बुधबार, असार १८, २०८२

नेविसंघको 'अराजकता' बढेपछि त्रिविले माग्यो सुरक्षा

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संघठन नेविसंघका कारण असुरक्षा बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले सुरक्षा माग गरेको छ।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संघठन नेविसंघका कारण असुरक्षा बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले सुरक्षा माग गरेको छ। विभिन्न निकायमा तालाबन्दी गरेको र त्रिवि कार्यकारी परिषद बैठकबाटै महत्वपूर्ण फाइल लुटेको भन्दै त्रिविले गृह मन्त्रालयसँग सुरक्षा व्यवस्था मिलाइदिन अपिल गरेको हो।

त्रिविले नेविसंघको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी र कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक कामकारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध गर्ने कार्य गरिरहेको भन्दै गृहसँग सुरक्षा माग गरेको हो। 

‘भदौ १० गते अपरान्ह ४:३० बजे १०/१५ जनाको समूह त्रिवि कार्यकारी परिषद बैठक कक्षमा प्रवेश गरी पदाधिकारी, कार्यकारी परिषदका सदस्यहरु र कर्मचारीबाट विगतका निर्णसहितको पुस्तिका र अन्य महत्वपूर्ण कागजात र फाइल खोस्ने/कब्जा गर्ने, पदाधिकारीलाई हातपात गर्न खोज्नेजस्ता अभद्र व्यवहार गरी महत्वपूर्ण काजगात लुटी लिने कार्यप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ त्रिवि रजिस्ट्रारको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय त्रिवि उपकुलपति कार्यलयमा नेविसंघले तोडफोडसहित कुर्सीमा जुत्ताको माला लगाउने कार्य गरेको थियो। त्यस्तै बैठकमै पुगेर धम्क्याउँदै नेविसंघ कार्यकर्ताले महत्वपूर्ण कागजात जफत गरेको थियो। सो समयमा कार्यकारी परिषद्का सदस्यलाई पनि धम्क्याएको एक सदस्यले नेपाल समयलाई बताएका थिए।

नेविसंघका यस्ता गतिविधिले विश्वविद्यालयका नियमित काम प्रभावित भएको त्रिविको भनाइ छ। विश्वविद्यालय र क्याम्पस कार्यालयको आर्थिक व्यवस्थापनमा पनि अवरोध पुगेकोले त्रिविको भनाइ छ। लेखा शाखामा तालाबन्दीका कारण मुलुकभरका शिक्षक, कर्मचारीले गत असारदेखि नै तलब नपाएको त्रिविले जनाएको छ।

प्रकाशित: Aug 28, 2022| 15:24 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्