बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंग सागर (बे अफ बंगाल) को अग्रसरता अर्थात् बिमस्टेकको दुई दिने सम्मेलनका कारण राजधानी उपत्यकाको अस्तव्यस्त नागरिक-जीवन सम्मेलन सकिएसँगै पूर्ववत् अवस्थामा फर्किरहेको, सामान्य हुँदै गएको छ । त्यसै पनि काठमाडौं उपत्यका दूषण, प्रदूषण, फोहोर, सडकका खाल्डाखुल्डीका कारण यातनाप्रद छ नै, झन् हुँदै गएको छ । अझ भनौं, काठमाडौं अव्यवस्थाका दृष्टिले अब्बलै छ ।
त्यसैले कुनै अन्तर्राष्ट्रिय सभा, सम्मेलन आयोजना गर्ने गरी योग्य हुने त कुरै भएन । अरू पाँच देश र त्यसमाथि असाध्यै सुरक्षा खतरा भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै आगमन हुने भएपछि नागरिकले पाउने सास्तीमा थप वृद्धि हुनु स्वाभाविकै थियो । देशभित्रै नागरिकलाई सास्ती नदिई आफ्नै राष्ट्रपतिको भ्रमण नहुने मुलुकमा त्यतिका विदेशी पाहुना आउँदा सास्ती नदिई सम्मेलन सम्पन्न गर्ने भन्ने कुरा सरकारले सोच्न पनि सक्दैन ।
किनभने, अंग्रेजीमा भनिने स्याडिज्म अर्थात् नेपालीमा भन्नु पर्दा परपीडा नेपाली शासकहरूको सम्भवतः रणबहादुर शाह र विशेष गरेर राणा शासनकालदेखिकै मूलमन्त्र हो । सामान्यतया मानिस अरूलाई खुशी पार्दा आनन्दित हुने गर्छन् तर यसको ठीक विपरीत परपीडकहरूचाहीं अरूलाई दुःख दिएपछि खुशी महशुस गर्छन् । कोही अभर पर्यो भने हाँस्छन्, दुर्घटनामा परी मरे मनमनै रमाउँछन्, चित्कार सुन्दा उनीहरूलाई तृप्ति हुन्छ, मानिसले यातना पाएको देख्दा तिनलाई अचम्मको खुशी लाग्छ । तिनका हृदयमा करुणाको निवास हुँदैन । आफू भोज भतेरमा रत् रहने तर यही देशमा चुल्हो नबल्ने घरहरू छन् भन्ने तिनलाई रत्ति ख्याल हुँदैन । कसैले भन्दियो भने उल्टै रमाउँछन् । देश त यो करुणाका साक्षात् अवतार भगवान गौतम बुद्धको हो तर यहाँका निवासीले विरलै त्यस्तो हृदय भएका शासक देख्न पाएका छन् ।
देश हो यो निश्चय नै, यहाँ अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन हुन्छन् र अझ बढी हुनुपर्छ । तर, सभा, सम्मेलन गर्दा नागरिक जीवन नै तहसनहस हुने गरी गर्नु भनेको पहिलो त नागरिकलाई यी जे पनि सहन्छन् भनेर हेपेको हो । तर, शासकहरूले के ख्याल राख्नु जरुरी छ भने देशमा सहने पुस्ता क्रमशः कम हुँदै गएको छ । हुन त, नेताहरू ठान्दा हुन् करोडौं पर्ने गाडीमा हुइँकिदा उनीहरूलाई देखेर मानिस भावाभिभूत भइरहेका हुन्छन् । यथार्थमा त्यस्तो हुँदैन, धेरैजसो मानिस उनीहरूलाई 'आए यी भ्रष्ट, यी चोर' भनिरहेका हुन्छन् । नयाँ पुस्ता नेताहरूको जीवनशैली जति सादगीपूर्ण हुन्छ, तिनको त्यति नै सम्मान गर्छ, हृदयदेखि आदर गर्छ । करोडौंको गाडीमा चढ्नेलाई गार्डले सलाम गर्दा हुन् तर नयाँ पुस्ताका धेरैजसोले नमस्कारसम्म गर्न चाहँदैनन् ।
विदेशी पाहुना आउँदा फोहोरको थुप्रो छोपिन्छ, सडकमा कालोपत्रे पोतिन्छ, पाहुना फर्केपछि भत्किन्छ । फोहोर खुल्छ । दुर्गन्ध फैलिन्छ । पाहुना रहुन्जेल आवागमनमा बाधैबाधा, गएपछि सडक भत्किहाल्छ । फेरि उस्तै पीर, उस्तै कष्ट । दुर्गन्ध ।
बिमस्टेकका पाहुना बिदा गर्दैगर्दा पाहुनाले आफैं छाता ओढेको तर रक्षामन्त्री ईश्वर पोखरेललाई अरूले छाता ओढाइदिएको तस्बिर भाइरल भयो, त्यसमा आएका कमेन्टहरू पक्कै पोखरेलले पनि देखे । यहाँ प्रसंगतः भनी हालौं, डेनमार्क भ्रमणका क्रममा फ्रान्सका राष्ट्रपतिले आवागमनलाई प्रभाव नपारी साइकल सयर गरेको र आफू ट्राफिकमा रोकिएको भिडियो कति नेपालीले सेयर गरे गनिसाध्य छैन । त्यस्तै, विश्वकप फुटबलमा क्रोएसियाकी राष्ट्रपतिले नागरिकसँग गरेको हेलमेलका दृश्यहरूका कारण क्रोएसियाको नामै नसुन्नेहरू पनि आल्हादित भए । केही समयपूर्व पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले आलिशान सरकारी आवास र अनावश्यक गाडीहरू परित्याग गर्ने घोषणा गरे र उनको त्यो घोषणा सुनेर नेपालीले आफ्ना प्रधानमन्त्री, मन्त्री त्यस्तै भइदिए हुन्थ्यो भन्ने कामना गरे ।
फ्रेन्च दार्शनिक अलेक्सी दे तक्वभिलेले भनेका थिए, 'लोकतन्त्रमा नागरिकहरू बरु गरीबी बाँड्न सहमत हुन्छन् तर आफैंले रोजेर उठाएका मानिस र आफूबीच असमानता सहन सक्दैनन् ।' हो पनि, लोकतन्त्रमा आफू र आफ्ना नेताबीच खाडल, पर्खाल हुनुहुँदैन । आफूजस्तै निम्न, निम्न मध्यम अथवा मध्यम वर्गको हैसियत भएको आफूसरहकै ठानिएको नेताको चाल-चलन र व्यवहार एकदमै भिन्न र हैसियत आकाश-जमिनको भयो भने मानिस तिनीहरूबाट दिक्क हुन्छन् । ढिलोचाँडो तिनलाई हटाउन लागिपर्छन् । हो पनि, यदि लोकतन्त्रमा पनि नेताले माथि उक्लेर जनतामाथि लात बर्साउन छुट हुने भए लोकतन्त्र भनेर मानिस किन मरिहत्ते गर्थे, त्यस्ता शासक त तानाशाहीमै छँदै थिए नि । हाम्रो सन्दर्भमा भन्नु पर्दा, नेताले राणा र शाह खलककै सिको गरिरहने भए ती हट्नु र यी आउनुको अर्थ नै के भयो ?
प्रसंग बिमस्टेक सम्मेलनबाट प्रारम्भ गरिए पनि यहाँ म त्यसको सफलता अथवा विफलताबारे विमर्श गर्न होइन, नेताहरू कार्केडमा सवार भएका बेला दुनियाँ के सहँदै थियो, त्यो भन्न यी हरफ लेखिरहेको छु । सम्मेलनमाथि त त्यसमाथि खासै माथापच्ची गरिरहनु आवश्यकै छैन । त्यो मूलतः पाकिस्तानबाहेकको क्षेत्रीय सहकार्यलाई आकार दिने भारतीय उपक्रम हो । भारतको नजरियाबाट हेर्दा उसले त्यसो गर्नु स्वाभाविक हो किनभने भारत सार्कमा खुशीले भन्दा पनि लाज-गाल र करबलले आएको हो, उसलाई पाकिस्तानसँग कुनै क्षेत्रीय मञ्च सेयर गर्ने इच्छै छैन ।
हो नै, सार्क साँच्चै भन्ने हो भने भारत पाकिस्तान जुहारीभन्दा अगाडि बढ्न सकेको छैन । भारत-पाकिस्तानबीचकै तनावका कारण नियमित रूपमा सार्क शिखर सम्मेलन हुन सकेका छैनन् । तर, यहाँ उठाइएको विषयचाहीं सार्क र बिमस्टेकमा कुन राम्रो भन्ने नभएर सभा, सम्मेलन आयोजना हुँदा जनताले पाउने गरेको सास्ती हो । सार्क हुँदा केपी शर्मा ओली होइन सुशील कोइराला प्रधानमन्त्री थिए । कोइराला आफैं त सज्जन थिए तर शासनको चरित्र सास्तीप्रधान जसरी आज छ, त्यसरी नै त्यतिबेला नभएको होइन । यसर्थ, त्यतिबेला नगरवासीले कम सास्ती बेहोरेको होइन । यहाँ त्यसैले यसका पालामा, उसका पालामा भन्ने छैन, जसको पालो आयो उसैले सास्ती दिने गरेको छ ।
सडकको चरम दुरवस्था, खाल्डाखुल्डी, घाम लाग्दा धूलो, पानी पर्दा हिलो, सार्वजनिक यातायातमा अव्यवस्थाजन्य दुर्दशाका अनेकन सहयोगी कारण हुन सक्छन् तर मुख्य विषयचाहीं शासनमा पुगेका र पुग्नेहरूको ध्यान जनताको सुरक्षित आवागमन गर्न र बस्न रहन पाउने अधिकारप्रति आफू जिम्मेवार रहेकोतर्फ जानै नसक्नु हो अर्थात् मानवीय संवेदनाको त्यो पक्ष नै शून्य हुनु हो । यदि शून्य हुँदैन थियो भने यहाँ यो अथवा त्यो सरकार नभनौं हरेक सरकारका पालामा ओठे प्रतिबद्धता तर ध्यानचाहीं ठेकापट्टाबाट आउने लाभमा केन्द्रित हुने थिएन । ठेकेदारलाई कामै नगरी रकम निकासा गरिदिने, घूस र कमिसनमै इमान-जमान बिक्ने अवस्था रहेसम्म सिंहदरबारको उच्चासनमा बसेर प्रवचन दिँदैमा अवस्थामा सुधार आउँदैन । आउँथ्यो भने राजाका पालामा झन् नारायणहिटीबाटै एसियाली मापदण्डको कम चर्चा चलेको हो र !
यदि लोकतन्त्रमा पनि नेताले माथि उक्लेर जनतामाथि लात बर्साउन छुट हुने भए लोकतन्त्र भनेर मानिस किन मरिहत्ते गर्थे, त्यस्ता शासक त तानाशाहीमै छँदै थिए नि ।
फलानाले गरेन, उसले गर्न दिएन त्यसले गर्न दिएन भन्ने कुराहरू बहाना हुन् । मुख्य समस्या पात्रको प्रवृत्ति हो । उनीहरूलाई आफ्नो सुखसुविधा र स्वास्थ्य सेवामा राज्यको धन खर्च गर्न सत्ता चाहिएको हो । उनीहरूका लागि सत्ता अभिजात्य वर्गमा उक्लिने भर्याङ हो । यदि यस्तो होइन थियो भने एक पटक पाएको सास्ती सम्झेर अर्को पटक सास्ती नहुने ढंगले व्यवस्थापन गर्ने दिशामा अग्रसरता लिइन्थ्यो । तर, अग्रसरता लिइँदैन किनभने राज्य नायकका वरिपरि कुनै भौतिक अभाव हुँदैन, लोकको कष्ट दृश्यमान हुँदैन । प्रधानमन्त्री जहाँ जान्छन्, त्यहाँ भव्य स्वागतद्वार हुन्छन्, रातो कार्पेट ओछ्याइएको हुन्छ । जहाँ गयो त्यहीं जी हजुर, जयजयकार सुनिन्छ । त्यतिमै उनको मन रमाइरहन्छ र उनी बिर्सन्छन्, उनको यो आन-बान-शान सुनिश्चित गराइदिने नागरिकचाहीं हिलाम्मे सडकमा जुत्ता फुकालेर बल्लतल्ल घर पुगिरहेको हुन्छ ।
यस्तो हुनुका पछाडि शासकीय प्रवृत्तिमा परिवर्तन नआउनु र परिवर्तन गर्न बाध्य नपारिनु हो । शासनमा उक्लेपछि उक्लिने मानिस उसलाई त्यहाँ पुर्याउनेहरूभन्दा भिन्न देखिनुपर्छ भन्ने सामन्ती परपीडक मनोवृत्तिको निरन्तरता हो । यो मनोवृत्ति नहटेसम्म नागरिकप्रति शासकीय व्यवहार जति गरे पनि, जे गरे पनि बदलिँदैन । विदेशी पाहुना आउँदा फोहोरको थुप्रो छोपिन्छ, सडकमा कालोपत्रे पोतिन्छ, पाहुना फर्केपछि भत्किन्छ । फोहोर खुल्छ । दुर्गन्ध फैलिन्छ । पाहुना रहुन्जेल आवागमनमा बाधैबाधा, गएपछि सडक भत्किहाल्छ । फेरि उस्तै पीर, उस्तै कष्ट । दुर्गन्ध ।
अब आफैं भन्नुहोस्, शहरकै दुरवस्थाको यस परिचित्रका सामु बिमस्टेक चर्चाको के अर्थ ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४