मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ११ खेलाडी फर्किंदा नवयुग र आयुष 'आउट', हुमागाईं भन्छन्- केही कारणले यस्तो भयो

११ खेलाडी फर्किंदा नवयुग र आयुष 'आउट', हुमागाईं भन्छन्- केही कारणले यस्तो भयो

राष्ट्रिय फुटबल टिमको लामो समयको द्वन्द्वपछि बंगलदेशसँग मैत्रीपूर्ण खेल्ने टिमको घोषणा निकै महत्त्वपूर्ण थियो। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरै नेपाली फुटबल टिमको घोषणा गरेको छ।
 |  शुक्रबार, असोज ७, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- राष्ट्रिय फुटबल टिमको लामो समयको द्वन्द्वपछि बंगलदेशसँग मैत्रीपूर्ण खेल्ने टिमको घोषणा निकै महत्त्वपूर्ण थियो। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरै नेपाली फुटबल टिमको घोषणा गरेको छ।

त्यसो त अहिले सिनियर फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईं यो विषयमा बोल्न चाहँदैनन्। तर, एन्फाकै नियमअनुसार यसअघि बाहिरिएका ११ खेलाडीलाई उनले आफ्नो टिममा राखे।

‘म आउनुभन्दा पहिलेको कुरा खासै थाहा छैन। पहिले के भएको थियो भन्ने कुराले अहिले अर्थ राख्दैन,’ प्रशिक्षक हुमागाईंले भने।

यसअघि अनुशासनको प्रश्न उठाउँदै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हटाएका खेलाडीलाई हुमागाईंले टिममा बोलाउँदा अब्दुल्लाहको टिमको नियमित सदस्यहरू नवयुग श्रेष्ठ र आयुष घलान भने टिममा परेनन्।

उनले अगाडी भने, ‘पहिले विवाद भएका ११ खेलाडी कोहुन् भन्ने बारे मलाई थाहा भएन। नामको लिस्ट छैन। अहिले को पर्‍यो, परेन भन्दा पनि सबै खेलाडीलाई समान व्यवहार गरेर कसलाई राख्ने भन्ने निर्णय लिइएको हो। मलाई राख्ने नराख्ने कुनै दबाब थिएन।’

तर, टिममा दुई नयाँ अनुहार देख्न भने पाइएको छ। ‘हामीसँग भएका सबै  खेलाडी महत्त्वपूर्ण नै थिए। खेलका लागि हामीले सबैभन्दा वेस्ट नाम यही नै तोक्न सक्यौं,’ टिम घोषणासँगै प्रशिक्षक हुमागाईंले भने। नयाँ दुई खेलाडी चाहिँ ऋतिक खड्का र आशिष चौधरी हुन्। बन्द प्रशिक्षणमा बोलाइएका सुनिल बल चाहिँ इन्ज्युरीको कारण टिममा राख्न नसकेको हुमागाईंले प्रस्ट पारेका छन्। 


अहिले टिममा चार जना गोलकिपर राखिएको छ। दीप कार्की, विशाल सुनार, विकेश कुथुसँगै किरण पनि टिममै छन्। तर किरण अहिले नेपालमा छैनन्। किरण आउने पक्कापक्की रहेको प्रशिक्षकले बताएका छन्। यस्तोमा एक खेलका लागि एक जना मात्र गोलकिपरको आवश्यकता पर्छ। हदै भए दुई गोलकिपर चाहिएला।

‘हामीले खेलको पूर्वानुमान लगाउन सक्ने अवस्था छैन। हामी गर्दैनौ। टिमबीचको विश्वास र भावना हामीले देखाउने नै छौं। एन्फा, कोचिङ स्टाफ र खेलाडीबीचको सञ्चार र आपसी समझदारीले एकले अर्काको भावना बुझेर प्रदर्शन गर्ने हो भने हामीले पक्कै पनि जित निकाल्नेछौं,’ प्रशिक्षक गुमागाईंले भने।

चार जना चाहिँ किन नि? प्रशिक्षक हुमागाईंको जवाफ छ, ‘अभ्यासको दौरान एकै समयमा दीप कार्की,  विशाल सुनार, विकेश कुथु घाइते भएका थिए। किरण चाहिँ भर्खरै बाहिरबाट आएर बिहे गरेर गइसकेको अवस्था छ। यस्तोमा तीन दिनको अभ्यास हामीले विना गोलकिपर गरेको हो।’

उनले अगाडी थपे, ‘डेंगुको समस्याले  धेरै खेलाडीलाई असर गरेको थियो। यता किरण पनि आइनसकेको अवस्थाका कारणले गर्दा हामीले रिस्क लिन गाह्रो हुने भएकाले चार जना राखेको हो। अरू कुरामा रिस्क लिन सहज भए पनि गोलकिपरको कुरामा रिस्क लिन सजिलो हुँदैन। र, एक खेलाडी थप गर्दा केही फरक पर्दैन।’

त्यसैले अब तीन गोलकिपर एबसेन्ट भए गाह्रो हुने भएकाले प्रशिक्षकको टिमले सेफ ल्यान्डिङ खोजेको हुमागाईंले बताए।

किरण नआइसकेको अवस्थामा टिमको कप्तान घोषणै भएको छैन। पछिल्लो समय कप्तान नै टिममा नपरेपछि उनले अलमुताइरीको विरोध पनि गरेका थिए। अहिले चाहिँ साबिक कप्तान किरण कुमार लिम्बू टिममै छन्, ‘खेलअघि नै कप्तानी घोषणा गर्नेछौं। खेल आउनका लागि समय बाँकी नै रहेको कारण हामीले कप्तानी घोषणा नगरेको हो।’

पत्रकार सम्मेलनकै दौरान टिमको प्रोग्रेस हुँदै छ कि कस्तो टिम बनेको छ भन्ने प्रश्नमा प्रशिक्षक हुमागाईंले भने, ‘हामीसँग भएको सबैभन्दा बलियो टिम यो हो। हामीले यो अभाइलेबल भएका खेलाडीमध्येबाट बलियो टिम छानेको हो।'

यता गौतम श्रेष्ठ टिममा नहुनुको कारण चाहिँ उनलाई यसअघि भएको डेंगु र ह्यामस्ट्रिङ इन्ज्युरी हो। त्यसैले उनी सुरुबाटै टिममा छैनन्। अभ्यासका दौरान विकास र भरत खवास, विशाल श्रेष्ठ अनि सुरज ज्यु ठकुरीलाई पनि डेंगुको संक्रमण भएको नेपाली टिममा फिजियोथेरापिस्ट आविष्कार पुडासैनीले बताए। 

अहिले होस्टेलमा भएका खेलाडीहरू कोही पनि चोट नलागेको फिजियो आविष्कारले जानकारी दिएका छन्। त्यस्तै, युवा खेलाडी आयुष घलान पनि टिममा छैनन्। उनले चाहिँ  यू २० को अन्तिम खेलमा मैदान छिरेको १५ मिनेटमै रातो कार्डको सजाय पाएका थिए। बंगलादेशी खेलाडीमाथि अश्लील संकेत गरेपछि उनले रातोकार्ड बेहोरेका थिए।

टिममा नराख्नका लागि त्यो नै कारण हो त? ‘यसकारेमा त एन्फाको समितिले नै डिक्लियर गर्ला। अनुशासन समित पनि होला एन्फाको। 'आयुष यू २० को टिममा रहिरहेको कारण नै सुरुमा हाम्रो टिममा पर्न नसकेको हो,’ प्रशिक्षक हुमागाईंले भने, ‘खेलाडीको अनुशासनको सन्दर्भमा भन्दा त्यो हर्कतबाट म खुसी छैन नै। तर टिममा नराख्नाको कारणमा यो पनि जोडिएला। मनोवैज्ञानिक रूपमा असर गरेपछि त्यो कारण पनि मान्न त मिल्छ नै। बलमा उनी राम्रो गर्न सक्ने खेलाडी हुन्।’

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमले अभ्यास गरेको पाँच हप्ता पुग्नै लागेको छ। ‘३२/३३ दिनमा राम्रो गरिरहेका छौं। भएका स्रोतसाधनलाई उपयोग गरेर हामीले अभ्यास गरिरहेका छौं। र, बंगलादेशसँग पक्कै पनि राम्रो गर्ने नै छौं,’ नेपाली टिमका सहायक प्रशिक्षक युगल किशोर राईले भने।

अब बंगलादेशसँगको खेल कस्तो रहला त? जहाँ यसअघि २३ पटक खेल्दा बंगलादेशले तीन जित निकालिसकेको छ भने नेपालले सात खेलमा मात्र जित निकाल्न सकेको छ।

‘हामीले खेलको पूर्वानुमान लगाउन सक्ने अवस्था छैन। हामी गर्दैनौ। टिमबीचको विश्वास र भावना हामीले देखाउने नै छौं। एन्फा, कोचिङ स्टाफ र खेलाडीबीचको सञ्चार र आपसी समझदारीले एकले अर्काको भावना बुझेर प्रदर्शन गर्ने हो भने हामीले पक्कै पनि जित निकाल्नेछौं,’ प्रशिक्षक गुमागाईंले भने।


उनले नयाँ आएका खेलाडी ऋतिक र आशिष टिममा राम्रो खेलाडीको छवि बनाएको जानकारी दिए। 

उनले भने, ‘दुवै खेलाडी डिभिजन ए लिग र बि डिभिजनमा राम्रो गरेका खेलाडी हुन् त्यसैले हामीले ल्याएको हो। उनीहरूबारे हामीले धेरै आशा राखेका छौं। टिममा स्वागत पनि छ,’ हुमागाईंले भने, ‘बलसँग, बलबाहेक, फिल्डभित्र र बाहिर सबै राम्रो भएर नै नयाँ लाई प्राथमिकता दिएको हो। त्यो स्तरको खेल चरित्र भएको कारणले गर्दा उनीहरूले राष्ट्रिय टिममा डिजर्भ गरेका हुन्। सबै बराबरी पर्न लायक नै हुन्।’

यता नवयुग पनि डिजर्भिङ हुन तर ‘केही कुराका कारण’ले उनी टिममा नपरेका मुख्य प्रशिक्षक हुमागाईंले बताए। साथै टिममा अभ्यास रमाइलो भइरहेको जानकारी दिए।

यता, युगल किशोर चाहिँ पहिलो पटक राष्ट्रिय टिमको सहायक प्रशिक्षक बनेका हुन्। उनले राष्ट्रिय टिममा धेरै दबाबसँगै धेरै कुरा सिकिने पनि बताएका छन्। उनले भने, ‘सहायक प्रशिक्षकको अनुभव भए पनि फुटबलमा यात्रा २० वर्षको भइसकेको छ। त्यहाँबाट पनि धेरै सिकियो। यो अनुभवले राष्ट्रिय टिमको दबाब झेल्ने साहस आएको छ।’

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल

मिडफिल्डर : सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट

फरवार्ड : विमल घर्ती मगर, अञ्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी

प्रकाशित: Sep 23, 2022| 09:37 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।