काठमाडौं- ५ दिनदेखि अनशनमा बसेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। विभिन्न सात बुँदे माग राखेर धनगढीमा अनशनरत डा केसीसँग वार्ताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।
वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने जानकारी कार्यालयले दिएको छ। वार्ता टोली गठनसँगै सरकारले डा केसीलाई अनसन तोड्न आग्रह गरेको छ।
उता डा. केसीको तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरिएको छ। टोलीमा ओम प्रकाश अर्याल, डा लिजन महर्जन र प्रितम सुवेदी सदस्य छन्।