मंगलबार, असार १७, २०८२

कोभिडबाट पार नपाउँदै देशलाई डेंगुले घेर्‍यो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीबाट पार नपाउँदै देशलाई डेंगुले घेरेको बताएका छन्।
 |  मंगलबार, असोज ४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ४, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीबाट पार नपाउँदै देशलाई डेंगुले घेरेको बताएका छन्। कोभिडको समयमा स्वास्थ्यकर्मीहरूले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै उनले स्वास्थ्यकर्मीहरूको प्रशंशासमेत गरेका छन्। 

नेपाल चिकित्सक संघ (एनएमए)ले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेसनल हेल्थ समिट)मा बोल्दै प्रधानमन्त्री देउवाले स्वास्थ्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। स्वास्थ्य क्षेत्रका लागि बनेका नीति  तथा स्वास्थ संरचना निर्माणमा नेपाल चिकित्सक संघको साथ र सहयोग आवश्यक रहेकोसमेते उनको भनाइ थियो। 

'कोभिड-१९ महामारीको नियन्त्रणमा चिकित्सक तथा स्वास्थ्यकर्मीले खेलेको भूमिका निकै महत्त्वपूर्ण छ। कोभिडबाट पार पाउन नपाउँदै फेरि देश डेंगुले घेरेको छ,' प्रधानमन्त्री देउवाले थपे, 'स्वास्थ्य पूर्वाधारको विकास र विस्तारसँगै देशलाई आर्थिक रुपमा चलायमान बनाउन आवश्यक छ। खोपको आपूर्ति र स्वास्थ्य उपचारलाई राज्यले प्राथमिकतामा राखेको छ।' डेंगुबाट भएको मृत्युप्रति उनले दुख व्यक्त गरेका थिए। 

संघले आयोजना गरेको सम्मेलन बुधबारसम्म चल्नेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेको सम्मेलनमा 'महामारीपछिको चुनौती, उपलब्धि र अवसर'सम्बन्धी सात विषयमा छलफल हुनेछ। सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुनेछन्।

सम्मेलनको पहिलो दिन संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी', 'सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर' र 'चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा' विषयमा छलफल छ। यस्तै बुधबार, 'महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरु, 'खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण', 'नेपालमा स्वास्थ्य पर्यटनको संभावना' र 'चिकित्सा शिक्षामा असर र अवसर विषयमा छलफल हुने जानकारी संघले दिएको छ। 

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सम्मेलनमा हुने छलफल निकै महत्वपूर्ण हुने बताए। 'सम्मेलनमा छलफलपछि आएका निचोड र सुझावका आधारमा स्वास्थ्य मन्त्रालयलये नीति तथा कार्यक्रमहरु बनाउन सक्नेछ,' उनले भने। 

सम्मेलनमा स्वास्थ्य र चिकित्सा शिक्षाका विषयमा गहन छलफल हुने र ती छलफलबाट विशेषगरी नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जनशक्ति र समग्र स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण सुझाव आउनेछ भन्ने विश्वास गरिएको छ। संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यको नीति निर्माण तहमा योगदान पुर्या‍उन सम्मेलनको आयोजना गरिएको जानकारी दिए। 'आगामी दिनमा स्वास्थ्यको नीति के हुनुपर्ने, पाँच वर्ष, १० वर्षमा स्वास्थ्य क्षेत्रमा के काम हुनुपर्छ र के कुरामा जोड दिनुपर्छ भन्ने विषयमा हामी गहन छलफल गर्नेछौं,'  उनले भने।

प्रकाशित: Sep 20, 2022| 17:05 मंगलबार, असोज ४, २०७९
प्रतिक्रिया दिनुहोस्