काठमाडौं- कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान् डा सूर्य संग्रौला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिस्ट्रार पदमा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले डा संग्रौलालाई रजिस्ट्रार पदमा नियुक्त गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानको रजिस्ट्रारमा डा संग्रौला नियुक्त भएको जानकारी दिए। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री खापुङले संग्रौलालाई रजिस्ट्रारमा नियुक्त गरेका हुन्। ११ महिनादेखि खाली पदमा डा संग्रौला नियुक्त भएका हुन्। गत भदौ २४ गते डा मोहनचन्द्र रेग्मीले रजिस्ट्रार पदबाट दिएको राजीनामा स्वीकृत भएको थियो।
यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा जगतप्रसाद नियुक्त भएका छन्। यसअघि उनी अस्पतालका सहायक निर्देशक थिए।
उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार संघर्ष समितिका संयोजक डाक्टर एसपी रिमालले रजिस्ट्रार नियुक्तिको विरोध गरेका छन्। आफूहरूले डा संग्रौलालाई स्वागत नगर्ने उनको भनाइ छ।