शनिबार, असार २१, २०८२

२७ दिनमा ३२ जना कोरोना संक्रमितको मृत्यु

पछिल्ला केही साता कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। साउन १ देखि २७ गतेसम्म ३२ जना संक्रमितको मृत्यु भएको छ। आज शुक्रबारमात्रै २ जना संक्रमितको मृत्यु भएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं– पछिल्ला केही साता कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। साउन १ देखि २७ गतेसम्म ३२ जना संक्रमितको मृत्यु भएको छ। आज शुक्रबारमात्रै २ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो पटक गत वैशाख २१ गते कोरोना संक्रमणबाट मृत्यु भएकोमा ७३ दिनपछि साउन १ गते कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको थियो। साउन २६ गते सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको तथ्यांक छ।

अहिले मृत्यु भएकाहरु दीर्घरोगी, ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुने ६ जनाले मात्र खोप लगाएको पाइएको छ। खोप नलगाएकालाई कोभिडको उच्च जोखिम हुने भएकाले सबैलाई खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ।

हालसम्म कुल जनसंख्याको २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ७५.१ प्रतिशतले एक मात्रा र ७०.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्। त्यसैगरी लक्षित जनसंख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१९ मध्ये ९३.९ प्रतिशतले एक मात्रा र ८८.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्।

बुस्टर मात्राको खोप भने ७४ लाख ११ हजार ८८९ जनाले लगाएको तथ्यांक छ। नेपालमा हालसम्म ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप भित्रिएको छ। खोप अभियान सुरु भएदेखि ४ करोड ९९ लाख ७५ हजार ९२९ खोप मात्रा प्रयोग भइसकेको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Aug 12, 2022| 18:51 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्