काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बिमा कार्यक्रमका विषयमा पछिल्लो विवाद चाँडै समाधान हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बिमा सम्बन्धी कार्यक्रममा मन्त्री खापुङले यस्तो बताएका हुन्।
चालू आर्थिक वर्षको बजेट वक्तव्यले निजी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नदिने उल्लेख गरेपछि यसको चौतर्फी विरोध भएको भन्दै मन्त्री खापुङले यसको पुनर्विचारबारे मन्त्रिपरिषद्मा छलफल भइरहेको उनले जानकारी दिए।
'बिमा ऐनले स्वास्थ्य बिमा बोर्डलाई स्वतन्त्र रुपमा व्याख्या गरेको छ। तर बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालबाट मात्रै सञ्चालन गर्ने उल्लेख गरेपछि धेरै तिरबाट विरोध भएको छ,' मन्त्री खापुङले भने, 'स्वास्थ बिमाको आफ्नै ऐन छ। बजेट वक्तव्य पास भइसककाले यस्तो अवस्थामा कसरी सजिलो बनाउने भनेर क्याबिनेटमा छलफल भइरहेको छ। हामी चाँडै टुंगोमा पुग्छौं।’
स्वास्थ्य बिमाको विषयमा संसदमा पनि धेरैपटक कुरा उठिसकेको बताउँदै मन्त्री खापुङले यसबारेमा धेरै कुरा स्पष्ट भइसकेको बताउँदै बिमाको समस्या समाधानको लागि स्वास्थ्य राज्यमन्त्रीको संयोजकत्वमा कार्यदल गठन भएको बताए। कार्यक्रममा बोल्दै मन्त्री खापुङले स्वास्थ्य बिमा बोर्ड स्वतन्त्र भएकाले आवश्यक जनशक्तिको व्यवस्थापन गर्न आग्रह गर्दै बोर्डलाई आवश्यक पर्ने सहयोगका लागि मन्त्रालय तयार रहेको बताए।