भक्तपुर- माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बैठक सुरु भएको छ। कक्षा १० को अन्त्यमा लिइने एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि बोर्डको कार्यालयमा बैठक सुरु भएको हो।
बैठक सकिए लगत्तै नतिजा सार्वजनिक गरिने बोर्डका नियन्त्रक अर्जुनबहादुर रायमाझी जानकारी दिएको छ। गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन भएको थियो।
दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालय परीक्षामा सहभागी थिए। २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका छन्।
परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए। नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा एसईई नतिजा वेबसाइटमा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ। त्यस्तै अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।