आइतबार, असार ८, २०८२

नेताज्यु, आफ्नै कुकर्मले शिर नझुकोस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

गत निर्वाचनहरूका केही सम्झना गरौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा भयो । वैशाख ०७४ देखि असोजसम्म तीन चरणमा भएको स्थानीय तहको निर्वाचनबाट चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिकामा हजारौं जनप्रतिनिधि निर्वाचित भए । यस्तै, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएको पनि नौ महिना भइसक्यो । मंसिर ०७४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभा गठन भए । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भयो । सबै निर्वाचनमा गरी एक करोड पाँच लाख जनताले प्रत्यक्ष/अप्रत्यक्ष भाग लिए ।

यसको अर्थ लामो अन्तरालपछि स्थानीय तहमा जनप्रतिनिधिहरू आए । संघीय संरचनाअनुसार पहिलो पटक प्रदेशमा सरकार बने । संघीय व्यवस्थापिकाले काम थाल्यो । दुई तिहाइको वामपन्थी सरकार बन्यो । निश्चय नै यी ऐतिहासिक महत्वका विषयहरू हुन् । यी उपलब्धिहरूले सयौंको संख्यामा राजनीतिक नियुक्तिहरू सृजना भए । सबै तहमा जोडजाड गर्दा झण्डै पाँच हजारले राजनीतिक नियुक्ति पाए होलान् ।

प्रश्नहरू आउँछन्, यावत् उपलब्धिहरूको अर्थ के हो ? लोकतन्त्रमा निर्वाचन र निर्वाचित जनप्रतिनिधिहरूको अर्थ के हुन्छ ? जनताले किन भोट हाल्छन् ? र, भोट हालेवापत जनताले के पाउनुपर्छ ? निर्वाचन कुनै प्रकृया मात्र हो कि यसमा जनताका सपनाहरू पनि सन्निहित हुन्छन् ?

माथिका प्रश्नहरूको उत्तर खोज्ने समय कहिले आउँछ थाहा छैन । केही मान्छेहरू भन्छन्- जनप्रतिनिधिमुलक संस्थाहरूको मूल्यांकन गर्ने बेला अझै भएको छैन । ठीकै हो, हतार नगरौं । तर, ढिलो गर्नु पनि हतार गर्नुजस्तै गल्ती हुनसक्छ । अतः आजलाई भने ध्यानाकर्षण मात्र गरौं ।

अनुमान गरौं

हजुर, सर्वप्रथम अनुमान गरौं । सबै तहका जनप्रतिनिधिहरूका लागि राज्यले गर्ने खर्च कति होला ? त्यो पैसा कहाँबाट र कसरी आउँछ ? त्यो खर्चबाट हुनुपर्ने उपलब्धि के हो ? हाम्रा जनप्रतिनिधिहरूका लागि हुने वार्षिक खर्च शायद अर्बमा हुनसक्छ । तलब, भत्ता, यातायात, इन्धन, अतिथि सत्कार, आवास, सचिवालय । त्यो पैसा निश्चय नै जनताले तिर्ने हो । यत्रो जनशक्ति र खर्चको हिसाबकिताब गरेपछि प्रश्न स्वाभाविक हुन्छ- के अब देश बन्छ ? के विकासले गति लिन्छ ? के नेताहरूले सुशासन, सामाजिक न्याय र असल संस्कारको इतिहास बनाउँछन् ? कि उनीहरू तीव्र भ्रष्टाचार, गतिहीनता र अहंकारको कलंकमा रमाउलान् ? शायद हाम्रा जनप्रतिनिधिहरूको अग्निपरीक्षा शुरु भएको छ ।

इतिहासले हाम्रा नेताहरूलाई दुई वटा बाटो दिएको छ । एउटा बाटो छ पौरखको । त्यो स्वर्गको बाटो हो । अर्को बाटो छ बर्बादीको । त्यो नर्कको बाटो हो । नेताहरूलाई प्रश्न सोधौं, तपाईं कुन बाटो जाने महाशय ? तपाईं गर्वयोग्य मान्छे बन्ने कि चालु, भ्रष्ट र लम्पट ?

नेपाली राजनीति यतिबेला आशा र आशंकाको बीचमा छ । जनप्रतिनिधिहरू पनि आशा र आशंकाको बीचमा छन् । जनतामा सकारात्मक अपेक्षाहरू त छन् तर सँगै पहाडजस्ता आशंकाहरू पनि छन् । कसरी आशंकाहरूलाई आशामा बदल्ने होला ? कसरी गतिहीनतालाई गतिशीलताले जित्ने होला ? कसरी अविश्वासलाई विश्वासमा फेर्ने होला ? 

यी प्रश्नहरू यसकारण महत्त्वपूर्ण छन् कि यहींबाट सफलता र असफलताका दुई वटा बाटा छुटिन्छन् । शायद प्रत्येक देशको इतिहासमा यस्ता दिनहरू आउँछन्, जहाँ विगत र भविष्यको पौंठेजोरी चल्छ । हाम्रो विगत आशंकाहरूले भरिएको छ । हाम्रो विगत गतिहीनताले भरिएको छ । हाम्रो विगत अविश्वासले भरिएको छ । अब फेरि पूरानै बाटो जाने कि आशा, गतिशीलता र विश्वासको नयाँ बाटो समाउने ? यो प्रश्न हाम्रा जनप्रतिनिधिहरूलाई । यो प्रश्न हाम्रा नेताहरूलाई । यो प्रश्न राज्यकोषबाट सुविधा लिनेहरूलाई । यो कुनै नकारात्मक टिप्पणी होइन । यो शालीन आग्रह हो ।
 
चुनाव सकिएको महिनौं भइसक्यो । नेताज्यु, सत्तामा हुनुहुन्छ । अब सम्झनायोग्य काम गर्नुहोला । अन्यथा, भोलि फेरि चुनाव आउँछ, त्यसबेला आफ्नै कुकर्मले तपाईंको शिर नझुकोस् ।

विगतको समीक्षा

निश्चय नै हामीसँग राजनीतिक आन्दोलनको गौरवपूर्ण इतिहास छ । तर, राजनीतिक परिवर्तनलाई हामीले जनताको समृद्धि, सुशासन र सामाजिक न्यायसँग जोड्न सकेनौं । राजनीतिक परिवर्तनले जनताको अवस्था फेर्न सकेन । अतः भन्नैपर्छ- हामीसँग राजनीतिक बेथितिका बग्रेल्ति दुःखद अनुभवहरू छन् । किन यस्तो भयो ?

किनभने, हाम्रो राजनीतिसँग सत्य र निष्ठाको तागत रहेन । नेताहरूमा जम्मेवारीबोध देखिएन । राजनीति अनेकौं भ्रमहरूको खेतीपातीमा फस्यो । सिद्धान्तको भ्रम, व्यवहारको भ्रम, लोकतन्त्रको भ्रम र समाजवादको भ्रम । कुरा सबैले ठूला-ठूला गरे तर साना-साना आवश्यकतामा कसैको ध्यान पुगेन । साधारण मान्छेलाई लाग्न थाल्यो, 'कहिल्यै वचनमा नटिक्नु, हरेक दिन षडयन्त्रमा रमाउनु, जनतालाई ढाँट्नु, छलछाम गर्नु र सधैं कुर्सीका लागि लड्नु नेपाली राजनीतिको साझा चरित्र हो ।'

नेपाली मध्यमवर्गले ठान्छ- 'शक्ति र सम्पत्ति' हाम्रा नेताहरूको कमजोरी हो । तीव्र विकास चाहनेहरू राजनीतिको 'गति, सृजनशीलता र शुद्धतामाथि' शंका गर्छन् । हाम्रो युवा वर्ग पछिल्लो राजनीतिसँग विश्वस्त छैन । ऊ मुलतः परिणाम चाहन्छ । कुरा मात्र गर्ने राजनीति उसको छनोट होइन । सामाजिक न्यायको अपेक्षा गर्नेहरूलाई लाग्छ- यो विषयमा हाम्रा नेताहरू 'संवेदनशील' छैनन् । यी जनताका आफ्नै अनुभवहरू हुन् । यी अनुभवहरूले भन्छन्- 'सुशासन र सदाचार'का राजनीतिक दलीलहरू हावादारी कुरा हुन् ।

किन यति धेरै नकारात्मक छ जनता र नेताहरूको सम्बन्ध ? राजनीतिप्रति किन यति धेरै अविश्वास छ जनतामा ? के हाम्रा गाउँदेखि केन्द्रसम्मका जनप्रतिनिधिहरूले यस्ता आशंकाहरू हटाउलान् ? सबैलाई थाहा छ, जनता र नेताहरू विकासका सहयात्री हुन् । सहयात्रीहरू बीच जब आशंकाहरू रहन्छन्, यात्रा सुखद हुँदैन । सुखद सहयात्राबिना गन्तव्यमा पुग्न सकिँदैन । नभुलौं, जनप्रतिनिधि बन्नु जनताको मत पाउनु मात्र होइन, मन पाउनु हो । के हाम्रा जनप्रतिनिधिहरूले जनताको मन जित्लान् ? जुन विन्दुबाट हाम्रा जनप्रतिनिधिहरूले जनताको विश्वास पाउलान्, शायद हाम्रो सुखद भविष्यतर्फको यात्रा त्यही विन्दुबाट प्रारम्भ हुनेछ ।

कामको केन्द्रविन्दु

पछिल्लो समय केही आशंकाहरू सृजना भएका छन् । स्थानीय तहमा चर्को कर, जनप्रतिनिधिहरूमा सुविधामोह र गतिहीनता स्पष्ट देखिन्छ । नीतिगत अन्योल कायम छ । प्रदेशहरूले काम थाल्न सकेका छैनन् । प्रदेशको व्यवस्थापिका कामविहीन छ । प्रदेश सरकारले टेक्ने कता, समाउने कता भेउ पाउन सकेको देखिँदैन । केन्द्रीय सरकार या त रेलको कुरा गर्छ अथवा केही कुरै गर्दैन । प्रश्नहरू छन्- कामको केन्द्रविन्दु कता हो ? जनप्रतिनिधिहरूले गर्नै नहुने कामहरू के हुन् ?

फेरि उही प्रश्न- कामको मलभूत केन्द्रविन्दु के हो ? हाम्रा जनप्रतिनिधिहरूले सोच्नुपर्ने यो आधारभूत प्रश्न हो । आधारभूत प्रश्नहरूको जवाफ खोज्न आधारभूत तहमै जानु राम्रो हुन्छ । पछिल्ला तथ्यांकहरूले भन्छन्- नेपालमा १२ प्रतिशत जमिन मात्र महिलाहरूको नाममा छ । एक पटक राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख सबै पदमा महिलाहरू पुगे पनि हाम्रा ग्रामीण महिलाहरू आँशुको जिन्दगी जिउन बाध्य छन् ।

ग्रामीण किसानहरूको जीवनमा कतै खुशीहाली छैन । बेदर्तावाल मोहीहरूको संख्या लाखभन्दा माथि छ । भूमि सदुपयोग नीति कार्यान्वयनमा छैन । मलको अनुदानले कृषि क्षेत्रका पीडालाई मल्हम लगाउँदैन । न त बीउ, न त प्रविधि । अझै पनि आकाशे पानीमाथि भरपर्ने किसानहरूको संख्या आधा छ । चर्को मूल्यवृद्धि, कालोबजारी र गुणस्तरहीनताले साधारण उपभोक्ता मारमा छन् । दलित, गरिब र कामदारहरूका सपना हरेक दिन जन्मन्छन् र मर्छन् । तर, समवेदना र सुविधा कतै छैन । यी हाम्रा जनप्रतिनिधिहरूले काम थाल्नुपर्ने आधारभूत मुद्दाहरू हुन् ।
 
जनता आफ्ना सपनाहरू पूरा हुने दिन गनेर बसेका छन् । अब पर्खिने समय छैन । यसको अर्थ हो, यो परीक्षामा उत्तीर्ण हुनुबाहेक हाम्रा जनप्रतिनिधिहरूलाई अरू कुनै सुविधा प्राप्त छैन ।

विद्यालयमा पढाइ छैन । हिजो निजी शिक्षण संस्थालाई बन्द गराउनेहरू आज त्यसैका मालिक छन् । न त वैज्ञानिक शिक्षा, न त रोजगारी । अस्पताल महँगो छ । गाउँमा औषधी छैन । विदेशमा मजदूरी गरेर देश फर्किएका युवा सरकारकै मान्छेहरूबाट लुटिन्छन् । हत्या, अपहरण र लुटपाट दिनदहाडै हुन्छ । बलात्कारका दोषीहरू बर्दीमा घुम्छन् र जनप्रतिनिधिहरू मिलापत्रमा साक्षी बस्छन् । बडे-बडे समाजवादीहरू भएको देशमा 'क्रोनी क्यापिटालिजम' ? यो के हो ?

हाम्रो विकास प्राथमिकता र मोडेल के हो ? स्थानीय तहका नेताहरू पनि ठूला-ठूला कुरा गर्न माहिर छन् । तर, साना मान्छेहरूलाई साना-साना परिवर्तनहरू चाहिन्छ । लोकतन्त्र र विकासलाई जोड्ने प्राथमिक कडी नै जनता हुन् । अतः विकास प्रकृयामा जनताको सहभागिता कसरी सुनिश्चित हुन्छ ? जनप्रतिनिधिहरूले यस्ता प्रश्नहरूमा काम गर्नुपर्ला ।

भख्खर मात्र गरिएको कालोपत्रे अर्को महिना उप्किन्छ । १० महिना निदाउने र असारमा विकासको खेती गर्नेहरूले निरन्तर भ्रष्टाचारको रोपाईं गरिरहेका छन् । सडकमा धुलो, खाल्डाखुल्डी र अराजकता छ । पूर्वाधारहरू अलपत्र छन् । कहाँ गए सार्वजनिक थितिका कुरा ? कहाँ गए सुशासनका प्रतिबद्धता ?

सरकारी तथा सार्वजनिक सेवा क्षेत्रमा अनगिन्ती बेथिति छन् । दुर्भाग्य, हरेक बेथितिका पछाडि साना-ठूला नेताहरूको आडभरोसा छ । त्यसैले प्रश्न स्वाभाविक हुन्छ- हाम्रो राजनीति यस्ता अनेकौंं बेथितिहरूबाट कसरी माथि उठ्ला ? हाम्रा जनप्रतिनिधिहरूको निष्ठाको संकल्प के हो ? कि त चुनावका बाचाहरू सबै भ्रम थिए भन्नुपर्‍यो या त व्यवहारबाटै जवाफ दिनुपर्‍यो ।

पार्टी खोल्ने, जनतालाई सपना देखाउने र सत्ताको खेती गर्नेबाहेक राजनीतिको अरू कुनै दायित्व हुँदैन ? मुख्यतः राजनीतिमा गुमेको दायित्व पुनःस्थापित गर्नु आजको मुख्य काम हो । के हाम्रा सबै तहका सरकारहरूले विगतका कमजोरीहरू सच्याउँछन् ? उही शैली, प्रवृत्ति र प्रयोगले नयाँ गन्तव्यमा पुग्न सकिँदैन । नयाँ गन्तव्यमा पुग्न नयाँ बाटो हिँड्नुपर्छ । सफलताको यो सूत्र हाम्रा जनप्रतिनिधिहरूलाई पक्कै थाहा छ ।

उत्प्रेरणाको स्रोत

हाम्रा जनप्रतिनिधिहरूको उत्प्रेरणाको स्रोत के हो ? धन, दौलत, सस्तो लोकप्रियता र कुर्सी कि विचार, मूल्यमान्यता, परिवर्तन र समृद्धि ? इतिहासका शिखर मान्छेहरूको जीवनले भन्छ- उत्प्रेरणाको मुख्य स्रोत 'जनता' हुन् । यहींनेर केही प्रेरणादायी नामहरू स्मरण गरौं । जस्तो कि महात्मा गान्धी । उनी आफ्नो सिद्धान्तका आफैं अभ्यासकर्ता थिए । उनको जीवन शान्ति, लोकतन्त्र, सदाचार र स्वराजका लागि समर्पित थियो । उनी तपस्वी थिए । सादा जीवन र उच्च आदर्श उनको जीवन सूत्र थियो ।

निश्चय नै गान्धी ठूलो नाम हो । र, आज हाम्रा धेरै नेतालाई आ-आफ्नो तहको गान्धी बन्ने सुअवसर प्राप्त छ । के हाम्रा स्थानीय तह, प्रदेश र केन्द्रका नेताहरू आ-आफ्नो तहको गान्धी बन्लान् ? यहींनेर नेल्सन मन्डेलाको प्रसंग जोडौं । मन्डेला आजको विश्वका सर्वाधिक उच्च पुरुष हुन् । उनले जातीय समानता, मानव अधिकार र लोकतन्त्रका लागि अविश्वसनीय त्याग गरे । मुलतः उनी मान्छेलाई जातभन्दा माथिबाट हेर्थे । उनकै नेतृत्वमा दक्षिण अफ्रिका गोराहरूको समेत मातृभूमि बनेको छ ।

के हाम्रा नेताहरू आफ्नो गाउँ, ठाउँका मन्डेला बन्लान् ? मार्टिन लुथर किङले जीवनभर सामाजिक न्यायका लागि बोले । उनले निर्धाहरूमा आशाको सञ्चार गरे । उनको जीवन गरिमापूर्ण थियो । के हाम्रा नेताहरू गरिमापूर्ण जीवनका लागि अविचलित रहलान् ?

माक्र्सवादीहरूले पटक-पटक पढेकै हुनुपर्छ, कार्ल माक्र्ससँग आफ्नी छोरीको मृत्युमा कात्रो किन्ने पैसा पनि थिएन । तर, असाध्य गरिबीमा पनि उनले आफ्नो आस्थालाई धरमराउन दिएनन् । लेनिनको 'फाटेको कोट लगाऊ र नयाँ किताब किन' भन्ने सन्दर्भ धेरैलाई थाहा छ । नेपालमै पनि बीपी, पुष्पलाल, कृष्णप्रसाद, मनमोहन, गणेशमान, मदनका नामहरू पटक-पटक लिइन्छन् । उनीहरूले शानदार जीवन बाँचे । उनीहरू ढोंगी थिएनन् । उनीहरूले जे भने, त्यही गरे । उनीहरूको अर्थमा राजनीति त्याग, समर्पण र परिवर्तनको महायज्ञ थियो । राजनीतिलाई उनीहरूले सत्यको लडाईं बनाए ।

के हाम्रा नेताहरू आफ्नै राजनीतिका आदर्शहरूबाट सिक्ने सामथ्र्य राख्छन् ? साना-साना काम गरेर आदर्श स्थापित गर्न सकिन्छ । हरेक जनप्रतिनिधिलाई आफ्नो तहको गान्धी, मन्डेला, बीपी, पुष्पलाल, मनमोहन बन्ने अवसर छ । निश्चय नै केही फरक, सानै सही तर महत्वपूर्ण काम गर्ने संकल्प भयो भने सफलता टाढा छैन । अन्यथा, हाम्रा जनप्रतिनिधिहरूको असफलतालाई कसैले रोक्न सक्दैन ।

सिद्धान्त पढ्नु, सिद्धान्त भन्नु र सिद्धान्तमा टिक्नु अलग कुरा रहेछ । नेपाली राजनीतिका पछिल्ला घटनाहरूले सिद्धान्त र व्यवहारका अनेकौं असंगतिहरूलाई उदांगो बनाएका छन् । हाम्रा नेताहरू सिद्धान्त भन्न सक्छन् । तर, हामीलाई सिद्धान्तको जनमुखी प्रयोग चाहिएको हो । राम्रो बोलेर के हुन्छ, जब व्यवहारमा कोही सबैभन्दा दुष्ट छ भने ?

यसर्थ नै जनता समग्र राजनीतिप्रति आशंका गर्छन् । नेताहरूलाई जाँच्ने जनतासँग सजिलो उपाय छ । उनीहरू छलछाम, सौदाबाजी र तिकडमबाट नभई आफ्नै जीवनसँग जोडेर नेताहरूको परीक्षा लिन्छन् । जनता साना-साना खुशी चाहन्छन् । जनता दैनिक जीवनमा परिवर्तन चाहन्छन् । शान्ति, सुरक्षा, स्कुल, अस्पताल, रोजगारी, खेत खलियान, पानी, मल, सिँचाइ । यी यस्ता विषय हुन्, जसका लागि जनताले निरन्तर सपना देखेका छन् । जनता आफ्ना सपनाहरू पूरा हुने दिन गनेर बसेका छन् । अब पर्खिने समय छैन । यसको अर्थ हो, यो परीक्षामा उत्तीर्ण हुनुबाहेक हाम्रा जनप्रतिनिधिहरूलाई अरू कुनै सुविधा प्राप्त छैन ।

चुनाव सकियो । चुनाव सकिएको महिनौं भइसक्यो । नेताज्यु, तपाईं सत्तामा हुनुहुन्छ । अब सम्झनायोग्य काम गर्नुहोला । महाशय, आफ्नै जीवनको लय मिलाउनुहोला । अन्यथा, भोलि फेरि चुनाव आउँछ, त्यसबेला आफ्नै कुकर्मले तपाईंको शिर नझुकोस् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...