मंगलबार, असार २४, २०८२

नयाँ भाइरस हैन मंकीपक्स, घातक कति?

भारतलगायत संसारभर मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- भारतलगायत संसारभर मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ। डब्लुएचओका अनुसार अहिलेसम्म ७५ देशका १६ हजार १६ जनामा मंकीपक्सको संक्रमण देखिएको छ भने पाँच जना संक्रमितको मृत्यु भएको छ। सबैभन्दा बढी युरोपमा ११ हजार ८५६ जना संक्रमित भएका छन्।

मंकीपक्स कहाँबाट फैलियो भन्ने तथ्य पत्ता लागिसकेको छैन। गत वर्ष अफ्रिकी देशहरूबाट यो संक्रमण फैलिएको डब्लुएचओले बताएको छ। नाइजेरिया, कंगो, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा यसको संक्रमण देखिएको थियो। अहिले दक्षिण एसियासहितका ७५ वटा देशमा संक्रमण पुष्टि भइसकेको छ। 

डब्लुएचओका अनुसार सबैभन्दा बढी संक्रमित स्पेनमा छन्, जहाँ तीन हजार १२५ जनामा पुष्टि भएको छ। अमेरिकामा दुई हजार ३१६, बेलायतमा दुई हजार १३७, जर्मनीमा दुई हजार २६८, फ्रान्समा एक हजार ४५३, ब्राजिलमा ५९२, क्यानडामा ६१५, नेदरल्यान्डमा ७१२ र पोर्चुगलमा ५८८ जनामा संक्रमण देखिएको छ।

मंकीपक्स छिमेक भारतमा आइसकेकाले नेपाल पनि जोखिममा रहेको विज्ञहरु बताउँछन्। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, हामीले समयमै सतर्कता अपनाउनुपर्छ। उनका अनुसार मंकीपक्सको संक्रमण भए पनि केही समयपछि आफैं निको हुने र ज्यान नै जोखिममा पार्ने सम्भावना कम हुन्छ। 

मंकीपक्सले शरीरका अन्य भागभन्दा मलद्वार र गुप्ताङ्गमा अत्यन्त धेरै फोका बनाउने भएकाले मानिसहरू छिटो परीक्षण गराउन नआउन सक्छन्। त्यसैले पनि सतर्कता अपनाउनु जरुरी छ।

गत असार पहिलो साता साता मंकीपक्सको जस्तै लक्षण भएका एक बिरामीलाई टेकु अस्पतालमा भर्ना गरिएको थियो। तर, ती व्यक्तिलाई मंकीपक्सको संक्रमण भने पुष्टि भएन। 

भारतमा मंकीपक्स बढ्न थालेपछि सीमामा निगरानी बढाउन थालिएको स्वास्थ्य मन्त्रालयले बताएको छ। ल्याबका जनशक्तिलाई पनि ‘अलर्ट राखेको र देशभरका स्वास्थ्यकर्मीलाई शंकास्पद केसबारे गाइडलाइन दिइएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए। सीमा नाकामा शंकास्पद व्यक्ति देखिएमा जाँच गर्ने र समुदायमा शंकास्पद व्यक्ति देखिएमा छाला रोग विशेषज्ञकहाँ पठाउन निर्देशन दिइएको उनको भनाइ छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिलेसम्म नेपालमा मंकीपक्सको संक्रमण पुष्टि भएको छैन। मंकीपक्सको शंका गरेर परीक्षण गरिएका नमुनामा चिकेनपक्स देखिएको छ। डब्लूएचओले मंकीपक्स परीक्षण गर्ने रिएजेन्ट नेपाललाई पनि पठाइदिएको छ। अब शंकास्पद बिरामीको नेपालमै परीक्षण हुने प्रयोगशालाले जनाएको छ।

के हो मंकीपक्स?

चिकित्सकहरूका अनुसार मंकीपक्स भाइरस जनावरबाट मानिसमा सर्छ। विशेषगरी बाँदर तथा मुसाका प्रजातिबाट।

यो भाइरस मानिसबाट मानिसमा पनि सर्छ। मंकीपक्स संक्रमण भएको व्यक्तिको नजिक जाँदा यो रोग सर्ने चिकित्सकहरू बताउँछन्।

मंकीपक्स नयाँ भाइरस होइन। सन् १९५८ मा पहिलो पटक यो भाइरस बाँदरमा देखिएको थियो। त्यसैले यसको नाम मंकीपक्स राखिएको हो। मानिसमा भने सन् १९७० मा मात्र देखिएको थियो।

कसरी सर्छ?

मंकीपक्स संक्रमितको नजिक रहेका व्यक्तिमा यो रोग सर्न सक्छ। संक्रमितसँग यौन सम्बन्ध राख्दा, चुम्बन गर्दा, अँगालो हाल्दा पनि सर्न सक्छ। संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले पनि आवश्यक सावधानी अपनाउनुपर्छ।

भर्खर जन्मेका शिशु, बालबालिका तथा रोगसँग लड्ने क्षमता कम भएका व्यक्ति, गर्भवती महिलालाई पनि संक्रमणको जोखिम बढी हुन्छ। 

कस्ता लक्षण देखिन्छन्?

मंकीपक्स संक्रमण भएका व्यक्तिमा कसैलाई सामान्य लक्षण देखिन्छ भने कसैलाई गम्भीर खालका लक्षण पनि देखिन्छन्, जसलाई उपचारको आवश्यकता पर्छ।


सामान्य लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, कम्मर दुख्ने, लिम्फ नोड सुन्निने हुन्छ। लगत्तै शरीरमा खटिरा जस्ता फोका आउन थाल्छन्, जुन दुईदेखि तीन हप्तासम्म रहन्छन्। यस्ता फोकाहरू मुख, हात, खुट्टा, आँखा, ओठ, घाँटी तथा गुप्ताङ्गमा आउने गर्छन्।


फोकाहरू फुट्नुअघि फुल्ने, पानी जम्ने र विस्तारै सुक्दै जान्छन्। यी लक्षण दुईदेखि तीन हप्तासम्म देखिन्छ। फोकाहरू नफुटे वा नसुकेसम्म अरूलाई सार्न सक्ने सम्भावना रहन्छ। कतिपयमा भने गम्भीर लक्षण देखिन सक्छ। जस्तो निमोनिया, आँखामा समस्या।


कसरी हुन्छ उपचार?


संक्रमित व्यक्तिले चिकित्सकको सल्लाह लिन जरुरी छ। दुखाइ र ज्वरो ज्यादा भए चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न सकिन्छ। चिकित्सकहरुका अनुसार मंकीपक्सबाट संक्रमित भएका व्यक्तिले पानीको सेवन गरिरहनुपर्छ। झोलिलो पदार्थ पर्याप्त खानुपर्छ र पर्याप्त सुत्नुपर्छ। व्यायाम पनि गर्न सकिन्छ।


मंकीपक्स भएका व्यक्तिले खटिरा आएको ठाउँमा सकेसम्म कन्याउनु हुँदैन। छाला छुनुअघि हात राम्ररी सफा गर्ने, छालालाई सुक्खा राख्ने तथा खुला राख्नुपर्छ। फोका आएको ठाउँमा सफा तथा उमालेको पानीले सफा गर्ने, अनुहार नुनपानीले सफा गर्ने तथा तातोपानीमा बेकिङ सोडा राखेर नुहाउन सकिन्छ।


मंकीपक्सको खोप छ?


मंकीपक्स लाग्न नदिने खोप छ। धेरै वर्षअघि मानिसलाई ‘स्मलपक्स’ संक्रमण हुँदा खोपको अनुसन्धान गरी उत्पादन गरिएको थियो। सोही खोप हालको मंकीपक्स संक्रमण रोकथामका लागि पनि प्रयोग गर्न मिल्ने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ।


कतिपय देशले उच्च जोखिममा रहेका व्यक्तिलाई खोप लगाउन सुझाव दिएका छन्। संक्रमितको नजिक रहेकालाई मात्र खोप लगाउन सुझाइएको छ, सबैलाई खोप लिन आवश्यक छैन।

प्रकाशित: Jul 25, 2022| 08:50 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्