सोमबार, असार १६, २०८२

डा केसी र सरकारबीच सहमति, आजै अनशन तोडाउने तयारी

आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। सहमतिमा हस्ताक्षर पछि डा. केसीले शनिबार नै अनशन तोड्ने तयारी गरेका छन्।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। सहमतिमा हस्ताक्षर भएपछि डा. केसीले शनिबार नै अनशन तोड्ने तयारी गरेका छन्। 

डा केसीले ७:३० बजे अनशन तोड्ने तयारी गरेको केसी पक्षका वार्ता टोली सदस्य प्रितम सुवेदीले जानकारी दिए। उनका अनुसार दुवै पक्षका वार्ता टोली सहमत भएको र त्यसलाई लिखित रूप दिने काम भइरहेको छ। 

डा. केसीले भदौ २७ गतेदेखि धनगढीमा २०औं आमरण अनशन सुरू गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा लगिएका उनी पछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल आएका थिए।

अनशनकै क्रममा उनलाई लिन नेपाली सेनाको हेलिकोप्टर धनगढी पुगे पनि सरकारी खर्चमा आफू काठमाडौं नजाने भन्दै आफ्नै खर्चमा फर्किएका थिए।

देशभरका सरकारी अस्पतालमा बेडअनुसार दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्स-रेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराइनुपर्ने माग उनले  अघि सारेका छन्। यस्तै २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत माग सरकारसँग उनले राखेका छन्। 

प्रकाशित: Sep 24, 2022| 18:34 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्