काठमाडौं- २०औँ पटक धनगढीमा अनशनरत डा गोविन्द केसी र सरकारी पक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ। मागका सम्बन्धमा आआफ्नो पक्षमा छलफल गर्ने सहमतिसहित आजका लागि वार्ता निष्कर्षविहीन भएको डा केसी पक्षका वार्ता समिति सदस्य प्रितम सुवेदीले जानकारी दिए।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा वार्तामा डा केसीका मागका सम्बन्धनमा सामान्य छलफल भएको थियो। डा. केसीको तर्फबाट डा जीवन क्षेत्री, ओम प्रकाश अर्याल, डा लिजन महर्जन र प्रितम सुवेदी सदस्य सहभागी थिए।
सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा रामप्रसाद घिमिरे, स्वास्थ्यसचिव डा रोशन पोखरेल, र शिक्षासचिव रामकृष्ण सुवेदी वार्तामा बसेका थिए। सोमबार १ बजे पुन: वार्ता हुने सुवेदीले जानकारी दिए।
धनगढीमा ७ दिनयता अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ।