काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
कोरोनाबाट साउन १ गतेदेखि २७ गतेसम्म ३२ जनाले ज्यान गुमाइसकेका छन्। शुक्रबार ४ हजार ७१२ जनाको परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको छ। सोही समयमा दुई संक्रमित ज्यान गुमाएका छन्।
पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट मृत्यु भएकोमा ७३ दिनपछि साउन १ गते कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएको थियो। साउन २६ गते सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ।
मृत्यु भएका व्यक्ति दीर्घरोगी, ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मृत्यु हुने ६ जनाले मात्र खोप लगाएको पाइएको मन्त्रालयको भनाइ छ। मृत्यु हुने एक जना २१ वर्षीय मिर्गौला प्रत्यारोपण गराएका व्यक्ति रहेको र अरु ५० माथिका रहेको मन्त्रालयका प्रवक्ता डा. अमीरकुमार अधिकारीले बताए।
खोप नलगाएकालाई कोरोनाको उच्च जोखिम रहेकाले खोप नलगाएका सबैलाई खोप लगाउन मन्त्रालयको अनुरोध छ।
खोप लगाएको व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई कोभिडको संक्रमण भएमा सिकिस्त बिरामी हुने वा मृत्यु हुने सम्भावना १० गुणा बढी रहने मन्त्रालयको भनाइ छ।
हालसम्म कुल जनसंख्याको २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ७५.१ प्रतिशतले एक मात्रा र ७०.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्।
त्यसैगरी लक्षित जनसंख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१९ मध्ये ९३.९ प्रतिशतले एक मात्रा र ८८.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्।
बुस्टर मात्राको खोप भने ७४ लाख ११ हजार ८८९ जनाले लगाएका छन्। नेपालले हालसम्म कुल ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप भित्रिएको छ। खोप अभियान सुरु भएदेखि ४ करोड ९९ लाख ७५ हजार ९२९ खोप मात्रा प्रयोग भइसकेको मन्त्रालयले जनाएको छ।