काठमाडौं- त्रिवि कार्यकारी परिषदको बैठकबाट नेविसंघले कागजपत्र नियन्त्रणमा लिएको छ। राजधानीको कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा शुक्रबार जारी बैठकबाटै नेविसंघले कागजात नियन्त्रणमा लिएको त्रिवि कार्यकारी परिषदका एक सदस्यले बताए। ती सदस्यका अनुसार नेविसंघका नेताहरुले आएर थर्काउने र धम्क्याउने गरेका थिए।
'मिटिङ चल्दै थियो। एकाएक नेविसंघका विद्यार्थी अकस्मात् भित्र छिरेर माइन्युटलगायतका कागजपत्र थुत्न थाले,' उनले भने।
नेविसंघ त्रिविका नेता श्यामराज ओझाले आफूहरूले कागजपत्र जफत गरेको स्वीकार गरे। ओझाले त्रिविले कीर्तिपुरस्थित कार्यालयमा बैठक नगरेर होटलमा बैठक गरेकोले कागजात नियन्त्रणमा लिनुपरेको बताए।
कार्यकारी परिषदका ती सदस्यले भने त्रिविमा अवरोध पुर्याइएकाले होटलमा बैठक गर्न बाध्य हुनुपरेको बताए। 'दिनभरी नाराबाजी छ। अवरोध पुर्याइरहने, बैठक हुन नदिने काम भइरहेका थिए। त्यस्तो अवस्थामा होटलमा बैठक गर्नुको विकल्प थिएन,' उनले भने, 'तर होटल पनि सुरक्षित भएन।'
त्रिवि पदाधिकारी शिक्षक तथा कर्मचारीको नयाँ तलबमान निर्धारण गर्ने, नेपाल कमर्स क्याम्पस मीनभवन पूँजीगत शीर्ष बजेट विनियोजन गर्ने सम्बन्धमालगायत ७ एजेन्डामाथि छलफल गर्न कार्यकारी परिषदको बैठक बसेको थियो।
नेविसंघले त्रिविका विभिन्न निकायमा गत असारदेखि नै तालाबन्दी गरेको छ। बैठकमा उपकुलपति, रजिष्ट्रार, रेक्टर, डिनहरूलगायत कार्यकारी परिषदका सदस्यहरू थिए।