काठमाडौं– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक संघले शनिबार राजधानीमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेकाले सरकारले पनि सोहीअनुसार प्राथमिकता दिँदै आएको उनको भनाइ छ। ‘समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण भूमिका छ। यसलाई सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ’, प्रधानमन्त्री देउवाले भने। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक स्रोत–साधनको व्यवस्थालाई सरकारले प्राथमिकतामा राख्दै आएको उनले उल्लेख गरे।
प्रधानमन्त्री देउवाले कोभिड–१९ को समय चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्यांकन गरे। सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा लैजाने काम गरिरहेको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताए। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएको उल्लेख गर्दै उनले निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न संघको महत्त्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे।
उपसभापति धनराज गुरुङले मुलुकको हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै समृद्ध नेपालको नेतृत्वका लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गरे। ‘सरकारले देशको कुल बजेटको जम्मा ५ दशमलव ७५ प्रतिशत मात्र स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएको छ। उक्त बजेट एकदमै न्यून हो’, उनले भने। नेता कोइरालाले देशलाई समृद्ध बनाउन स्वास्थ्य र शिक्षामा बजेट पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने बताए।
कांग्रेस पूर्वमहामन्त्री डा शशांक कोइरालाले दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न संघले भूमिका खेल्नुपर्ने धारणा राखे। आगामी मंसिरमा हुने निर्वाचनमा चिकित्सकलाई टिकट दिएर पार्टीले सम्मान गर्नुपर्ने उनले बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्वास्थ्य सल्लाहकार डा. आरपी विच्छाले वर्तमान सरकारले सबै नेपालीलाई खोपको सुनिश्चितता गरेर प्रशंसनीय काम गरेको सुनाए।
संघ अध्यक्ष डा. लोचन कार्की, प्रजातन्त्रवादी पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, महासचिव डा. मुक्तिराम श्रेष्ठलगायतले नेपालका हरेक आन्दोलनमा नेपालका चिकित्सकले खेलेको भूमिका महत्त्वपूर्ण रहेको दाबी गरे।