काठमाडौं- शनिबार छ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
योसँगै हाल सक्रिय संक्रमितको संख्या पाँच हजार छ सय ४१ पुगेको छ। यस अवधिमा चार सय ४४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नौ लाख ७२ हजार ६४ जना संक्रमणमुक्त भएका छन्। यस्तै शनिबार कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ। यससँगै अहिलेसम्म ११ हजार नौ सय ७१ जनाको संक्रमणबाट निधन भएको छ।
पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला मोरङ र कास्की रहेका छन्। संक्रमित शून्य भएका जिल्ला मनाङ, कालिकोट र हुम्ला रहेका छन्।
यस्तै होम आइसोलेसनमा पाँच हजार चार सय ७१, संस्थागत आइसोलेसनमा एक सय ७०, सघन उपचारकक्ष (आइसीयू)मा ४६ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा २० हजार छ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।