काठमाडौं– शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्यांकनका आधारमा गरिने शिक्षक पदको बढुवासम्बन्धी कार्यविधि, २०७९ सार्वजनिक गरेको छ। आयोगले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादनको मूल्यांकनका आधारमा हुने बढुवासम्बन्धी कार्यलाई नियमित, वस्तुगत र व्यवस्थित गर्ने उद्देश्यले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ५३ को अधिकार प्रयोग गरी कार्यविधि तयार गरेको बताएको हो।
कार्यविधिमा शैक्षिक उपाधि, तालिम अंक, सेवा अवधिको अंक गणना, कार्य सम्पादनबापतको अंक गणनालगायतका आधारमा मूल्यांकन गरिने उल्लेख छ। कार्यविधिले शिक्षक बढुवाको सिफारिस गर्ने र प्रमाणित गर्ने अधिकारी स्थानीय तहअनुसार तोकेको छ। शिक्षक बढुवाको सिफारिस प्रधानाध्यापकले गर्ने र शिक्षा अधिकृतले प्रमाणित गर्ने व्यवस्था छ।
यस्तै, प्रधानाध्यापक वा सरह वा उपल्लो तह र श्रेणीको शिक्षकको सिफारिस शिक्षा अधिकृतले गर्ने र शिक्षा प्रमुखले प्रमाणित गर्ने व्यवस्था छ। कार्यविधिमा कार्यसम्पादन मूल्यांकन गर्ने सुपरीवेक्षक र पुनरावलोकन समिति रहने व्यवस्था छ।
प्रधानाध्यापक वा सोसरह वा माथिल्लो तह र श्रेणीको शिक्षकको सुपरीवेक्षकमा स्थानीय तहको शिक्षा हेर्ने प्रमुख र पुनरावलोकन समितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय तहको शिक्षा हेर्ने प्रमुख र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रहने व्यवस्था गरिएको छ।