आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मोरङका डेढ दर्जन क्षेत्रमा २२६ जनाको उम्मेदवारी, संघ र प्रदेश दुवैमा द्विपक्षीय प्रतिष्पर्धा

मोरङका डेढ दर्जन क्षेत्रमा २२६ जनाको उम्मेदवारी, संघ र प्रदेश दुवैमा द्विपक्षीय प्रतिष्पर्धा

प्रदेश र प्रतिनिधिसभामा गरी ७९ जनाको स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको छ। दुवै क्षेत्रमा गरी २१ जना महिलाको उम्मेदवारी दर्ता भएको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, असोज २५, २०७९

विराटनगर- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा २२६ जनाको उम्मेदवारी दर्ता भएको छ। प्रतिनिधिसभाका ६ वटा क्षेत्रमा १०८ जनाको उम्मेदवारी दर्ता भएको छ। 

प्रदेशसभाका १२ निर्वाचन क्षेत्रमा ११८ जनाको उम्मेदवारी दर्ता भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। प्रदेश र प्रतिनिधिसभामा गरी ७९ जनाको स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको छ। दुवै क्षेत्रमा गरी २१ जना महिलाको उम्मेदवारी दर्ता भएको छ। जसमा १२ जना प्रतिनिधिसभा र ९ जनाको प्रदेशसभामा उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले जानकारी दिए। 

प्रदेश र प्रतिनिधिसभाका १८ वटा क्षेत्रमा मुख्यगरी द्विपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ। मोरङमा सत्तारुढ कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी र एमाले–जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल छ। दुई गठबन्धन बाहेक लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेसन लगायतका साना दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। 

मोरङ-१
१५ जनाले उम्मेदवारी दिएको क्षेत्र नं. १ मा नेकपा एमालेका प्रदेश कमिटी सदस्य घनश्याम खतिवडा र नेपाली कांग्रेस मोरङका अध्यक्ष डिगबहादुर लिम्बुबीच मुख्य प्रतिष्पर्धा हुने छ। खतिवडा र लिम्बु संसदीय निर्वाचनमा तेश्रो पटक र २०४९ मा तत्कालिन लेटाङ गाविस अध्यक्षमा गरी चौथो पटक आमने सामने हुँदैछन्। गाविस अध्यक्षमा लिम्बुलाई पराजित गरेका खतिवडा २०७० को संविधानसभा निर्वाचनमा लिम्बुसँग पराजित भएका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गरेका थिए। दुवै उम्मेदवार एउटै साविक लेटाङ गाविकास हुन्। 

घनश्याम खतिवडा (बायाँ) र डिगबहादुर लिम्बु।
७ जनाले उम्मेदवारी दिएको क्षेत्र नं. १ को (क) मा एमालेका उमाकान्त गौतम र माओवादी केन्द्रका कुशल लिम्बुबीच प्रतिष्पर्धा हुने भएको छ। लिम्बु निवर्तमान प्रदेश सांसद हुन् भने गौतम निवर्तमान उर्लाबारी नगर कमिटीका अध्यक्ष हुन्। ८ जनाले उम्मेदवारी दिएको प्रदेशसभाको (ख) मा एमालेका खड्ग बस्नेत र एकीकृत नेकपा समाजवादीका उपेन्द्र घिमिरेबीच प्रतिष्पर्धा हुने भएको छ। वस्नेत पूर्व जिविस सभापति हुन् भने घिमिरे प्रदेशका सञ्चार तथा यातायात मन्त्री हुन्। घिमिरे ०७४ मा एमालेबाट निर्वाचित सांसद हुन्। पार्टी विभाजन पछि उनी एकीकृत समाजवादीमा लागेका थिए। 

मोरङ २
१३ जनाले उम्मेदवारी दिएको क्षेत्र नं. २ मा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल र कांग्रेस नेतृ सुजाता कोइरालाबीच मुख्य प्रतिष्पर्धा हुने छ। पोखरेल र कोइरालाबीच पहिलो पटक आमने सामने हुँदैछन्। २०७० को दोश्रो संविधानसभा निर्वाचनमा कांग्रेसका आमोद उपाध्यायलाई पराजित गरेका पोखरेल ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका डा. मिनेन्द्र रिजालसँग पराजित भएका थिए। तेश्रो पटक उम्मेदवार बनेका पोखरेल यस पटक कांग्रेस नेतृ कोइरालासँग प्रतिष्पर्धा गर्दैछन्। 

मोरङ २ मा उम्मेदवारी दर्ता गराउँदै सुजाता कोइराला।
१२ जनाले उम्मेदवारी दिएको  क्षेत्र नं. २ को (क) मा नेकपा एमालेका डिवी कार्की र माओवादी केन्द्र प्रदेश कमिटीका सचिव गणेश उप्रेती (शुशिल) बीच प्रतिष्पर्धा हुने भएको छ। कार्की पहिलो पटक उम्मेदवार बन्दैछन् भने उप्रेती संविधानसभा र प्रदेशसभामा सोही क्षेत्रबाट पराजित व्यक्ति हुन्। ९ जनाले उम्मेदवारी दिएको प्रदेशसभाको (ख) मा एमालेबाट निर्वमान सांसद तथा पूर्व मन्त्री लीलाबल्लभ अधिकारी र कांग्रेसबाट विनोद कार्की मुख्य प्रतिष्पर्धामा छन्। कार्की सो क्षेत्रका नयाँ अनुहार हुन्। 

मोरङ ३

मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दर्ता गराएपछि तस्बिर खिचाउँदै नायिका रेखा थापा।

३१ जनाले उम्मेदवारी दिएको क्षेत्र नंं ३ मा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र कांग्रेस नेता डा. सुनिल शर्मा पुनः आमने सामने हुँदैछन्। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा ढकालसँग पराजित भएका शर्मा यस पटक पुनः उनैसँग भिड्दैछन्। सो क्षेत्रमा राप्रपा उम्मेदवार रेखा थापाले पनि दुवैलाई टक्कर दिने स्थानीय मतदाताको भनाइ छ। 

मोरङ ३ मा एमालेका उम्मेदवार भानुभक्त ढकाल।
७ जनाले उम्मेदवारी दिएको क्षेत्र नं. ३ को (क)मा एमालेका दिलिप राई (किशोर) र कांग्रेसबाट प्रदेशका वन तथा वातावरण मन्त्री शेखरचन्द्र थापाबीच मुख्य प्रतिष्पर्धा छ। सो क्षेत्रबाट यसअघि कांग्रेसका सुयर्मा राईले माओवादी उम्मेदवार गीता तिम्सीनालाई पराजित गरेका थिए। थापा समानुपातिक सांसद हुन्। एमाले उम्मेदवार राई पथरीशनिश्चरे नगरपालिकाका निवर्तमान मेयर हुन्। १५ जनाले उम्मेदवारी दिएको (ख) मा एमालेका ज्ञानेन्द्र सुवेदी र नेकपा एकीकृत समाजवादीका लक्ष्मी श्रेष्ठबीच प्रतिष्पर्धा हुने भएको छ। सुवेदी बेलबारी नगरपालिकाका निर्वमान मेयर हुन भने श्रेष्ठ सुकुना माविका निवर्तमान प्रधानाध्यापक हुन्। ०७४ मा सो क्षेत्रबाट एमालेका राजकुमार ओझा निर्वाचित भएका थिए। 

मोरङ ४
१७ जनाले उम्मेदवारी दिएको क्षेत्र नं. ४ मा एमाले केन्द्रीय सदस्य विनोद ढकाल र माओवादी नेता अमनलाल मोदीबीच प्रतिष्पर्धा हुने भएको छ। एमालेसँगको गठबन्धनबाट मोदीले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए। मंसिर ४ को निर्वाचनमा मोदी एमाले उम्मेदवारसँग मुख्य प्रतिष्पर्धामा छन्। 

मोरङ ४ मा माओवादी उम्मेदवार अमनलाल मोदी (अगाडि बीचमा)
७ जनाले उम्मेदवारी दिएको क्षेत्र नं. ४ को (क) मा एमालेका जयप्रकाश चौधरी र नेपाली कांग्रेसका गुरुराज घिमिरेबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ। चौधरी सामाजिक र राजनीतिक दुवै क्षेत्रमा क्रियाशिल व्यक्ति हुन्। घिमिरे नेविसंघका पूर्व सभापति हुन्। ०७४ मा सो क्षेत्रबाट माओवादीका विजय विश्वासले कांग्रेसका भक्तिनाथ माझीलाई पराजित गरेका थिए।  १० जनाले उम्मेदवारी दिएको (ख) मा एमाले केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे र कांग्रेस केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ। एमाले नेता घिमिरेले ०७४ मा कांग्रेसका विश्वनाथ रिजाललाई पराजित गरेका थिए। 

मोरङ ५
१८ जनाले उम्मेदवारी दिएको क्षेत्र नं. ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डल र जनता समाजवादी पार्टीका राजकुमार यादवबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ। मण्डलले सत्तागठबन्धनबाट उम्मेदवारी दिएका छन् भने यादवले एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका हुन्। यादव र मण्डल पुनः दोश्रो पटक आमने सामने हुँदैछन्। मण्डलले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका अमृत अर्याललाई पराजित गर्दा यादव तेश्रो भएका थिए। सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता योगेन्द्र मण्डलले पनि टक्कर दिन सक्ने आँकलन गरिएको छ। एमालेबाट सिफारिसमा परेका मण्डलले जसपासँगको गठबन्धनका कारण टिकट पाउन नसकेपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

 मोरङ ५ मा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल (दायाँ)
६ जनाले उम्मेदवारी दिएको क्षेत्र नं. ५ को (क) मा एमालेका सन्तोष साह र कांग्रेसका गयानन्द मण्डलबीच मुख्य प्रतिष्पर्धा देखिएको छ। तर, एमालेले एमाले–जसपाबीचको तालमेलमा ४(ख) र ६(ख) जसपालाई दिने सहमति भएपनि अन्तिम समयमा एमालेबाटै दुवै क्षेत्रमा उम्मेदवारी परेपछि एमालेले ५ को प्रतिनिधिसभा र प्रदेशका दुवै क्षेत्र छाड्ने सहमति भएको श्रोतको भनाइ छ। एमालेले उम्मेदवारी फिर्ता नलिए साह र मण्डलबीच नै प्रतिष्पर्धा हुने छ।

सो क्षेत्रबाट ०७४ मा एमालेका ज्ञानेश्वर राजवंशी निर्वाचित भएका थिए। १० जनाले उम्मेदवारी दिएको (ख) बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अमृत अर्याल र जसपाका नेता तथा प्रदेश स्वास्थ्य मन्त्री जयराम यादवबीच मुख्यप्रतिष्पर्धा हुने भएको छ। अर्याल र यादव दोश्रो पटक आमने सामने हुदैछन्। ०६४ को उपनिर्वाचनमा यादवले अर्याललाई पराजित गरेका थिए। ०७४ मा यादव सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

मोरङ ६
१६ जनाले उम्मेदवारी दिएको क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितका बीचमा मुख्य प्रतिष्पर्धा हुने भएको छ। कोइराला र पण्डित ५ वर्षपछि पुनः आमने सामने हुँदैछन्। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कोइरालालाई झिनो मतान्तरले पराजित गरेका पण्डित पुनः कोइरालासँग भिड्ने भएका हुन्। कोइराला ०६४ को उपनिर्वाचन र दोश्रो संविधानसभा निर्वाचनमा सोही स्थानबाट निर्वाचित भएका थिए। 

मोरङ ६ मा उम्मेदवारी दर्ता गराउँदै शेखर कोइराला।
१३ जनाले उम्मेदवारी दिएको क्षेत्र नं. ६ (क) एमाले नेतृ रिता न्यौपाने र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ज्वाइँ समेत रहेका जीवन आचार्यबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ। न्यौपाने प्रदेशसभामा नयाँ अनुहार हुन्। आचार्य अघिल्लो निर्वाचनमा कांग्रेसका चुमनारायण तवदारसँग पराजित भएका थिए। १४ जनाले उम्मेदवारी दिएको (ख) मा एमाले नेता तथा खेलकुद महासंघका अध्यक्ष पर्शराम बस्नेत र प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ। कार्कीले अघिल्लो निर्वाचनमा एमालेका रमेश पोखरेललाई पराजित गरेका थिए। 

 



प्रकाशित: Oct 11, 2022| 08:00 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।