काठमाडौं- स्वास्थ्यखबर पत्रिकाले कोभिडको समयमा अग्रभागमा रहेर उपचारमा खटिने स्वास्थ्यकर्मीलाई हेल्थ अवार्डबाट सम्मानित गर्ने भएको छ। भाद्र १७ गते काठमाडौंमा विशेष समारोहबीच अवार्ड वितरण गरिने आयोजकले जनाएको छ।
सामुदायिक तथा सरकारी स्वास्थ्य संस्थामा विभिन्न तप्कामा रही जिम्मेवारी निर्वाह गरेका स्वास्थ्यकर्मीहरूलाई ९ विधामा अवार्ड वितरण गर्ने निर्णय भएको पत्रिकाका प्रकाशक अनिल न्यौपानेले जानकारी दिए। ज्यानकै जोखिम उठाएर कोभिड उपचारमा खटिएका डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गर्न लागिएको हो।
'कोभिडजस्तो विश्वव्यापी महामारीको समयमा अग्रभागमा रहेर बिरामीलाई सेवा पुर्याउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ,' न्यौपानेले भने, 'खोपआउनुअघिको कोभिड महामारीको समयमा आफ्नै ज्यानको समेत पर्वाह नगरी मानव जीवन बचाउन योगदान गर्नु भएका समग्र स्वास्थ्यकर्मीहरुप्रति यस वर्षको अवार्ड समर्पित छ।'
न्यौपानेका अनुसार कोभिडको समयमा बिरामीको उपचारमा खटिएका कारण जीवन गुमाएका देशैभरका स्वास्थ्यकर्मीलाई विशिष्ट सेवा सम्मानले सम्मानित गरिने छ। यस्तो सम्मान मृतक स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई हस्तान्तरण गरिनेछ।
अवार्डको लागि नामावली संकलन, छनौट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मिलित निर्णायक समिति गठन गरिएको छ। समितिले अवार्डको नामावली संकलनका लागि आवेदन, मनोनयन र जिल्लाजिल्लाबाट सूचना संकलन कार्य गरिरहेको छ। हालसम्म देशैभरबाट विभिन्न विधाका सरकारी तथा सामुदायिक संस्थामा कार्यरत करिब ५ सय स्वास्थ्यकर्मीहरुको नामावली संकलन भएको छ।
१२ वर्षअघि शुरु भएको 'स्वास्थ्य खबर हेल्थ अवार्ड' यसअघिका दुई वर्ष कोभिड महामारीका कारण स्थगित भएको थियो। स्वास्थ्य क्षेत्रको विशिष्टीकृत पत्रिका स्वास्थ्यखबर मासिक रुपमा प्रकाशन हुँदै आएको छ। पत्रिकाको प्रकाशन १४ वर्षअघि शुरु भएको थियो।