काठमाडौं- राष्ट्रपति विद्या भण्डारीले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को प्रशंसा गरेकी छन्। आइतबार काठमाडौंमा आयोजित संस्थानको स्वर्ण जयन्ति समारोहमा बोल्दै उनले संस्थाको प्रशंसा गरेकी हुन्। स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति निर्माणमा निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनको विश्वास छ।
कार्यक्रममा बोल्दै उनले मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई जनताको आकांक्षा अनुसार व्यवस्था गर्न स्वदेशमा मेडिकल शिक्षाको प्रवर्द्धन गर्न अत्यावश्यक रहेको पनि बताइन्। जनतालाई पायकपर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने उनको धारणा छ।
उपचारका लागि ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई सहज हुने स्थानमा स्वास्थ्य सेवाको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै पक्ष लाग्नुपर्ने उल्लेख गरिन्।
‘स्वास्थ्य शिक्षा तथा सेवाको क्षेत्रमा राज्यको एक अग्रणी संस्थाको रुपमा यस संस्थानले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति विकासका लागि निरन्तर नेतृत्वदायी भूमिका निभाउने मैले अपेक्षा गरेको छु। विशिष्टिकृत स्वास्थ्य सेवाका लागि संस्थानको प्रयास, तयारी र योजनाको म प्रशंशा गर्न चाहन्छु,' उनले भनिन्, 'यसमा सबैको सहयोग अपेक्षित छ। मुलुकमा मेडिकल शिक्षाको विस्तारको बारेमा चर्चा गर्दा हामीले सबै प्रदेश, भूगोल र क्षेत्रमा शिक्षा र सेवाको अवसरलाई विकेन्द्रिकृत गर्नु अति आवश्यक छ। रोगहरुको उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई पायक पर्ने स्थानमै आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज बनाउन हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ।’