काठमाडौं- बागमती प्रदेशका क्यान्सर रोग लागेका बालबालिकाले अब कान्ति बाल अस्पतालमा डेढ लाख रुपैयाँसम्मको उपचार निःशुल्क पाउने भएका छन्।
बागमती प्रदेश सरकार र अस्पतालबीच सम्झौता भएअनुसार बागमतीका क्यान्सर पीडित बालबालिकाले डेढ लाख रुपैयाँसम्मको उपचार निःशुल्क पाउने भएका हुन्।
हेटौंडास्थित स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. युवानिधी बसौला र मन्त्रालयका नीति योजना महाशाखा प्रमुख दीपक तिवारीबीच सम्झौता भएको छ।
यसअघि संघीय सरकारले उपलब्ध गराएको एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क प्राप्त हुँदै आएकोमा अब प्रदेशका क्यान्सर पीडित बालबालिकालाई थप ५० हजार रुपैयाँ उपचार सुविधा उपलब्ध गराउने सम्झौता भएको छ। साउन १ गते देखिनै लागु हुने गरी सम्झौता भएको अस्पतालका निर्देशक डा. युवानीधि बसौलाले बताए।