काठमाडौं– नर्भिक अस्पतालले यही शनिबार युरोलोजीको निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ। अस्पतालले विशेष अभियानअन्तर्गत विशेषज्ञसहितको दुई युरोलोजी टोलीबाट ओपीडी सेवा सञ्चालन गर्ने भएको हो।
नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टोली र बिहान ९ बजेदेखि साढे १० बजेसम्म अर्को टोली परिचालन गरी युरोलोजीको ओपीडी सेवा सञ्चालन गर्न लागेको हो।
युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त विष्ट र सुनिल श्रेष्ठ नेतृत्वको टोलीले प्रोस्टेट ग्रन्थिसम्बन्धी सबै किसिमका बिरामीलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्ने अस्पतालको भनाइ छ। मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेट ग्रन्थिको शल्यक्रिया समेत गरिने अस्पतालले बताएको छ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको व्यवस्था समेत रहेको अस्पतालले जानकारी दिएको छ ।
त्यस्तै ९ बजेदेखि साढे १० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्राडा रविन जोशी र इशान मल्ल नेतृत्वको टोलीले निःशुल्क ओपीडी सेवा दिनेछ । मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीले सो ओपीडीबाट लाभ लिन सक्ने अस्पतालको भनाइ छ।