक रिले, ४०० मिटर फ्रिस्टाइल रिलेमा राष्ट्रिय रेकर्डसमेत बनाइन्। अहिले उनको नाममा पाँच राष्ट्रिय कीर्तिमान छन्।

यी प्रतियोगितासँगै उनले ५० मिटर ब्रिस्टस्ट्रोक, फ्रिस्टाइलको २०० मिटर र ४०० मिटरमा  स्वर्ण जितिन्। त्यसैले उनी प्रतियोगिताको सबैभन्दा धेरै स्वर्ण जित्ने खेलाडी बनिन्।

‘अब यी रेकर्ड ब्रेक गर्न गाह्रो छ। मेरो आफ्नै रेकर्ड ब्रेक गर्न पनि गाह्रो छ,’ उनले खेलपछि भनेकी थिइन्। उनले आफ्नो २०० मिटर फ्रिस्टाइलबाहेक फिस्टेलको पोखरीमा पर्सनल बेस्ट आएको बताइन्।

एस्ली र आशीष सापकोटा (६ र ३ स्वर्ण)


गैरआवासीय नेपाली समाजबाट प्रतिस्पर्धा गरेका आशीष सापकोटा र एस्ली सापकोटा डंगोलले पनि प्रतियोगितामा च्याम्पियन भएर नेपाली पौडीमा छाप छाडेका छन्। दुआना लामालाई जस्तै एस्लीलाई पनि गौरिकाको चुनौती थियो।

एस्लीले ५० मिटर बटरफ्लाई, १०० मिटर फ्रिस्टाइल, २०० मिटर ब्याकस्ट्रोक, ८०० मिटर फ्रिस्टाइल, १०० मिटर बटरफ्लाई र ५० मिटर बटरफ्लाइमा स्वर्ण जितेकी हुन्। आशीषले पनि २० मिटर बटरफ्लाई, ४०० मिटर इन्डिभिज्वल मेड्ली, २०० मिटर ब्रिस्टस्ट्रोकमा स्वर्ण जितेका छन्।

पौडी प्रतियोगिताभरि नै यी दिदीभाइको चर्चा रह्यो। अमेरिकामा बस्दै आएका उनीहरू  प्रतियोगिताका लागि मात्र नेपाल आएका थिए। 

एस्लीले ६ प्रतियोगितामा भाग लिएकामा ६ वटामै स्वर्ण जितिन्। आशीषले तीन वटामा स्वर्ण जिते। उनले अरु पदक पनि जितेका छन्। ‘यति धेरै स्वर्णले रमाइलो बनायो तर जित्न गाह्रो थियो। तनावलाई व्यवस्थापन गरेर खेलेको हो,’ एस्लीले खेल सकिएपछि भनेकी थिइन्। 

आशीषले ४०० मिटर इन्डिभिज्वल मेड्ली इभेन्टमा स्वर्ण मात्र जितेनन्, कीर्तिमानसमेत बनाए। प्रतियोगितामा जानुअघि दिदीले सहयोग गरेको उनी सुनाउँछन्। ‘म सानो हुँदादेखि नै दिदीको स्विमिङ हेरेर हुर्किएको हुँ। उहाँ मेरो रोलमोडल हो,’ २ कात्तिकमा पौडीका प्रतियोगिता सकिएपछि आशीषले भनेका थिए।

प्रकाशित: Nov 03, 2022| 17:39 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।