मंगलबार, असार १७, २०८२

बर्दिबासमा डेंगुको जोखिम उच्च

बर्दिबास नगर क्षेत्रमा वडा नं १, २, ३ र ८ का उपचार लिन अस्पताल पुगेका बिरामीमा डेंगु पुष्टि भएको हो। अस्पतालको जाँचबाट डेंगु पुष्टि भएमध्ये तीन जनाको अवस्था गम्भीर पाइएपछि थप उपचारका लागि काठमाडौं पठाइएको बर्दिबास अस्पतालले जनाएको छ।
 |  मंगलबार, भदौ २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २८, २०७९

महोत्तरी- महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेंगुको जोखिममा देखिएको छ। हालसम्म बर्दिबास अस्पतालमा डेंगु संक्रमित १७ बिरामी पुगेका छन्।

यही भदौ महिनामा अस्पतालमा उपचारार्थ पुगेका बिरामीको जाँच गर्दा बर्दिबासका १३, जिल्लाकै छिमेकी नगरपालिका औरही र धनुषाको मिथिला नगरपालिका क्षेत्रका एक–एक गरी १५ जनामा डेंगु संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णा महर्जनले जानकारी दिए। यो संख्या भदौ महिना लागेपछिको हो। यसबाहेक गत साउनमा बर्दिबासकै दुई जनामा डेंगु संक्रमण पुष्टि भएको डा. महर्जनको भनाइ छ। 

बर्दिबास नगर क्षेत्रमा वडा नं १, २, ३ र ८ का उपचार लिन अस्पताल पुगेका बिरामीमा डेंगु पुष्टि भएको हो। अस्पतालको जाँचबाट डेंगु पुष्टि भएमध्ये तीन जनाको अवस्था गम्भीर पाइएपछि थप उपचारका लागि काठमाडौं पठाइएको बर्दिबास अस्पतालले जनाएको छ।

बर्दिबास नगर क्षेत्र पछिल्ला पाँच वर्षयता डेंगुको उच्च जोखिममा रहँदै आएको छ। पछिल्ला चार वर्ष फाटफुटमात्र डेंगु संक्रमित भेटिए पनि २०७४ मा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो। विसं २०७४ को साउनदेखि असोज मध्येसम्म बर्दिबास नगर क्षेत्रमा नै आठ सय ४७ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य शाखाले जनाएको छ। त्यसयताका वर्षमा केही–केही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही दिनभित्रै संक्रमितको संख्या १७ पुगेका शाखाका प्रमुख सुरेश पासवान बताए। 

पछिल्लोपटक नगर क्षेत्रमा डेंगु संगुमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखेको छ। नगरका सबै  वडामा वडाध्यक्षका संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्री बताए। डेङ्गु सङ्क्रमणको अवस्थाप्रति सबै सचेत भई यस विरुद्धका अभियानमा सरिक हुन पनि क्षत्रीले नगरवासीसँग अपिल गरे।  -रासस

प्रकाशित: Sep 13, 2022| 10:04 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्