काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टिकरण लिएका छन्। औषधि उपकरण खरीदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासियासँग स्पष्टिकरण सोधेका हुन्।
स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर डा. चौरासियालाई अनियमितता प्रकरणबारे जवाफ मागेका थिए। सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले औषधि उपकरण खरीद प्रकरणमा मनलाग्दी नगर्न निर्देशन दिए। स्वास्थ्य राज्यमन्त्री केसीले भने, ’यसबारे मन्त्रालयको तर्फबाट सुक्ष्म अध्ययन भइरहेको छ। मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ। दोषी ठहरिए कानुन बमोजिम कारबाही गर्छौ।’
स्वास्थ्य राज्यमन्त्री केसीले १० अर्बको ओषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको लगायतका विषयमा के भएको हो ? वास्तविकता के हो? भनेर जवाफ माग गरेका थिए। आपूर्ति शाखा प्रमुख डा.चौरासियाले भने आफूले गल्ती नगरेको जवाफ दिएका हुन्।
राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखालाई पत्र पठाउँदै डा. चौरसियालाई मंगलबार राज्यमन्त्री केसीसमक्ष उपस्थित भई जवाफ दिन भनेको थियो। १० अर्बको औषधि उपकरणहरु खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, यस्तै ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित प्रतिले राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ।