बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • इन्द्रधाराको सपनाले बनायो लो मान्थाङमा विश्वकै उचाइको गल्फ कोर्स

इन्द्रधाराको सपनाले बनायो लो मान्थाङमा विश्वकै उचाइको गल्फ कोर्स

अहिले नेपालमा सात वटा आधिकारिक गल्फ कोर्स छन्। त्यसैमा थपिँदै छ, मुस्ताङ गल्फ कोर्स।
 |  मंगलबार, साउन २४, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, साउन २४, २०७९

काठमाडौं– पहिले–पहिले नेपालमा गल्फको प्रभाव खासै थिएन। विस्तारै बढ्दै गएको गल्फ खेल पछिल्लो समय आइपुग्दा वर्षको आधा दर्जन बढी राष्ट्रिय स्तरका प्रतियोगिता हुन थालिसकेका छन्।

त्यति मात्र होइन, दक्षिण एसियाली खेलकुदमा पदक ल्याउनेदेखि एसियाली खेलमा सहभागी बन्नेसम्म भइसकेका छन्, नेपाली गल्फर।

अहिले नेपालमा सात वटा आधिकारिक गल्फ कोर्स छन्। त्यसैमा थपिँदै छ, मुस्ताङ गल्फ कोर्स। चिनियाँ स्वायत्त राज्य तिब्बतसँग जोडिएको लो मान्थाङ गाउँपालिकामा बनाइएको नयाँ गल्फ कार्स हो, यो। यो गल्फ कोर्समा आगामी ११ भदौमा पहिलो पटक ९ होलको गल्फ प्रतियोगिता आयोजना गरिँदै छ। यसलाई नाम दिइएको छ– टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज।

गल्फ कोर्स निर्माण गर्दै गण्डकीलाई विश्वमा चिनाउने अभियानमा अघि बढेका छन्, त्यहाँका प्रदेश सांसद इन्द्रधारा विष्ट। लो मान्थाङमा गल्फ कोर्स स्थापना विष्टको ठूलो सपना हो, जब उनी केही समयअघि अमेरिकाको एरिजोना पुगेका थिए। 

२०७४ मा गण्डकी प्रदेशसभाको सांसद बनेका विष्टले एरिजोनामा समृद्ध अमेरिकी गल्फ खेलिरहेको देखे। ‘असिना परेजस्तै गल्फका बल अकासमा चहलपहल उडिरहेका थिए। खुबै रमाइलो लाग्यो, मलाई। त्यहाँ एकै रिसोर्टमा ४–५ वटासम्म गल्फ कोर्स थिए,’ विष्टले आफ्नो सपना सुनाउँदै भने।

उनले अमेरिकामा गल्फले पर्यटन विकासमा पारेको प्रभाव पनि मूल्यांकन गरेका थिए। त्यहाँबाट लोभिएका उनले गण्डकी फर्किएर त्यस्तै ठाउँको खोजी गरिरहे।

लो मान्थाङ बजारभन्दा १२ किमिमाथि एउटा फाँट भेटियो। उतिबेला त्यो चरन क्षेत्रका रूपमा प्रयोग गरिँदै आएको थियो। केही समयअघिसम्म पनि त्यो चरन क्षेत्रै थियो। तर अहिले धेरै मानिस बिदेसिए, सहर पसे। भएकाले पनि पशुपालनमा ध्यान दिनै छाडिदिए।

त्यसैले विष्टले निधो गरे, यसलाई गल्फ कोर्स बनाउनुपर्छ। त्यसका लागि उनले छोटो बाटो रोजेका छन्। भन्छन्, ‘हाम्रो ठाउँ दुर्गम छ। जग्गा प्राप्ति प्रक्रियाबाट गएनौं। गाउँपालिकामा पनि त्यसरी नै बिल्डिङ बनायौं। चलिरहेको छ। हामीले दुर्गमको हिसाबले गर्यौं भने जे पनि हुन्छ। कानुनी प्रक्रियामा लाग्न थाले आफैं सांसद भएर पनि मेरो क्षमताले काम गर्न भ्याउँदैन।’

त्यसका लागि धेरै कानुनी प्रक्रिया नहेरेको पनि उनले बताए। लो मान्थाङ, जहाँ गल्फ कोर्स बनिरहेको छ, त्यहाँबाट धेरै काम गर्न सकिने नेपाल पर्वतीय खेलकुद महासंघ अध्यक्ष गोविन्द भट्टराई बताउँछन्। उनलाई लाग्छ, यसलाई स्पोर्टस कम्प्लेक्स बनाउन सकिन्छ।

‘त्यहाँ गल्फ मात्र हुँदैन। ४००० मिटरबाट सुरु भएर ४००० हजार ८०० मिटरसम्मका खेल समावेश हुन्छन्। स्पोर्टस् कम्प्लेक्स हुनेछ। त्यहाँ निकै विविधता भरिएको ठाउँ छ। पर्यटकलाई भुल्याउने नेपालको अब दशकको गन्तव्य हुनेछ,’ भट्टराईले भने।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट। उनकै पहलमा गल्फ कोर्स निर्माण भएको हो।
त्यहाँ जाने बाटोले डोल्पा जोड्ने भएपछि दुवै जिल्लाका नागरिक खुसी छन्। तीन अवधारणाले त्यो बाटो बनाइएको सांसद विष्टले बताए। उनले भने, ‘त्यसमध्येको तेस्रो हो, ध्याँगा ताल। हामीले तिलिचो ताललाई विश्वको सबैभन्दा उचाइमा भएको मानिरहका छौं। तर यो ताल विश्वकै उचाइमा भएको हुन सक्छ। त्यो तालको उचाइ अहिलेसम्म नापिएको छैन।’

गल्फ कोर्सबाट करिब डेढ घन्टे उकालो लाग्ने हो भने ध्याँगा ताल पुगिन्छ। त्यस्तै, यो गल्फ कोर्सलाई ब्रह्मपुत्र, दामोदर कुण्ड र मुक्तिनाथसँगै जोड्न सकियो भने पर्यटकको कमी नहुने अध्यक्ष भट्टराईको बुझाइ छ।

लो मान्थाङको यो फाँट तीन वर्गकिमि क्षेत्रफलभित्र समेटिएको छ। त्यति मात्र होइन, अर्को लोआथाङ भन्ने फाँट पनि नजिकै छ। लोआथाङ झनै चार किमिमा फैलिएको छ। ‘हामीले त्यहाँ १८ होलको गल्फ कोर्स बनाउने विचार गरिरहेका छौं,’ विष्टले भने।

यो गल्फ कोर्स बनेपछि विश्वकै ध्यान यता तानिनेछ किनभने यो विश्वकै अग्लो स्थानमा बनाइएको हुनेछ। अहिले सिक्किमको याक गल्फ कोर्स विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको मानिएको छ। तर याक ३,९७० मिटर उचाइमा छ। मुस्ताङको कोर्स ४,६७५ मिटरमा छ। त्यसैले यो विश्व रेकर्ड बन्नेछ।

त्यहाँ जाने बाटोले डोल्पा जोड्ने भएपछि दुवै जिल्लाका नागरिक खुसी छन्। तीन अवधारणाले त्यो बाटो बनाइएको सांसद विष्टले बताए।

‘यसलाई अध्ययन गर्ने क्रममा मैले गल्फ खेल्न सिकें। धरान, काठमाडौं, पोखरा सबै ठाउँको गल्फ कोर्समा खेलिसकेको छु,’ विष्टले अनुभव सुनाउँदै भने, ‘मलाई लाग्छ, मुस्ताङको कोर्स उत्कृष्ट हो। त्यहाँको घाँस पनि हरियो र उपयुक्त छ। नेपालको सातमध्ये बेस्ट हो, गल्फ कोर्ष। तर यसलाई कस्तो बनाउने भन्ने हाम्रो हातमै छ।’

यही कुरालाई प्रचार गर्न आउँदो ११ भदौमा लोमान्थाङ युवा क्लबले गल्फ प्रतियोगिता आयोजना गर्दै छ।

गल्फ कोर्स निर्माणबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलन।
यसबाट विष्ट र स्थानीयले दिन चाहेको सन्देश के भने जसरी सगरमाथा चढौं भन्ने लाग्छ। त्यसरी नै गल्फरलाई मुस्ताङमा रहेको गल्फ कोर्समा खेल्नुपर्छ भन्ने लाग्नुपर्छ। यहाँ खेल्ने सपना धेरैलाई हुनुपर्छ। ‘मलाई आश छ, सफल हुनेछ। सबैको सहयोग अहिलेसम्म मिलिरहेको छ,’ विष्टले भने।

विष्टका अनुसार यो कोर्स सामुदायिक रूपमै रहनेछ। उनले सोचेका छन्, त्यहाँ एउटा सामुदायिक रिसोर्ट बनाइनेछ। १०० जना मानिसबाट ५–५ लाखका दरले रकम जम्मा गरेर ५ करोडको लागतमा रिसोर्ट बनाउने उनको लक्ष्य छ। यो रिसोर्टले धेरै स्थानीयलाई रोजगारी दिनेछ।

त्यसका लागि सरकारले पनि लगानी गरिरहेको छ। सांसद विकास कोषबाट विष्टले त्यहाँ धेरै रकम ल्याएका छन्। अब कोर्ससम्मै गाडीमा जान सकिन्छ।

गल्फलाई समुदायमै राख्ने भनेपछि अहिले लोमान्थाङ युवा क्लबले कोर्स र प्रतियोगिता व्यवस्थापन गरिरहेको छ। ‘युवाहरूको सहभागितामै कोर्स बनाइरहेको हो। कार्यक्रमका लागि गाउँपालिकाले सहयोग गरिरहेको छ। मलाई लाग्छ, यो डलर दिने सम्पत्ति हो। यसको आधिकारिक ‘वनर’ हामीले पछि खोज्नेछौं,’ विष्टले भने।

तर अहिले सार्वजनिक रूपमा रहेको कोर्समा सही व्यवस्थापन नभए लगानी खेर जाने सम्भावना रहनेबारे उनी भन्छन्, ‘त्यहाँ खेर जाँदैन किनभने हामीले राष्ट्रिय सम्पत्ति बनाइरहेको हो। मेरो स्वास्थ्य र समयले साथ दिएन भने बेग्लै कुरा। यसलाई सफल पारेरै छाड्छौं।’

केही समयअघि परीक्षणका लागि खेल हुँदा विष्टसमेत खेलेका थिए। त्यसैले उनलाई लागेको छ, यो एक नम्बर कोर्स बन्नेछ। त्यसैको हिम्मतले उनले ठूला प्रतियोगिता आँटे अनि नेपाल गल्फ संघको सम्पर्कमा पुगे। ‘मेरो हिसाबले परीक्षण सफल भएको छ। अब पहिलो प्रतियोगिता आउँदो ११ भदौमा हुँदै छ,’ विष्टले भने।

प्रकाशित: Aug 09, 2022| 17:19 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।