सुनसरी- कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ। जिल्ला अस्पताल सुनसरीले आफ्नो धुमलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो। एकाबिहानै पूर्जा काटेर पालो पर्खनेको भीड थामिनसक्नु छ।
पालो कुरेरै भएपनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो छ। लामो समय स्वार्थगत राजनीति र आर्थिक अनियमितता बाहेक नचाहनेहरुको चङ्गोलबाट उम्कन नसकेको इनरुवा अस्पतालबाट यतिबेला भने सेवाग्राहीले परिवर्तनको अनुभुति गर्न पाएका छन्। स्रोत साधनको उपलब्धताको आधारमा अस्पतालले २४ सै घण्टा विशेषज्ञ डाक्टरसहितको सेवा थालेसँगै अस्पतालप्रतिको आम सर्वसाधारणको धारणा समेत बदलिएको छ। अस्पतालको सेवाप्रति स्थानीयको विश्वास जगाएको छ।
अस्पताल सुधार हुनुका पछाडि एक जिद्दी डाक्टरको भूमिका मुख्य रहेको स्थानीय बताउँछन्। नाम बदनाम अनि गुमनाम बन्न पुगेको अवस्थाबीच कार्यक्षेत्र रोजेर आएका डा देवराज घिमिरेको जिद्दीपनले नै यतिबेला अस्पताल कायापलट भएको हो। डाक्टर घिमिरेको साथमा यतिबेला सारा गाउँ नै लागिपरेको बताउँछन्, सञ्चारकर्मी राजेन्द्र पोखरेल।
'डाक्टर घिमिरेले आफ्नो जिद्दीपना त्यागेको भए अस्पतालको दुरवस्था यतिबेला पनि रहिरहने थियो,' पोखरेल भन्छन्। डा हरेक क्षेत्रमा सुधारको लागि हठी र सन्की मान्छेको आवश्यक पर्ने कुरा महसुस गरेको उनको अनुभव छ। कुनै बेला भ्रष्टाचारको अखडा भएको स्थानमा अहिले सुविधाजनक रूपमा उपचार पाएसँगै स्थानीय पनि खुशी भएको डा घिमिरे बताए। सामाजिक अभियन्ता विनिता दाहालको अनुभव पनि सञ्चारकर्मी पोखरेलको भन्दा फरक छैन। मानिसले गर्न चाहेको खण्डमा असम्भव नहुने उनले बताए।