काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट)मा सरुवा भएका डा रुद्र मरासिनीले एक सातापछि सरुवाको पत्र बुझेका छन्। ११औँ तहका डा मरासिनीले मंगलबार ट्रमा सेन्टरमा सरुवा भएको पत्र बुझेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साता नै डा मरासिनीलाई ट्रमामा प्रमुख बनाएर पठाउने निर्णय गरेको थियो। तर सेन्टरका निमित्त प्रमुख डा प्रमोद यादवले डा मरासिनीको सरुवा रोक्न प्रयास गरेका थिए। उनकै दबाबमा डा मरासिनीको पत्र मन्त्रालयले एक सातासम्म रोकेर राखेको थियो। तर मन्त्रालयले आफ्नै निर्णय कार्यान्वयन नगरेको भन्दै सर्वत्र आलोचना हुन थालेपछि मन्त्रालय डा मरासिनीलाई पठाउन बाध्य भएको हो।
डा. मरासिनीलाई यसअघि स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखामा कार्यरत थिए। निमित्त प्रमुख डा यादवले डा मरासिनी आए आफ्नो पदीय जिम्मेवारी खोसिने भएकाले आउनै नदिने खेल रचेको आरोप लाग्दै आएको छ। डा यादव सरुवा रोक्नका लागि एक सातासम्म सफल भएपनि अन्ततः उनले सोचेअनुसारको परिणाम भने ननिस्किएको हो।
मंगलबार नै मन्त्रालयले यसअघि डा मरासिनी रहेको व्यवस्थापन महाशाखाको जिम्मेवारीमा डा सर्वेन्द्र शर्मालाई पठाएको छ। ट्रमामा सरुवा भएका डा मरासिनीले पत्र बुझ्न नपाएपछि उनको पनि पत्र रोकिएको थियो।