काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २६३ कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये २६३ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३४ पुगेको छ।
यस्तै शनिबार कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई पाँच सय एक जना घर फर्किएका छन्। मन्त्रालयका अनुसार शनिबार कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ। अहिलेसम्म ११ हजार नौ सय ८६ को सङ्क्रमणबाट निधन भएको छ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला मोरङ रहेको छ। सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, दार्चुला र हुम्ला रहेका छन्।
मन्त्रालयका अनुसार होम आइसोलेसनमा पाँच हजार दुई सय २८, संस्थागत आइसोलेसनमा दुई सय छ, सघन उपचार कक्ष (आइसियु)मा ६१ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा एक लाख २७ हजार तीन सय २१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।