काठमाडौं– शिक्षामन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचनाभन्दा सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन्। सोमबार राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित विद्यालय तह परीक्षाको नतिजा : वर्तमान अवस्था र भावी कार्यदिशा विषयक छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन्।
उनले भने, ‘पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन। प्राध्यापक, शिक्षक, कर्मचारी, नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षामा सुधार ल्याउन सम्भव हुन्छ।’ बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उनको सुझाव छ।
विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्रावधिक तथा व्यवसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञहरुको सुझाव आवश्यक रहेको उनले औंल्याए।
विश्वविद्यालयका आंगिक क्याम्पस शिक्षा विषयमा रुचि नभएकाले भर्ना संख्यामा कमी आएकाले व्यवहारमुखी शिक्षा आवश्यक रहेको उनले बताए। विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले वैशाखदेखि यसलाई कार्यान्वयनमा लगिने उनले जानकारी दिए। ‘विद्यार्थीले परीक्षा दिएको वर्ष दिनसम्म पनि नतिजा आएन भने के हुन्छ? अब विभिन्न वहाना हुँदैन, क्यालेन्डर प्रणाली लागू गरौं, सबै समयमा हुन्छ’, उनले भने।