विराटनगर- प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो मन्त्रालयले सोचे जति काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले कर्मचारीहरुले आवस्यक सहयोग नगरेको बताएका हुन्।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा तीनदिने प्रदेशस्तरीय स्वास्थ्य कार्यक्रमको समीक्षा गोष्ठीमा शुक्रबार मन्त्री यादवले आक्रोश व्यक्त गरेका हुन्।
सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्यलाई अलग गरी छुट्टै मन्त्रालय बनाएपनि अपेक्षित काम हुन नसकेको उनको भनाइ छ। स्वास्थ्य मन्त्रालयले विनियोजित बजेट खर्च नै गर्न नसकेको उनले उल्लेख गरे। ‘अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षका वजेट खर्च घटेको छ। प्रदेश १ लाई पूर्णखोप बनाउन आफुले चाहेपनि आवश्यक सहयोग पाइनँ,' कर्मचारीप्रति खनिएका मन्त्री यादवले भने, 'पूर्ण खोप कहिले हुन्छ? किन ढिलाई? मंसिर ४ पछि गर्ने हो पूर्ण खोप प्रदेश? कार्यालयमा जाँदा प्रमुख भेटिदैनन्। कर्मचारी हुँदैनन्। काम हेर्दा वर्ष दिनभरि केही छैन।’ आफ्नै कार्यकालमा पूर्णखोपयुक्त प्रदेश बनाउने आफ्नो चाहना पूरा हुन नसकेकोमा उनको आक्रोश छ।
प्रदेश १ स्वास्थ्यका हरेक सूचकमा पछि रहेको उनले बताए। मन्त्री यादवले भने,‘अन्य प्रदेशको तुलनामा स्वास्थ्यका सूचकहरुमा हामी पछि छौं। प्रदेश १ भएपनि तत्थ्याङ्कमा हामी अन्तिममा छौं। यो तथ्य हामीले स्वीकार्नु पर्छ।’
तीन तहको संरचनाका कारण रिपोर्टिङमा पनि समस्या रहेको उनले बताए। पालिकास्तरका स्वास्थ्य संयोजकले स्वास्थ्य कार्यालयका जिल्ला प्रमुखहरुलाई बेवास्ता गरेको उनको आरोप छ। आफूमातहतको प्रदेश स्वास्थ्य तालिम केन्द्रले वर्ष दिनमा एउटा पनि कार्यक्रम गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए।