काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग २०औं पटक अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग राख्दै केसी सात दिनदेखि धनगढीमा अनसनरत छन्।
डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गरेका छन्। चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ।
सेती प्रादेशीक अस्पतालले केसीमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेसी दुख्नेलगायत समस्या देखिन थालेको जनाएको छ।
उनको उपचारमा संलग्न चिकित्सक डा. अमृत जैसीले आइतबारदेखि अक्सिजन दिन थालिएको बताएका छन्। 'शरीरमा सुगरको मात्रा एकदमै कम देखिएको छ। औषधि लिन मान्नु भएको छैन। मुटुको चालमा समस्या भइरहेको छ। बेचैनी बढेको छ। सात दिनमा तीन किलोभन्दा बढी तौल घटिसकेको छ। यही अवस्था रहे उहाँको स्वास्थ्यमा थप जटिलता देखिने छ,' उनी भन्छन्।
केसीको शरीरमा अक्सिजनको मात्रा घटेर ९०-९२ पुगेको छ। केसीको शरीरमा न्युट्रेसनको कमी रहेको र ग्लुकोज लिन नमानीरहेको जैसीले बताए। केसीमा रक्तचापसँगै सुगरको मात्रा घटेर ४४ एमजी पुगेको अस्पतालले जनाएको छ।
'शरीरमा पानीको मात्रा मात्रा एकदमै कम छ। पोषक तत्व र पानीको असन्तुलनले बेहोस हुनसक्ने, कम्पन हुनसक्ने, रोगसँग लड्नसक्ने क्षेमता कम भई विभिन्न संक्रम हुनसक्ने, रक्तचापको असरले शरीरका विभिन्न अंगमा खराबी हुनसक्ने जोखिम छ,' उनले भने।
उता सरकारी पक्ष र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको आइतबारको वार्ता निष्कर्षबिहीन बनेको छ। वार्ताले कुनै निचोड दिन नसके पनि सकारात्मक रहेको र गृहकार्य गरेर पुनः छलफलमा जुट्ने सहमति भएको केसी पक्षका वार्ता संयोजक डा. जीवन क्षेत्रीले बताए।
‘हामीले मागहरूबारे जानकारी गरायौं, सरकारी पक्षले १९औं अनशनका बेला भएको सम्झौताको कार्यान्व्यनबारे ब्रिफिङ गर्यो। थप गृहकार्य गरेर फेरि वार्तामा बस्ने कुरा भएको छ,’ उनले भने। सरकारी वार्ता टोलीले मागहरूबारे निष्कर्षमा पुग्न मन्त्रीहरूसँग छलफल गर्नुपर्ने बताएका थिए।
सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली बनाएको छ। स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षा सचिवालय सचिव रामकृष्ण सुवेदी टोलीका सदस्य छन्।
केसीको तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जनलगायतका वार्ता टोलीमा सहभागी छन्।