आइतबार, असार ८, २०८२

बेवारिसे समाजवाद : न कांग्रेससँग न त कम्युनिस्टसँग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

समाजवाद के हो ? संसारभर नै समाजवादका विषयमा अनेक बहस छन्। हुन सक्छ, यसमाथि लाखौं पुस्तक, लेख र निबन्धहरू लेखिएका होलान्। समाजवादी अर्थ-राजनीतिमाथि हजारौं अनुसन्धान भएका हुन सक्छन्। समाजवाद स्थापनाका लागि संसारभर अनेक आन्दोलन भएका थिए र भइरहेका छन्। शायद लाखौं मान्छेहरूले समाजवादका लागि जीवन बलिदान दिएका छन्। अहिले पनि सयौं राजनीतिक दल, हजारौं जनसंगठनहरू समाजवाद निर्माणको राजनीतिक अभियानमा संलग्न छन्। यस्तो के छ समाजवादमा कि यसैको सपनामा अनेक सत्ताहरू बन्ने र ढल्ने गरिरहेका छन् ?

नेपालमै पनि हजारौं-हजार मान्छेहरू समाजवादका लागि मारिएका छन्। २००४ सालबाट रोपिएको समाजवादको बीउले आज हाम्रो समाजलाई सर्वत्र प्रभावित गरेको छ। तर, राजनीतिमा परिचर्चा हुने समाजवाद कस्तो हुन्छ ? सपनाको समाजवाद विपनामा कसरी प्रस्तुत हुन्छ ? के साँच्चै समाजवाद सम्भव छ ? कि यो कुनै दन्त्यकथाको रोमाञ्चक परिकल्पना हो ? आजको समाजवाद कस्तो हुनुपर्छ ? आज यस्तै विषयमा केही छलफल गरौं।

नेपालमा ‘समाजवाद’को स्वाद, रंग, रूप र सौन्दर्यमाथि अनेकौं विमर्शहरू छन्। यस्तो हुनु स्वाभाविक छ। किनभने, हामीसँग समाजवादको सपना छ। यस्तो सपना जसलाई दलहरूले निरन्तर गोडमेल गरे। गरिबीमा बाँच्नेहरूलाई सपना देखाउनु निकै लोकप्रिय काम हो। त्यही लोकप्रियताको मोहमा नेपालमा खाल-खालका समाजवादी पार्टीहरू छन्, जसले समाजवादको मायावी संसार निर्माण गरेका छन्।

त्यसो त, नेपालको संविधान ०७२ मै ‘समाजवाद’ उल्लेखित छ। यस्तो लाग्छ, नेपालमा ‘समाजवाद’ केही रहस्य, केही भ्रम र केही बौद्धिक विमर्शको वस्तु हो। यद्यपि, पछिल्लो समय सबैभन्दा घनघोर समाजवादी नेपाल कम्युनिस्ट पार्टी समाजवादभन्दा धेरै समृद्धिको कुरा गर्छ। तर, उसका दस्तावेजहरूमा समाजवाद छ र त्यसलाई खासबेलामा ऊ खोल्ने र खासबेलामा लुकाउने गरी नै रहन्छ। यसरी हेर्दा समाजवादको तिलस्मी संसार र यसको रंग-रूपको कुरा गर्नु हाम्रा लागि मजाको ‘बात’ हो।

 

 नेपालमा र विश्वभर नै लोकतान्त्रिक समाजवादले कुनै आकार लिएन। कतै यो पुँजीवादी समाजवाद बन्यो, कतै यो बुर्जुवा लोकतन्त्रमा सीमित भयो।



समाजवादको स्वाद

समाजवादको स्वाद कस्तो हुन्छ ? गुलियो, तीतो कि टर्रो ? समाजवादको बहसलाई चार कालखण्डमा हेर्न सकिन्छ। पहिलो खण्डमा छ, कल्पनाको समाजवाद। रोबोर्ट ओवेनले युटोपियन समाजवादको कल्पना गरे। उनी प्रेम, समानता र भातृत्वले भरिएको रामराज्य बनाउन चाहन्थे। यस्तो राज्य जसमा स्वर्गको स्वाद मिलोस्। तर, द्वन्द्वात्मक भौतिकवादीहरूले यस्तो आदर्शलाई महत्व दिएनन्। उनीहरूले भने, ‘समाज विकास एक निर्मम प्रकृया हो। यो द्वन्द्वपूर्ण हुन्छ। आदर्शले समाजवाद बन्दैन। समाजवाद बनाउने हो भने कठिन संघर्ष आवश्यक हुन्छ।’

यो चिन्तनधारामा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओहरूको योगदान रह्यो। यसै मेसोमा सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणपत्र लेखियो। यसरी समाजवादको दोस्रो बहस शुरु भयो। माक्र्सवादी समाजवाद, जसको मुख्य चरित्र थियो सर्वहारा संघर्ष, सर्वहारा सत्ता, उत्पादनको सामूहिकीकरण र समाजवाद निर्माण। कम्युनिस्ट पार्टीको घोषणापत्रले वर्गसंघर्षको लहर ल्यायो। नेपालमा पुष्पलाल, मदन भण्डारी हुँदै केपी ओली र प्रचण्डसम्मले यसै गरे।

रोबोर्ट ओवेनदेखि आजसम्म निल नदीमा धेरै पानी बगिसक्यो। भोल्गा नदीमा अनेकौं चिसा तरंगहरू उठे। माक्र्ससँग उमेर मिलाउँदा यो बहसले झण्डै दुई सय वर्ष छिचोल्यो। वागमती किनारमा समाजवादको सपना हुर्काएको पनि ७० वर्ष नाघ्यो। यद्यपि, न त संसारमै भनेजस्तो समाजवाद बन्यो, न त नेपालमा।

दोस्रो चरणको समाजवादमा जब अनेकौं विरोधाभाष देखिए, तब यसको विकल्प खोजियो। जसका लागि ‘लोकतान्त्रिक समाजवादको’ प्रस्ताव भयो। यो तेस्रो खाले समाजवादको सपना हो। नेपालमा कांग्रेस आफूलाई लोकतान्त्रिक समाजवादी पार्टी मान्छ। तर, तीव्र निजीकरण र बजारलाई प्रत्साहन गर्ने कांग्रेसको लोकतान्त्रिक समाजवादले बीपी स्वयंको चिन्तनधारालाई निरन्तर नांगेझार बनाउँदै लग्यो। नेपालमा र विश्वभर नै लोकतान्त्रिक समाजवादले कुनै आकार लिएन। कतै यो पुँजीवादी समाजवाद बन्यो, कतै यो बुर्जुवा लोकतन्त्रमा सीमित भयो।

यसरी विश्व राजनीतिमा ‘समाजवाद’का अनेकौं अर्थ, प्रवृत्ति र धारहरू देखापरे। चीनमा भन्ने गरिएको समाजवाद र नेपालका माओवादीहरूको समाजवाद एउटै रहेन। नेपालमै कांग्रेसको समाजवाद र कम्युनिस्टहरूको समाजवाद उस्तै होइन। युरोपेलीहरूको समाजवाद र क्यारेबियनहरूको समाजवाद अलग हो। जब समाजवादको अर्थ, प्रवृत्ति र प्रयोगमा एकरूपता हुँदैन, त्यसले ‘डिबेट’ त ल्याउँछ तर ‘एक्सन’ ल्याउँदैन। यसर्थ नै हाम्रो समाजवाद कोरा सपना मात्र बन्दै गयो।



समाजवादको धार र प्रवृत्ति

नेपालमा समाजवादका तीनखाले धार छन्। पहिलो, रातो रंगको माक्र्सवादी समाजवादी धार। दोस्रो, खैरो रंगको प्रजातान्त्रिक समाजवादी धार। तेस्रो, सप्तरंगी वैकल्पिक समाजवादी धार। माक्र्सवादी समाजवाद मुलतः कम्युनिस्टहरूको धार हो। नेपालमा माओवादीदेखि एमालेसम्म यो धारमा छन्।

विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको उदयसँगै माक्र्सवादी समाजवादी धारको जबरजस्त प्रभाव बढ्यो। यसले झण्डै शताब्दी राज गर्‍यो। तर, सन् १९९० को दशकपछि यो धार ओरालो लाग्यो। त्यसो हुनुका केही कारण छन्। माक्र्सवादी समाजवादीहरू सोभियत विश्वविद्यालयका नकारात्मक शिक्षालाई छोड्न तयार भएनन्। उनीहरू माक्र्स र लेनिनको देवत्वकरण गर्न चाहन्छन्।

यो धारले आर्थिक क्षेत्रमा नाफालाई सधैं पूर्वाग्रहबाट हेर्छ। निजी सम्पत्तिको विरोध गर्छ। राजनीतिक क्षेत्रमा यो अधिनायकवादी चिन्तनमा रमाउँछ। सामाजिक क्षेत्रमा यसले व्यक्तिको सर्वोच्चता र स्वतन्त्रतालाई कुण्ठित गर्छ। संगठनात्मक क्षेत्रमा यो केन्द्रीयतामुखी छ। प्रश्न आउँछन्, के सर्वहारा अधिनायकत्व, निजी सम्पत्तिको अन्त्य र सम्पूर्ण रूपमा व्यक्तिमाथि सामाजिक नियन्त्रण सम्भव छ ? के यसरी समाजवाद बन्छ ? यी र यस्ता थुप्रै प्रश्नले यो धारको समाजवादलाई सन्दर्भहीन बनाउँछन्।

तर, प्रजातान्त्रिक समाजवादी धारले पनि माथिका प्रश्नहरूको समाधान दिँदैन। बीपी कोइराला भन्छन्, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ। समाजवादबाट लोकतन्त्र हटाइदियो भने त्यो साम्यवाद हुन्छ।’ यद्यपि, बीपीले भनेको ‘समाजवाद’ र ‘प्रजातन्त्र’ दुवैलाई आज उनकै पार्टीले विरूप बनाएको छ। कांग्रेसको प्रजातन्त्र वा लोकतन्त्र ‘भोट पाउने’ खेल हो। उसका लागि समाजवाद ‘भोट माग्ने’ झेल हो। 

अतः माथिका तथ्यहरूले भन्छन्, नेपालमा समाजवादका यी दुवै धार असफल छन्। यिनीहरूमा कुनै ताजापन र आकर्षण छैन। नेपालका कांग्रेस र कम्युनिस्टले भन्ने गरेको समाजवाद वायुपंखी घोडा चढेर आउने वाला छैन। सोही कारण नेपालमा समाजवादको ‘अर्को मोडेल’को खोजी आवश्यक छ।

समाजवादको अर्को मोडेल हुनसक्छ, ‘वैकल्पिक समाजवाद’। यसलाई कसैले वाम लोकतान्त्रिक समाजवाद भन्न सक्छन्। कसैले कल्याणकारी लोकतन्त्रको नामबाट वैकल्पिक समाजवादलाई अभिव्यक्त गर्लान्। नेपालमा वैकल्पिक राजनीतिको कुरा गर्नेहरू यो धारमा देखिँदैछन्। यो धारले माक्र्सवादी सिद्धान्तको बोझबाट समाजवादलाई मुक्त गर्न चाहन्छ। 

यो धार माक्र्सवादी समाजवाद र बुर्जुवा प्रजातन्त्र दुवैको विपक्षमा छ। यो लोकतान्त्रिक समाजवादको पक्षमा पनि देखिँदैन। किनभने, यसले वामपन्थी रुझान राख्छ। यो धार लेनिन र स्टालिनका ‘मोडेल’सँग आलोचक छ।

नेपालमा यो धारले माक्र्सवादी समाजवादका पुराना कमजोरीहरूको स्वतन्त्र समीक्षा गरिरहेको छ। सहभागितामुलक लोकतन्त्र र कल्याणकारी राज्य यो धारको प्रस्ताव हो। निष्कर्ष बन्छ कि कांग्रेसको खैरो र उदास समाजवाद। कम्युनिस्टहरूको रातो र उदण्ड समाजवाद। यी दुवैको विकल्पमा समाजवादको वैकल्पिक धार सप्तरंगी, लोककल्याणकारी समाजवादी धार हो।
 

नेपालमा समाजवादका दुवै धार असफल छन्। कांग्रेस र कम्युनिस्टले भन्ने गरेको समाजवाद वायुपंखी घोडा चढेर आउनेवाला छैन। सोही कारण नेपालमा समाजवादको ‘अर्को मोडेल’को खोजी आवश्यक छ।


लोककल्याणकारी राज्य

के हो लोकल्याणकारी अवधारणा ? यो प्रश्नमा हामीले धेरै छलफल गरेका छैनौं। लोककल्याणकारी अवधारणा मुलतः समाजवादी अवधारणा नै हो। तर, समाजवादको कुरा गर्दा यसका अनेक रंग-रूपहरूले अलमल ल्याउने हुँदा पछिल्लो पुस्ताका समाजवादीहरूले लोककल्याणकारी राज्य भन्ने गरेका छन्। 

लोककल्याण मुलतः उदार, जनमुखी, समतामुलक र न्यायपूर्ण राज्य बनाउने अवधारणा हो, जसलाई विभिन्न स्केन्डिनेभियन मुलुकहरूले सफलतापूर्वक अभ्यास गरिरहेका छन्।

माक्र्सवादी समाजवादीहरूले वर्गहरू बीचको अन्तरविरोधलाई संघर्षको प्रधानपक्ष बनाए। उनीहरूले समाजका अन्य अन्तरविरोधहरू देखेनन्। जातको अन्तरविरोध, भाषाको, रंगको, भूगोलको अन्तरविरोध। माक्र्सवादी समाजवादीहरूले समाजको कुरा त गरे तर मान्छेको निजत्व र मनोविज्ञानलाई देखेनन्। मान्छेको मन, सोच, आवेग, संवेगहरूलाई माक्र्सवादीहरूले बुझेनन्।

माक्र्सवादले भन्छ, ‘प्रकृति र समाजको परिवर्तन  मात्रात्मकबाट गुणात्मक हुन्छ।’ तर, माक्र्सवादले मनको कुरा गरेन। मन सूत्रमा बाँधिदैन। मन त फड्को मार्छ। मन त उडान भर्छ। मन तरल हुन्छ। यो अनेक बाटोमा बग्छ। यस्तो विचित्रको मनलाई समाजको सीमित दायरा र सूत्रबाट कसरी नियन्त्रण गर्न सकिन्छ ? 

मान्छेको मनलाई न त प्रहरीले नियन्त्रण गर्न सक्छ, न त राज्यले। त्यो सोच, यो नसोच, यो खाऊ, त्यो नखाऊ। यो काम गर, त्यो नगर। योसँग दोस्ती गर त्योसँग नगर। यहींनेर लेनिनको समाजवाद ढल्यो, चीनमा बनेन र उत्तरकोरियामा तमासा गर्दैछ। समाजवादको चौथो धारले भन्छ, ‘यस्तो समाजवादको नेपालमा काम छैन।’ हामीसँग लोकतन्त्र छ र यसलाई प्रबद्र्धन गर्नेबाहेक अर्को चरित्रको समाजवाद नेपालमा सम्भव छैन।

परम्परागत समाजवादीहरू निजी सम्पत्तिको विरोध गर्छन्। उनीहरू उत्पादन प्रकृयामा श्रमलाई महत्व दिन्छन् तर पुँजीलाई दुत्कार्छन्। मान्छे र निजी सम्पत्तिको सम्बन्धलाई समाज विकासको चालक नदेख्नु उनीहरूको कमजोरी हो। यदि निजी सम्पत्ति नहुँदो हो त मान्छेको जाँगर, लालसा र तृष्णाको के हाल हुन्थ्यो ? त्यो नहुँदो हो त समाज कहाँ हुन्थ्यो ? निश्चय नै निजी सम्पत्तिलाई निषेध गर्दा सपनाहरूको बन्ध्याकरण हुनजान्छ। आज न त राज्यले अर्थतन्त्रमाथि पूरा नियन्त्रण गर्न सम्भव छ, न त निजी सम्पत्तिको सामूहिकीकरण। सम्पत्ति श्रमसिद्ध हो कि शोषणबाट आर्जित हो ? विरोध गर्नुपर्ने कुरा सम्पत्ति होइन, स्रोत हो।

लेनिन, रोजा र एडवार्ड बर्नस्टाइनबीच समाजवादमाथि निकै गतिलो बहस थियो। यो सन् १८९७ आसपासको कुरा हो। बर्नस्टाइन मान्थे, पुँजीवाद जड रहने छैन। यसमा यथेष्ट ‘अनुकुलन’ क्षमता विकास हुनेछ। जति-जति पुँजीवादी संकटहरू आउँछन्, त्यति नै पुँजीवादले आफ्नो अनुकुलन क्षमता विकास गर्नेछ। यसर्थ, पुँजीवादको विघटन होइन, बरु पुँजीवादभित्रैबाट समाजवाद निर्माण गर्नुपर्छ।

बर्नस्टाइन सामाजिक सुधार, मजदूरहरूको सुविधामा वृद्धि, राज्यको न्यायपूर्ण रूपान्तरण, राज्यमाथि सामाजिक नियन्त्रण, मुआब्जा र क्षतिपूर्ति, लोकतन्त्र निर्माण र संसदीय संघर्षजस्ता कुराहरूको पक्षमा थिए। उनी समाजवादीहरूले यस्ता काम समाजवाद प्राप्त गर्नकै लागि गर्नुपर्ने मान्थे। लेनिन भने पुँजीवादको ध्वंस चाहन्थे। यसका लागि सर्वहारा राज्य र राज्य नियन्त्रित अर्थव्यवस्था चाहन्थे। यहीं गडबड भयो र लेनिनको समाजवाद नियन्त्रणमुखी बन्यो।

नेपालमा पनि कम्युनिस्टहरूले आफूलाई लेनिनवादी मान्छन्। सबैभन्दा ठूलो दलले आफ्नो वैचारिक प्राधिकार लेनिनलाई स्वीकार गरेको छ। यसको के अर्थ हुन्छ ? समाजवादी पनि हुनु र मुलतः लेनिनवादी हुनुको अर्थ-राजनीतिक महत्व के छ ? हामीसँग समाजवादीहरू त छन् तर लेनिनवादीहरू छन्। अथवा माक्र्सवादीहरू छन्। उनीहरूलाई लाग्दो हो, समाजवादी हुनु पक्का लेनिनवादी हुनु हो। तर, यहींनेरबाट कमजोरीहरू प्रकट हुन थाल्छन्। किनभने, समाजवादी हुनु लेनिनवादी हुनु होइन, बरु समाजवादी नै हुनु हो। अथवा समाजवादी हुनु सर्वहारावादी हुनु होइन। समाजवादी हुनु मुलतः मानवतावादी हुनु हो। यसर्थ नै पछिल्लो समाजवादले सर्वाहारीवाद होइन, सामाजिक न्याय र मानव सर्वोच्चताको ग्यारेन्टी खाजेको हो। अतः २१औं शताब्दीको समाजवाद भनेको लेनिनवाद होइन। यो लोककल्याण हो।

कस्तो हुन्छ लोककल्याणकारी समाजवाद ? पुराना समाजवादी मोडेलभन्दा के फरक छ यसमा ? पहिलो फरक आर्थिक न्याय नै हो। दोस्रो, लोककल्याण र राज्यको दायित्व हो। धनी बन्न कसैलाई रोक्नु हुँदैन। न त धनीलाई गाली गर्न नै आवश्यक छ। तर, धन आर्जनको तरिकालाई राज्यले अनुगमन गर्नुपर्छ। मान्छे सुखी, समृद्ध बन्न चाहन्छ। ऊसँग महत्वाकांक्षाहरू हुन्छन्। यिनीहरूलाई कुण्ठित गर्ने समाजवाद कसरी चल्छ ? तर, धन कमाउन जे पनि गर्न सकिने पुँजीवादी लोकतन्त्रलाई पनि मान्न सकिँदैन।

यसर्थ आधुनिक र लोककल्याणकारी राज्यले धनको जनमुखी नियमन र व्यवस्थापन गर्नुपर्छ। मानिसलाई कसैगरी बराबरी बनाउन सकिँदैन। यस्तो सपनामा पनि हुँदैन। किनभने, चेतना, प्रवृत्ति, गुण, विवेकहरूलाई बराबर गर्न सकिँदैन। यसर्थ, समाजवाद मान्छेलाई बराबर गर्ने सिद्धान्तबाट होइन, मान्छेहरूको फरकलाई सन्तुलित र व्यवस्थित गर्ने सिद्धान्तबाट निर्माण गर्न आवश्यक छ। राज्यले मान्छेलाई समान होइन, उत्कृष्ट बनाउनुपर्छ। यो नै पछिल्लो र जनकल्याणकारी राज्यको मुख्य चरित्र हो।

आजको समाजवाद पुरानो समाजवाद होइन। अतः यो कसैगरी वर्गीय कुरा हुँदैन। न त यो जातीय हुन्छ, न त यसले कुनै खास रंग र गोत्रको वकालत गर्छ। निश्चय नै यो कल्याणकारी हुन्छ। यो निश्चय नै राज्यको छत्रछाया र निर्देशनमा नभई जनताको मौलिक पहलमा बन्छ। तसर्थ, भन्न सकिन्छ कि व्यक्तिको स्वतन्त्रता र सामाजिक दायित्वलाई सन्तुलित गर्ने व्यवस्था नै आजको कल्याणकारी व्यवस्था हो।

यस्तो व्यवस्था राज्यको नियन्त्रणबाट नभई राज्यको उत्प्रेरणाबाट बन्छ, जसमा जनताको प्रत्यक्ष संलग्नता रहन्छ। आजको यस्तो राज्य आजकै मान्छेहरूले बनाउनुपर्छ। तर, यस्ता मान्छेहरूले मात्र आजको समाजवाद बनाउन सक्नेछन्, जोसँग उड्नका लागि स्वतन्त्र आकाश, मान्छेलाई माया गर्ने विशाल छाति हुन्छ। मुख्य कुरा समाजवादले जनतालाई सिद्धान्तको हतकडी लगाउन हुँदैन। बरु यसले जनतालाई स्वतन्त्रताको खुला आकाश दिनुपर्छ। यस्तो आकाश जहाँबाट हेर्दा संसारको सबैभन्दा सुन्दरतम सभ्यताको दर्शन पाइयोस्। अन्यथा बुझौं लोककल्याणका आधारभूत सिद्धान्तबाट पछाडि सरेको राज्यले बनाउने समाजवाद फगत भ्रम मात्र हुन्छ।

लेखकसँग सम्पर्क : इमेल- [email protected]
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...