बुधबार, जेठ ८, २०८२

बन्द प्रशिक्षणमा देखियो नेपाली फुटबलको स्पष्ट चित्र

असोज ११ गते दशरथ रंगशालामा हुने खेलका लागि एक हप्ताबाट अभ्यास भइरहेको छ। नवनियुक्त प्रशिक्षक प्रदीप हुमागाईँको नेतृत्वमा नेपाली सिनियर टिमले अभ्यास गरिरहेको छ।
 |  बिहीबार, भदौ ९, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– नेपालमा शीर्ष डिभिजनको फुटबल नभएको धेरै भइसक्यो। सुपर लिग पनि आयोजना हुन सकेको छैन। खेल नभएर त्यसै बस्नु परेपछि फुटबल खेलाडीले आवाज उठाउँदै आइरहेका छन्। घरेलु फुटबल नभए पनि राष्ट्रिय फुटबल टिमलाई पुनः गति दिनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशसँग मैत्रीपूर्ण फुटबलको आयोजना गरेको छ।

असोज ११ गते दशरथ रंगशालामा हुने खेलका लागि एक हप्ताबाट अभ्यास भइरहेको छ। नवनियुक्त प्रशिक्षक प्रदीप हुमागाईँको नेतृत्वमा नेपाली सिनियर टिमले अभ्यास गरिरहेको छ। ‘हप्ता दिन भयो, अभ्यास ठिक तरिकाले अघि बढिरहेको छ। देशको फुटबल प्रणलीअनुसार जसरी फुटबल अभ्यास गराउनु पर्ने हो त्यहि अनुसारको अभ्यास गराइरहेका छौं,’ बुधबार अभ्यासका दौरान सहायक प्रशिक्षक युगल किशोर राईले भने।

त्यसो त सुरुआती दिनको भएका कारण अहिले फिटनेसमै नेपाली टिमको अभ्यास केन्द्रित रहेको छ। र, खेलाडीको फिटनेसमा सुधार आइरहेको देखेका छन् प्रशिक्षक राईले।

‘फिटनेससँगै अब खेलका दिनसम्ममा तीन चरणमा अभ्यास सम्पन्न गर्ने योजना छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘खेलाडीमा इम्प्रुभमेन्ट भइरहेको देखिन्छ। शीर्ष डिभिजन फुटबल नभएकोले धेरै ग्याप भयो। त्यसको बाबजुद खेलाडीहरुले मेहनत गरिरहेका छन्।

असोज ११ गते दशरथ रंगशालामा हुने खेलका लागि एक हप्ताबाट अभ्यास भइरहेको छ। नवनियुक्त प्रशिक्षक प्रदीप हुमागाईँको नेतृत्वमा नेपाली सिनियर टिमले अभ्यास गरिरहेको छ।

असोज ११ गतेको खेलका लागि अभ्यासको पहिलो फेज सकिएको छ। अबको दुई हप्ता दोस्रो फेज हुन्छ भने खेलाडी छनोट अन्तिममा फेज हुन्छ। अनि नेपाली टिमले अन्तिमको फेजमा अभ्यास घटाउँदै लाने प्रशिक्षक बताउँछन्।

नेपाली टिमका कप्तान किराण कुमार लिम्बू चाहिँ बुधबार मात्र नेपाल आइपुगे। पहिलो दिन अनौपचारिक रुपमा टिममेटसँग कुरा गरेका लिम्बूले पनि बुधबारबाट अभ्यास सुरु गरेका छन्। त्यसैले उनलाई प्रशिक्षकको अभ्यास शैलीबारे धेरै थाहा छैन।

तर सिनियर खेलाडी सुलज श्रेष्ठ नियमित अभ्यासमा रहेका छन्। ‘प्रशिक्षक र म्यानेजर नयाँ नै हुनुहुन्छ। टिमको पूरा व्यवस्थापन नै फेरिएको छ। टिममा फेरबदल हुनुले नयाँ आगमनको पनि संकेत गरिरहेको हुन्छ नयाँ सिक्न पाइरहेका छौं,’ श्रेष्ठले भने।

तर अहिले नयाँ प्रशिक्षकको खेलाडी छनोटको मापदण्ड स्पष्ट भने छैन। किनभने घरेलु प्रतियोगिता नै छैन। खेलाडी छिमेकी देशको लोकल फुटबल खेल्न गएका छन्। ‘अहिले नेपालमा फुटबल भइरहेको छैन। सिक्किममा गएर खेल हेर्ने कुरा त भएन। हामीले पहिलेको खेलबाट नै छनोट गरेको हो। चालिस खेलाडी छनोट गरेका छौं। त्यहाँबाटै हामी राष्ट्रिय टिम निर्माण गर्नेछौं,’ प्रशिक्षक राईले भने।

अब खेलाडीको छनोट कसरी होला त? राईको जवाफ छ, ‘सिनियर टिममा जसले फाइट गर्न सक्छ त्यो चुनिन्छ। मेरो र हेड कोचको फिलोसोफी म्याच भएका खेलाडी हामीले छान्नेछौं। पहिले बाहिरिएका १०–११ खेलाडीको कुरा हो भने खेलाडीलाई लिएर सम्झौता हुँदैन।’
राष्ट्रिय टिममा फर्किन पाउँदाको खुसी
अभ्यासको समयमा चुस्त व्यवस्थापन माग गर्दा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमबाट नै निकालेका खेलाडी केही खेलको ग्यापपछि राष्ट्रिय टिममा फर्किएका छन्। उनीहरु एसिया कपको छनोटमा राष्ट्रिय टिमबाट बाहिरिएका थिए। यसलाई कमब्याक भन्दा पनि नयाँ टिमसँग नयाँ सुरुआत भन्न रुचाउँछन्, सुजल।

उनले भने, ‘राम्रो खेल्दाखेल्दै पनि कति खेलाडी निस्कनु परेको अवस्था थियो। त्यो पाटोलाई बिर्सेर अघि बढ्नुपर्छ भन्ने लागेको छ। त्यसैले यसलाई कमब्याक भन्दा पनि नयाँ प्रशिक्षकसँग नयाँ सुरुआतको रुपमा लिनुपर्छ भन्ने लागेको छ।’

तर किरणचाहिँ त्यो समयलाई १४ वर्षपछिको आरामको रुपमा व्याख्या गर्छन्। किरण भन्छन्, ‘त्यो भनेको छोटो समयका लागि रेस्ट पनि थियो। रेस्ट पूरा भएको छ। र टिममा फर्किएका छौँ। १४ वर्ष रेस्ट पाएको थिएन। त्यो सकिएपछि ब्याक भएको छु। नर्मल नै छ।’

पूर्व प्रशिक्षक अलमुताइरी र कप्तान लिम्बू।
अहिले उनी खुसी छन्। किनभने एउटा खेलाडीका लागि राष्ट्रिय टिममा फर्किन पाउनुले अर्थ राख्छ। अब बंगलादेशसँग खेल्दा चाहिँ नयाँ तरिकाले जाउँ भन्ने सोचिरहेको सुजलले बताएका छन्। उनले भने, ‘लामो समयपछि हामी टिममा फर्किँदा खुसी लागेको छ। हामी ११ जनाले चाहिँ पहिलेको कुरा बिर्सिएर नेपाली टिम मजुबत बनाउनका लागि सहयोग गरिरहेका छौं।’

अहिले नेपाली टिममा पुराना धेरै खेलाडी निरन्तर रहे पनि आवास लामिछाने र रितिक कुमार खड्काजस्ता युवा खेलाडी पनि छन्। त्यसो त अब नयाँ, पुराना वा फर्किएको खेलाडी भन्नुको तुक छैन। जे भए पनि नेपाली टिम हो। ‘अब एउटा टिम भएर देशको प्रतिनिधित्व गरिसकेपछि नयाँ–पुरानो भन्दा पनि जित हाम्रो लक्ष्य हुनेछ। तर खेलमा हारजित भइहाल्छ,’ किरणले टिमलाई प्रोत्साहन गर्दै भने, ‘सबै मिलेर देशको लागि फाइट गर्ने नै हो।’

प्रशिक्षकलाई पनि दबाब, खेलाडीलाई पनि
अलमुताइरीले टिम सम्हालेपछि नेपाली फुटबल सुधारिएको भन्दै चर्चा भएको थियो। खेलाडीको प्रदर्शन सुधारिएको भनेर उनको प्रशंसा पनि भयो। प्रशिक्षक फेरिएपछि राष्ट्रिय टिमको गुणस्तर कायम राख्नका लागि नयाँ प्रशिक्षकलाई दबाब हुनेछ।

दबाब कतिको छ त? ‘पहिलेको कुरा सोचेर बस्यौँ  भने त काम गर्न सकिँदैन नि! हाम्रो पनि आफ्नै फिलोसोफी हुन्छ,’ सहायक प्रशिक्षक राईको जवाफ छ, ‘हामी आफ्नो तरिकाले काम गर्नेछौं। हेरौँ सबैकुरा ठिक तरिकाले अघि जानेछ। उहाँ राम्रो प्रशिक्षक भएकोमा त शंका नै छैन।’

त्यस्तै राष्ट्रिय टिममा जुनियर खेलाडीको प्रदर्शनलाई पनि केहि फुटबल समर्थकले तारिफ गरेका छन्। उनीहरुले कुवेतविरुद्ध गोल पनि गरिसकेका छन्। यू २० साफकै बेलामा त्यो टिमबाट सिनियर टिममा खेलाडी ल्याउनेबारे प्रशिक्षक अलमुताइरी बोल्दै थिए। अनि निरन्तर प्रशिक्षक अलमुताइरीले नयाँ खेलाडी नेपालको भविष्य भएको बताइरहेका छन्।

यसले सिनियर खेलाडीलाई कति दबाब बढाइरहेको छ त? जवाफमा सुजल भन्छन्, ‘हामी टिममा पर्नैपर्छ भनेर आएको होइन। जसले राम्रो खेल्छ त्यो खेलाडी टिममा पर्नुपर्छ भन्ने लागेको छ। जुनियर–सिनियर भन्ने हुँदैन। जसले धेरै मिहिनेत गर्छ त्यो खेलाडी नै टिममा पर्छ। दबाब त राष्ट्रिय टिममा धेरै हुन्छ। सधैं नै हुन्छ। हामी मेहेनेत गर्नका लागि नै टिममा छौं।’

प्रशिक्षकले ‘ह्यामपर’ गरे
यता नेपाली टिमका मुख्य प्रशिक्षक अलमुताइरीलाई प्रश्न नगरिएको बारे कप्तान किरणकुमार लिम्बूले मिडियासामु गुनासो पोखेका छन्। उनले प्रशिक्षकले इगोकै कारण आफू र बाँकी खेलाडीलाई टिमबाट निकालेको आरोप पनि लगाए। किरण टिमबाट बाहिरिएपछि सार्वजनिक रुपमा बोलेका छैनन् र मडियासँग पनि कुरा गरेका थिएनन्।

त्यस विषयमा बुधबार किरणले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘कारण विना एकैपटक खेलाडी निकालिए। यो विषयमा मिडियाले पनि प्रशिक्षकलाई प्रश्न गर्न सकेन कि ह्वाइ किरण आउट भनेर।’

उनले थपे, ‘हामी नेपालको लागि खेल्ने हो। उहाँ अर्कै देशबाट आएको हो, उहाँले फुटबल विकासका लागि केही गर्नुपर्ने थियो होला। तर, टिम नै बिगार्नु चाहिँ हुँदैन थियो। त्यसमाथि मेरो प्रसंगमा त सबैभन्दा खराब निर्णय नै थियो।’ उनले त्यस विषयमा प्रश्न आउला भन्ने लागेको तर नआएको पनि बताएका छन्। ‘आएन, नराम्रो लाग्यो। प्रशिक्षकले ह्याम्पर तगर्नुभएको थियो तर प्रश्नचाहिँ आएन भन्ने लागेको हो,’ उनले भने, ‘राष्ट्रिय टिमबाट हामीले देशका लागि खेल्ने हो र झण्डाका लागि लड्ने हो। नयाँ र कमब्याक भएका पुरानो खेलाडीहरु आउँदाखेरी देशका देशलाई नै राम्रो नतिजा दिनका लागि खेल्ने हो।’

नेपाली प्रशिक्षकलाई अवसर
अहिले नेपाली टिमका मुख्य प्रशिक्षक हुमागाईँलाई लिएर विभिन्न कुरा बाहिर आइरहेका छन्। अमेरिकी नागरिक बनिसकेका हुमागईँ नेपाली हुन् कि अमेरिकी? यो प्रश्नमा उनले आफूलाई जे भने पनि हुने बताएका छन्। उनी हुन् नेपाली मूलका अमेरिकी। तर चर्चा चाहिँ नेपाली प्रशिक्षकलाई राष्ट्रिय टिम जिम्मा दिएको भनेर भइरहेको छ।

उनी अमेरिकी भए पनि नेपाली प्रशिक्षक युगल किशोरले राष्ट्रिय टिमको सहायक प्रशिक्षण गराउँदै छन्। यसरी नेपाली प्रशिक्षकलाई अवसर दिनु राम्रो मान्छन् सिनियर खेलाडी सुजल। उनी भन्छन्, ‘घरेलु प्रशिक्षकलाई एक्सपोजर लियो भनेचाहिँ भोलि राम्रो प्रशिक्षक हुन सहयोग गर्छ भन्ने लागेको छ।’

अहिलेका प्रशिक्षकका लागि बंगलादेशविरुद्धको खेल पहिलो अन्तर्राष्ट्रिय खेलसमेत हो। ‘नेपालमा नै सक्षम प्रशिक्षकहरु हुनुहुन्छ। उहाँहरुले अवसर पाउनु भएको छैन यो समय प्रशिक्षकका लागि एक्सपोजरको अवसर पनि हो,’ किरणले भने, ‘हाम्रो टिममा विदेशमा अनुबन्ध हुनसक्ने खेलाडी छन् भने प्रशिक्षक विदेश जाने अवस्था पनि बनोस् भन्ने चाहन्छु।’

राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक युगलकिशोर राई र गोलकिपिङ प्रशिक्षक विनोद डंगोल।
त्यसो त राष्ट्रिय टिममा जानुअघि पर्याप्त अनुभव बटुल्ने शीर्ष डिभिजन लिगबाट हो। लिग समयमा नभएपछि राष्ट्रिय टिमका मैत्रीपूर्ण खेलमै प्रशिक्षकले आफू पनि अभ्यास गर्ने मौका पाउँछन्। त्यसलाई सकारात्मक रुपमा किरण यसरी व्याख्या गर्छन्, ‘जति काम गर्यो त्यति नै ट्यालेन्ट हुँदै जाँदै हो नि। नेपालका प्रशिक्षक पनि विदेशमा जान सकुन्। आई लिगमा भुटानबाट पनि एक प्रशिक्षक थिए, नेपालबाट चाहिँ किन नहुने?’

यता प्रशिक्षक राईले राष्ट्रिय टिममा अवसर पाउनु ठूलो उपलब्धि भएको मानेका छन्। उनले भने, ‘नेपाली टिमको लागि प्रशिक्षण गर्न पाउनु नै मेरो लागि ठूलो कुरा हो। अहिलेको समयमा नेपाली प्रशिक्षकलाई पनि एन्फाले अवसर प्रदान गरिरहेको छ। हामीले प्रशिक्षणमा फड्को मारेको भर्खरै मात्र हो। १० वर्षअघि सी लाइसेन्स गर्ने दुई–चार जना मात्र थिए। यो कुरा एन्फाका पदाधिकारीले जानकारी राख्नुपर्छ। हामी चाहिँ भर्खरै आइरहेको हो।’

प्रशिक्षक राईले नेपाली टिमबाट पनि एक खेल खेलेका थिए। उनलाई खेल्दा र प्रशिक्षण गर्दा उस्तै लागेको छ। उनले भने, ‘भावना एउटै अनि जर्सी एकै हुन्छ। राष्ट्रगानको भावना एकै हुन्छ।’ राष्ट्रिय टिममा पाएको अवसरमा धेरै कुरा सिक्नुपर्छ भन्ने लाग्छ राईलाई।

घरेलु फटबलमा संरचना नै छैन
अहिले नेपाली खलाडी बाहिर गएर खेल्नु परिरहेको छ। नेपाली खेलाडीले देशमा अवसर नपाएर विदेशमा खेल्न बाध्य भइरहेका छन्। किरण कुमार लिम्बू र रोहित चन्दले झैँ खेले त ठिकै हो। सिक्किमको लोकल प्रतिस्पर्धा खेल्न जानुको पीडा खेलाडीबाहेक सायदै कसैले बुझ्ला।

‘बीचमा खेल नभएपछि खेलाडी खेपमा गएका थिए। नेपालमा प्रतियोगिता नभएर नै हो। अहिले खेलाडीलाई सजिलो छैन तर यसरी घरेलु प्रतियोगिता नहुने हो भने पछि गएर खेलाडीलाई गाह्रो हुन्छ,’ सुजलले भनेका छन्।

नेपालमा वर्षभरिको फुटबल क्यालेन्डर बने पनि खेलाउने ठाउँको अभाव छ। किनभने वर्षैभरि फुटबलको रुटिन बनाए पनि त्यसका लागि पूर्वाधार छैन। भएको एउटा दशरथ रंगशाला त हो। ‘हामीसँग भएको पनि त्यो एउटा रंगशाला मात्र न हो,’ किरण घरेलु फुटबलबारे टिप्पणी गर्छन्, ‘यो चीजले अवश्य नै हाम्रो अवस्था देखाउँछ। यी कुराहरुले सरकारदेखि प्रदेशले बुझ्नुपर्छ अनि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने लागेको छ। यो विषयमा योजना बनाएर अघि बढ्न सकिए खेलाडीका लागि अझै राम्रो हुन्छ भन्ने लागेको छ।’

यदि खेलका भेन्यू धेरै बनाउन सकियो भने विभिन्न ठाउँमा गएर भए पनि घरेलु फुटबल बचाउन सकिने किरणको तर्क छ। अब नेपालले बंगलादेशसँग खेल्दैछ, त्यो खेलपछि चाहिँ रोकिएको फुटबल पुनः सुरु हुन्छ भन्ने लागेको छ नेपाली खेलाडीलाई।

प्रकाशित: Aug 25, 2022| 10:47 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।