काठमाडौं- १० दिनयता धनगढीमा अनशनरत डा गोविन्द केसी बुधबार राजधानी फर्कने भएका छन्। डा केसीको तर्फबाट वार्ता टोलीमा सदस्य रहेका प्रितम सुवेदीले डा केसी आफ्नै खर्चमा काठमाडौं आउन लागेको जानकारी दिए।
मंगलबार सरकारले हेलिकोप्टरमार्फत् काठमाडौं ल्याउनका लागि नेपाली सेनाको स्काई ट्रक पठाएको थियो। तर सरकारी खर्चमा आफू काठमाडौं नजाने भन्दै उनी मानेका थिएनन्। त्यसपछि सेनाको स्काइ ट्रक रित्तै फर्किएको थियो।
सुवेदीका अनुसार डा केसी साँझ ४:४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौंका लागि उड्नेछन्। उनलाई थप उपचारको निम्ति त्रिवि शिक्षण अस्पतालमा लगिनेछ।
डा केसीमा शारीरिक कमजोरी, टाउको दुख्ने, रिङटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गाहो हुने, छाती दुखे, पेट दुख्ने, शरिरको मांशपेशी दुख्ने, बाउडिने र सुक्दै गएको, मुटुको धनकन गडबढी, रक्तचाप घट्दै गएको, श्वासप्रश्वास दर बढ्दै गएको, शरिरमा अक्सिजनको मात्रा कम हुँदै गएको, तौल ३ केजी घटेको, चिनीको मात्रा कम भएको, क्याल्सियम फस्फोरस म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको सेती प्रादेशिक अस्पतालले जानकारी गराएको छ। उनी अस्पतालमा नै अनशनमा छन्।
शरिरमा पोषणतत्व र पानीको असुन्तलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने र रोगसँग लड्न सक्ने क्षमता कम भई रोग संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणाली खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने चेतावनी चिकित्सकले दिएपछि उनलाई काठमाडौं ल्याउने पहल थालिएको थियो।
डा.गोविन्द केसीमा थप जटिलता हुन सक्ने भएको भन्दै मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी पठाइएको अस्पतालले जानकारी दिएको छ।
उता मंगलबार सरकार र डा केसीका प्रतिनिधिबीच वार्ता भएपनि निष्कर्षविहीन भएपछि बुधबार पुनः बस्ने भन्दै सकिएको थियो। तर बुधबार भने वार्ताका लागि थप तयारी गर्न नपाएको सरकारी पक्षले डा केसी पक्षलाई जानकारी गराएको समेत सुवेदीले जानकारी दिए।