काठमाडौं- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार आएको किस्ट अस्पतालका चिकित्सकले जानकारी दिएका छन्। डेंगु संक्रमणले सोमबार प्रतिक्रियाविहीन बनेका जोशीको अवस्थामा मंगलबार सुधार भएको निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिएका छन्।
हिजोसम्म आँखासमेत खोल्न नसकेका जोशी आज कुरा गर्न थालेको उनले बताए। भने, 'हिजो ३० लिटर अक्सिजन दिनुपरेको थियो। आज ४.५ लिटरमा झरेको छ। हिजोसम्म प्रतिक्रियाविहीन हुनुहुन्थ्यो। आजदेखि कुरा गर्न थाल्नुभएको छ।’
विगत १९ दिनदेखि उपचाररत जोशीको स्वास्थ्यमा डेंगु भएपछि मुटु, निमोनिया, पिसाब संक्रमणल लगायतका कारण आइतबारबाट आईसीयुमा राखेर उपचार भइरहेको छ।
किस्ट अस्पतालले जोशी दम्पतिको निशुल्क उपचार गर्दै आएको छ। मृत्युपछि अस्पताललाई शरीर दान गर्ने घोषणा उनीहरूले गरिसकेका छन्। मरेपछि खरानी हुनुभन्दा विद्यार्थीलाई अनुसन्धानका लागि सघाउन शरीर दान गर्ने घोषणा गरेको जोशीले गरेका थिए।
सत्यमोहनलाई भएको एट्रियल फ्रिबिलेसन के हो?
संस्कृतिविद् लामो समयदेखि मुटुको समस्याबाट ग्रसित उनलाई पछिल्लो समय निमोनिया, डेंगी, तथा पिसाबको संक्रमण थपिएको छ।
उनी असोज ७ गते अस्पताल भर्ना भएका थिए। पछिल्लोपटक भने जोशीलाई मुटुको धड्कनसम्बन्धि (एट्रियल फ्रिबीलेसन) समस्या भएको अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यका अनुसार जोशीले बताएका छन्।
मुटुको धड्कनको गति सामान्यभन्दा धेरै तलमाथि हुने समस्यालाई एट्रियल फ्रिबिलेसन भनिन्छ। सामान्यतया स्वस्थ व्यक्तिको मुटुको धड्कनको गति ६० देखि १०० प्रतिमिनेट हुनुपर्छ। शारीरिक व्यायाम गर्दाको अवस्थामा यो गति १३० देखि १५० सम्म पुग्नसक्ने चिकित्सकहरू बताउँछन्।
किस्ट अस्पतालको रिपोर्टअनुसार मंगलबार जोशीको धड्कनको गति ११४ प्रतिमिनेट देखिएको छ।
एट्रियल फ्रिबिलेसनको समस्याले मुटु खुम्चिने, मुटुमा रगत जम्न सक्ने र यसको असर मस्तिष्कलगायत जुनसुकै अंगमा पर्नगइ पक्षघात हुनसक्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उत्तमकृष्ण श्रेष्ठ बताउँछन्। नेपालको हकमा ६० वर्ष माथिका नागरिकमा यो समस्या धेरैमा देखिने गरेको र औषधिमार्फत् नियन्त्रण गर्न सकिने डा. श्रेष्ठको भनाइ छ।
बेलाबेलामा छाती दुख्ने र आफैँ हराउने, थोरै व्यायाम गर्दा पनि थाकेको महसुस हुने, धड्कन अचानक तलमाथि हुने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता एट्रियल फ्रिबिलेसन लक्षण हुनसक्छन्।