नयाँ दिल्ली- भारतमा पहिलो पटक मंकीिक्स संक्रमित फेला परेका छन्। यूएईबाट फर्किएका दक्षिण भारतीय राज्य केरलाका ३५ वर्षीय एक युवकमा मंकिपक्सको संक्रमण देखिएको राज्यका स्वास्थ्यमन्त्री भिना जर्जले बताएका छन्।
स्वास्थ्यमन्त्री जर्जनका अनुसार संक्रमण नियन्त्रणका लागि सबै प्रयासहरु गरिएको र बिरामीको अवस्था सामान्य रहेको छ। केरलाको थिरुभाननथापुरम अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएलगत्तै उनको चेकजाँच गरेपछि अस्पताल भर्ना गरिएको थियो। उनको सम्पर्कमा रहेका अन्य ११ जना रहेको उनीहरुको पनि परीक्षण भइरहेको बताइएको छ।
गत साता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकिपक्स प्रकोपका लागि विश्वव्यापी आपतकाल घोषणा गर्ने अवस्था नरहेको बताएको थियो। संगठनले आगामी साता दोस्रो आपतकालीन बैठक बोलाएको छ। हालसम्म विश्वभरका ६० देशहरुमा ९ हजार २०० भन्दा बढी मंकिपक्स संक्रमित फेला परेका छन्।
यसअघि नेपालमा एक जनालाई मंकीपक्सको आशंका गरिएको थियो। दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मंकीपक्सको आशंका गरिएको छ। अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो।