काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि साढे ३ हजार विद्यालय छनोट भएको विवरण सार्वजनिक गरेको छ। २९ भदौको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोटमा परेको केन्द्रले बताएको हो।
राष्ट्रपति शौक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तारलगायतमा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेस गरेका थिए।
राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ निर्देशक समितिको बैठकले कार्यक्रम चालू आर्थिक वर्ष २०७९/८० मा साउनबाटै कार्यान्वयन गर्ने प्रस्ताव अगाडि सारेको थियो। केन्द्रका अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोविन्दराज पोख्रेलले कार्यक्रम कार्यान्वयनसम्बन्धी प्रक्रिया तयारी भइरहेको बताए।
सरकारले बजेट भाषणमार्फत कार्यक्रम कार्यान्वयनका लागि चालू शैक्षिक वर्षका निम्ति ८ अर्ब ८८ करोड रुपैयाँ बजेट छुट्याएको छ। यस्तो रकम गत वर्ष ७ अर्ब ८५ करोड ५१ लाख थियो।